८ बैशाख २०८१, शनिबार
Follow Us

राप्रपाको सानो बैशाखी टेकेर कांग्रेस हिडेको छ : राजेन्द्र लिङ्देन, महामन्त्री राप्रपा

नेपालब्रिटेन डट कम्
१ मंसिर २०७४, शुक्रबार ०७:२८

काठमाडौं । झापा–३ बाट नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्ण सिटौलासँग चुनावी प्रतिस्पर्धा गरिरहेका राजेन्द्र लिङ्देन राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री हुन् । वाम गठबन्धनको सहयोगमा कांग्रेस नेता सिटौलालाई लिङदेनले चुनौति दिइरहेका छन् । झापा–३ मा सिटौलालाई चुनौति राप्रपा एक्लैले दिनसक्थ्यो, यद्यपि वाम गठबन्धनको सहयोग भएकाले ठूलो मतअन्तरले आफूसँग सिटौला पराजित हुने लिङदेनको विश्लेषण छ । सहकर्मी हेमन्तप्रकाश ओलीले झापा–३ को चुनावी अवस्थाबारे लिङ्देनसँग गरेको कुारकानी–

० प्रचारप्रसार कसरी अगाडि बढाउनुभएको छ ?

– जनताको घरदैलोमा जाने, भेटघाट गर्ने काम भइरहेको छ ।

० जित्नुहुन्छ ?
– मेरो उम्मेदवारी कसैका विरुद्ध होइन, मेरो उम्मेदवारी भनेको झापा–३ क्षेत्रका जनताको समृद्धि र विकासको पक्षमा मेरो उम्मेदवारी हो । मलाई चुनाव जित्न कुनै समस्या छैन, मतान्तर कति बढाउने भन्ने कुरा मात्र हो । राष्ट्रिय प्रजातन्त्र पार्टी स्वयममा यो क्षेत्रमा एउटा बलियो पार्टी हो । यस क्षेत्रबाट हामी चुनाव जित्ने तयारी गरिरहेका थियौं । अहिले हामीलाई वामपन्थी गठबन्धनको समेत सहयोग र समर्थन छ । यो तीनवटा पार्टीको मत स्थानीय तहको निर्वाचनमा २५ हजार बढीको मतान्तर छ । कांग्रेसबाहेक हामीले अन्य साना पार्टीबाट समर्थन प्राप्त गरिरहेका छौं ।

० मतान्तर धेरै देखाउनुभो, कम्युनिष्टहरुले तपाईंलाई भोट हाल्छन् ?
– राजनीति भनेको छलछाम र बेइमानी होइन । वाम गठबन्धनबाट धोका हुँदैन भन्ने कुरामा हामी विश्वस्त छौं । यो विषयमा हामीले रौ बराबर शंका गरेका छैनौं । अहिले हामी साथसाथै चुनावी अभियानमा छौं । यो गठबन्धनसँग आबद्ध राजनीतिक दलहरुको संयन्त्र टोल तहसम्म हामीले संयुक्त रुपमा निर्माण गरिसकेका छौं । त्यसकारण धोका र क्रस भोटिङको कुनै सम्भावना छैन ।

० झापा–३ मा के देखेर केन्द्रीयस्तरको सहमति मान्नु भएन ?
– झापा क्षेत्र नं.–३ यस्तो क्षेत्र हो, जहाँ तत्कालीन राप्रपा नेपालले २०६४ सालको निर्वाचनमा प्रत्यक्षतर्फ २ सय २ भोट र समानुपातिकतर्फ २ सय २८ भोट मात्र पाएको थियो । त्यो ठाउँमा २०७० सालमा आइपुग्दा राप्रपा नेपाल अर्थात् मैले निकटम प्रतिद्वन्द्वीको हैसियत प्राप्त गरें । राष्ट्रिय प्रजातन्त्र पार्टीले पछिल्लो दिनमा आएर यति तीब्र ढंगले संगठन विस्तार गरिरहेको थियो, अहिले पुनर्संरचनासहितको निर्वाचन क्षेत्रमा रहेका ३ वटा गाउँपालिकामध्ये दुईवटामा राप्रपाले विजय प्राप्त गरेको छ । अर्को गाउँपालिका र नगरपालिकामा पनि राम्रो हैसियत राख्छ । अर्थात् राप्रपा आफैले यहाँ विजय प्राप्त गर्न सक्ने ठाउँ थियो । पछिल्लो दिनमा वामपन्थी गठबन्धन बन्यो । नेपाली कांगे्रसले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई लोकतान्त्रिक गठबन्धन बनाएर सँगै जाउ भन्यो । निर्वाचन क्षेत्र बाँडफाँड भयो, झापा–३ राष्ट्रिय प्रजातन्त्र पार्टीको भागमा हुने भनेर सहीछापसमेत भइसकेपछि लोकतान्त्रिक गठबन्धनमा बस्ने निर्णय गरेका थियौं । अन्तिम घडीमा आएर नेपाली कांगे्रसले राजनीतिलाई बेइमानी, छलछामको रुपमा धोका पूर्ण ढंगले यो क्षेत्रमा आफै उम्मेदवारी दिने निर्णय ग¥यो । राप्रपा एक्लै उठ्ने तयारी गरिरहेका बेला बामपन्थी गठबन्धनसँग कुरा मिल्यो । झापाको अन्य ४ वटा क्षेत्रमा हामीले बामपन्थी गठबन्धनलाई सहयोग गर्ने र झापा–३ मा वामपन्थी गठबन्धनले हामीलाई सहयोग गर्ने सहमति बन्यो ।

० तपाईंहरु संवैधानिक राजतन्त्र र हिन्दूधर्म र वामपन्थीहरु गणतन्त्रवादी हुन् । यस्तो अवस्थामा कसरी तालमेल सम्भव भयो ?
– यो कुरा नेपाली कांगे्रसको लोकतान्त्रिक गठबन्धनसँग गरेको भए पनि सोध्न मिल्थ्यो, अहिले झापाबाहेक बाँकी ७६ जिल्लामा नेपाली कांगे्रसले हाम्रो साहरा लिइराखेको छ । सानो हाम्रो हाम्रो बैशाखी टेकेर नेपाली कांगे्रसले लोकतान्त्रिक गठबन्धन भनेर हिड्न पाएको छ । उ पनि गणतन्त्र र धर्म निरपेक्षताको पक्षधर नै हो । अहिले जे गठबन्धन बनेको छ, त्यो सैद्धान्तिक होइन, चुनावी तालमेल मात्र हो भन्ने कुरा सबैले बुझ्नुपर्छ । हामी कांगे्रस र वाम गठबन्धनको एजेन्डा स्वीकार गरेर गएका होइनौं, हाम्रो एजेन्डा पनि उहाँहरुले स्वीकार गरेका होइनन् ।

० अबको निर्वाचनपछि राप्रपाको स्थान कहाँ होला ?
– अब थोरै राजनीतिक दलहरु मात्र राष्ट्रिय पार्टी हुन्छन् । त्यसभित्र हामी हुन्छौं । हामी राष्ट्रिय प्रजातन्त्र पार्टीलाई बलियो राष्ट्रवादी र आगामी दिनको एउटा वैकल्पिक पार्टीको रुपमा बनाउन ध्यान दिनेछौं । क्रमसंख्यामा कहाँ हुन्छ भन्ने कुरा भोलि देखिन्छ ।

० स्थानीय तहको निर्वाचनले तपाईंहरु राष्ट्रिय पार्टी बन्न सक्ने देखिँदैन त ?
– स्थानीय तहमा राप्रपाले प्राप्त गरेको मत मात्रैले पनि हामीलाई ३ प्रतिशतभन्दा माथि देखाउँछ । राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट प्रमुख पदमा प्राप्त गरेको मतलाई मात्र जोडिएको छ । हामीले स्थानीय तहको ६० प्रतिशत स्थानमा मात्र उम्मेदवारी दिएका थियौं । तर अहिले हामीले प्राप्त गर्ने मत भनेको सतप्रतिशत स्थानबाट हो । त्यसकारण हामीलाई ३ प्रतिशतको समस्या हुँदैन । हाम्रो पार्टीलाई विभाजन वा अरु कुनै कुराले प्रभाव पार्दैन ।

० राप्रपा विभाजन भएर तीनवटा बनेको छ ? मत विभाजन हुँदैन ?
– मनोवैज्ञानिक प्रभाव परेको छ, तर संख्यात्मक हिसाबले कुनै प्रभाव पार्छ जस्तो मलाई लाग्दैन ।

० तपाईंलाई झापा–३ का जनताले किन जिताउने ?
– झापा–३ अन्य क्षेत्रको तुलनामा दुर्गम हो । त्यहाँका जनताले कालोपत्रे सडक हेर्न विर्तामोड वा विहार पुग्नुपर्छ । जनताले शौचालय देखेका छैनन्, अहिले पनि टुकी बालेर बस्ने मानिसहरु छन् । हरेक वर्ष डुबानमा पर्नुपर्छ । अविकसित र दुर्गमको नामुना क्षेत्र हो झापा–३ । २०४६ सालदेखि निरन्तर नेपाली कांग्रेसले जितेको क्षेत्र हो । त्यहाँका जनता पछौटेपनमा बसेको एकदमै धेरै समय भयो । जनता परिवर्तनको पक्षमा छन् । परिवर्तनको नेतृत्व राजेन्द्र लिङदेनले नै गर्न सक्छ भन्ने कुरा जनतालाई विश्वास भएको छ । झापा–३ का जनता परिवर्तनको पक्षमा छन् । अहिले कृष्ण सिटौलाको हार्ने पालो हो ।