काठमाडौं । साउदी अरबका र मलेसियाका लागि प्रस्तावित राजदूतको नाम संसदीय समितिले अस्वीकृत गरेको छ । साउदीका लागि गिरिबहादुर सुनार र मलेसियाका लागि चुडामणि खरेलको नाम संघीय संसदको संयुक्त समिति संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेको हो ।
सांसदहरुले साउदी अरबका लागि प्रस्तावित राजदूत सुनारमाथि महिला हिंसासहितका गम्भीर आरोप लागेको भन्दै सुनुवाइको क्रममा नाम फिर्ता लिन आग्रह गरेका थिए । संसदीय सुनुवाइ समितिबाट साउदी अरेबियाका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारमाथि विभिन्न गम्भीर आरोपहरू उठाइएको थियो ।
घरेलु हिंसा तथा व्यक्तिगत विवाद: एक महिलासँगको सम्बन्ध र विवादलाई लिएर घरेलु हिंसा गरेको, ललितपुर प्रहरी कार्यालयमा उजुरी परेको र दुई पक्षबीच मेलमिलाप भएको तथा त्यसपछि पनि मानसिक यातना दिएको दाबीसहितको उजुरी।
ठगी तथा आर्थिक अनियमितताका आरोप: दलित अभियन्ताका नाममा विभिन्न संघसंस्थाबाट करोडौँ रकम असुलेको। नेपाल प्रहरीका डीआईजीलाई एआईजी बनाइदिने भन्दै र अन्य व्यक्तिलाई सांसद बनाउने प्रलोभन देखाएर आर्थिक लेनदेन तथा ठगी गरेको।
जर्मनीबाट डिपोर्ट भएको विषय: विगतमा जर्मनी भ्रमणका क्रममा त्यहाँको सरकारले नियन्त्रणमा लिई हत्कडी लगाएर नेपाल डिपोर्ट (देश निकाला) गरेको भन्ने गम्भीर प्रश्न। राजनीतिक आबद्धता: कूटनीतिक मर्यादाविपरीत ‘हाम्रो नेपाल पार्टी’ नामक राजनीतिक दलको केन्द्रीय सदस्यका रूपमा आबद्ध रहेको जस्ता आरोप लागेको थियो ।
संसदीय सुनुवाइ समितिमा मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलमाथि रास्वपा सांसद राजीव खत्री लगायतबाट विभिन्न गम्भीर आरोपहरू उठाइएका थिए। उनीमाथि लागेका प्रमुख आरोपहरू यस्ता रहेका छन । आर्थिक लेनदेन र ठगीको आरोप: विभिन्न अनुदान तथा काम मिलाइदिने भन्दै मानिसहरूसँग लाखौँ रुपैयाँ आर्थिक लेनदेन तथा ठगी गरेको।
जग्गा कारोबारमा अनियमितता: सार्वजनिक तथा तराई–मधेसका विभिन्न जग्गाको कारोबारमा चलखेल गरी करोडौँ रकम असुल गरेको र यसमा संलग्नता देखिएको।
म्यानपावर व्यवसायीसँगको अनुचित सम्बन्ध (स्वार्थको द्वन्द्व): वैदेशिक रोजगारीसँग प्रत्यक्ष जोडिने मलेसियाको राजदूत बन्न लागेका खरेलको म्यानपावर व्यवसायीहरूसँग हिमचिम र अनुचित साँठगाँठ रहेको। बेरुजु र अन्य विवाद: विभिन्न संघसंस्थामा काम गर्दा उनको नाममा लाखौँ रुपैयाँ बेरुजु रहेको।