८ बैशाख २०८१, शनिबार
Follow Us

प्रचण्डको ‘दाइने हात’ भाँचियो

नेपालब्रिटेन डट कम्
३ मंसिर २०७४, आईतवार १२:५२

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले राजनीतिमा सहयोग गर्ने विश्वासिला पात्र छोरा प्रकाश दाहाल थिए । छोराको निधनसँगै अध्यक्ष प्रचण्डले आफ्नो दाइने हात भाँचिएको महसुस गरेका छन् । प्रकाश दाहाल पछिल्लो समय पार्टीप्रति जिम्मेवार रहँदै आफ्ना पिता नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का छोराका रुपमा मात्र सिमित थिएनन् । पार्टी अध्यक्षको सचिबालय मात्र नभई प्रधानमन्त्री रहँदा पनि प्रकाश पिताका ‘दाहिने हात’का रुपमा काम गर्दै आएका थिए । सचिबालयमा रहेर सूचना प्रवाहदेखि आन्तरिक कार्यहरुमा प्रचण्डका आडभरोसा प्रकाश नै थिए ।

प्रचण्डका दैनिक, व्यक्तिगतदेखि राजनीतिक महत्वका कामहरुमा प्रकाश सबैभन्दा नजिकका सहयोगी थिए । स्थानीय निकायको निर्बाचन होस या आसन्न प्रदेश सभा र प्रतिनिधी सभा निर्बाचनको देश दौडाहामा प्रचण्डसँग प्रकाश छुट्दैन थिए । मेलामौका व्यक्तिगत जीवनमा विभिन्न आलोचनाका पात्र बन्ने गरेका प्रकाश माओवादी शान्तिपूर्ण राजनीतिमा होमिएपछि प्रचण्डका सबैभन्दा नजिकका सहयोगीका रुपमा भूमिका निर्बाह गरिरहेका थिए ।

श्रीमती विना मगर, दिदी रेणु दाहाल सक्रिय राजनीतिमा रहेपनि प्रकाशले दिदी र श्रीमतीलाई भन्दा पनि पिताकै राजनीतिलाई मलजल गर्दै थप प्रकाश दिने काम गर्दै आएका थिए । प्रकाशले आफ्ना व्यक्तिगत जीवनका आरोह अवरोह चटक्कै बिर्सेर, प्रचण्डलाई सुःखदुःखमा काँध थापेका थिए । सामाजिक संजालहरुमार्फत शुभेच्छुक तथा कार्यकर्ताहरु साथै पत्रकारलाई प्रचण्डको दैनिक तालिकाबारे अपडेट गरिदिन्थे ।
स्वकिय सचिवको औपचारिक जिम्मेवारी निर्वाह गर्दा प्रकाशलाई पुत्र हुने छुट थिएन । तैपनि पिताको राजनीतिक व्यस्ततालाई व्यवस्थित बनाउथे प्रकाशले ।सचिबालयमार्फत सहयोगीहरुलाई जिम्मेवारी बाँडफाँड, प्रचण्डको तालिका निर्धारण देखि पितालाई परामर्श दिनेसम्मका कार्यहरु प्रकाशले नै गरिदिन्थे ।

केही बर्ष अघि छोरी गुमाएका प्रचण्डले चुनावको मुखमा एक्लो छोरो गुमाउएको खबर सुनेर आइतबार झापाबाट उडेर नर्भिक पुग्दा भक्कानिएका थिए । उनलाई सम्हाल्न सुरक्षा निकायलाई हम्मे परेको थियो ।