७ बैशाख २०८१, शुक्रबार
Follow Us

धेरै जालझेल भोगेर निर्वाचन गराइयो

नेपालब्रिटेन डट कम्
७ भाद्र २०७३, मंगलवार १५:३१

डा.प्रकाशशरण महत, केन्द्रीय सदस्य

धेरै ठूलो जालझेल र षड्यन्त्रका बाबजुद नेविसंघको ११औं महाधिवेशनले लोकतान्त्रिक विधि र प्रक्रियामार्फत नयाँ नेतृत्व चयन गरेको छ । महाधिवेशनको निर्देशन समितिमा डा.प्रकाशशरण महत नभएको भए विगतमा जस्तै टिकोटालो गरेर नेतृत्व चयन गर्नुपर्ने बाध्यतामा नेपाली कांग्रेस पुग्ने टिप्पणी धेरैले गरेका छन् । यसअघि निर्देशन समितिमा रहेर असफल हुनुभएका तत्कालीन महामन्त्री प्रकाशमान सिंहको समेत यस्तै टिप्पणी रहेको एक विद्यार्थी नेताले बताएका थिए । निर्वाचन प्रक्रियाबाटै नेतृत्व चयनका लागि डा.महत एकलव्य जस्तो भएर किन लागिरहनुभयो त ? यस्तो प्रेरणा उहाँले कसरी पाउनुभयो त ? भन्ने प्रश्न धेरैको छ । तर नेविसंघको पाँचौ महाधिवेशनबारे थाहा पाउनेहरूका लागि भने यी प्रश्न खासै जटिल छैनन् । त्यतिबेला नेविसंघको नेतृत्व घोषणा गर्दै तत्कालीन पार्टी सभापति कृष्णप्रसाद भट्टराईले भन्नुभएको थियो– ‘८० प्रतिशत महाधिवेशन प्रतिनिधिहरू महतको पक्षमा रहँदारहँदै पनि चुनाव हुने वातावरण नबनेकाले विशेष कारणवश बालकृष्ण खाँणको अध्यक्षतामा कमिटी बनाएका छौं, यो कमिटीले छिट्टै चुनाव गराउने छ ।’ तर ८० प्रतिशत प्रतिनिधि आफ्नो पक्षमा हुँदाहुँदै पनि चुनाव नै नगराइएका कारण महतले नेविसंघको अध्यक्ष बन्ने सौभाग्य पाउनुभएन । सायद आफूले भोगेको त्यो पीडा अरुले भोग्न नपरोस् भनेर नै उहाँ ११ औं महाधिवेशनमा जसरी पनि चुनाव गराउन एकलव्य भावमा लाग्नुभएको हुनुपर्छ । प्रस्तुत छ, डा.महतसँग गरेको संक्षिप्त कुराकानी :

० नेविसंघको महाधिवेशन गराउन सफल हुनुभयो, होइन ?
– झन्डै दस वर्षको अन्तरालमा नेपाल विद्यार्थी संघको केन्द्रीय महाधिवेशन सम्पन्न भएको छ । दस वर्षसम्म हुन नसकेको महाधिवेशन सम्पन्न गर्ने काममा धेरै बाधा, अवरोध र कठिनाइ थिए । त्यसका बाबजुद पनि नेविसंघको महाधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ । र, निर्वाचनमार्फत नयाँ नेतृत्वको चयन भएको छ । यो हामी सबैका लागि खुुसीको कुरा हो ।
० कस्तो कस्तो सास्ती पाउनुभयो ?
– पार्टी सभापति शेरबहादुर देउवाले करिब एक महिनाअघि मात्र पाँच सदस्यीय निर्देशन समिति बनाउनुभएको थियो, त्यसको संयोजक म थिएँ । निर्देशन समिति बनाउँदा महाधिवेशनको मिति तय भइसकेको थियो, तर ११ जिल्लाबाट प्रतिनिधि चयन भएका थिएनन् । त्यहाँ विवाद कायमै थियो । ती जिल्लाको प्रतिनिधित्व नै नगराउनु पनि उपयुक्त थिएन । प्रतिनिधित्व गराउनुपर्ने बाध्यता थियो । तर कसरी प्रतिनिधित्व गराउने भन्ने प्रश्न जटिल बन्दै गएको थियो ।
ती ११ वटा जिल्लाबाहेकमा पनि विवाद थियो । प्रतिनिधित्व मिलेको छैन भन्ने कुरा चर्काइएको थियो । यही विषयलाई लिएर दुईवटा पक्ष अनसनमा थिए । यो अवस्थामा सबैलाई चित्त बुझाएर केन्द्रीय महाधिवेशनमा भाग लिने प्रतिनिधिको टुंगो लगाउने काम सजिलो थिएन । सबैको सहमतिमा प्रतिनिधि टुंग्याउने कुरा आफैंमा चुनौतीपूर्ण थियो । त्यो काम हामीले सम्पन्न ग¥यौं । निर्वाचन समितिले प्रतिनिधिको नामावली प्रकाशित गरिसकेपछि पनि यही विषयलाई लिएर फेरि विवाद निकालियो । त्यसैले चुनाव दिनदिनै सर्दै गयो ।
साउन २३ गते महाधिवेशन उद्घाटन त भयो, तर चुनावको दिन ढिलो हुँदै गयो । प्रतिनिधिहरू अलपत्र परे । यी सबै अप्ठ्याराका बीचमा हामी सहमति गर्न सफल भयौं । चुनाव रातभर चलिरह्यो । अघिल्लो दिन करिब १ बजेदेखि सुरु भएर भोलिपल्ट बिहान करिब ९ बजे मतदान सकियो । त्यो आफैंमा ऐतिहासिक घटना थियो । सायद अन्यत्र यस्तो भएको छैन । रातभर प्रतिनिधिहरूले लाइनमा बसेर भोट हाले । चुनाव भएको रात म पनि पार्टी कार्यालयमै बसे । त्यो राति म चुनावमा लाइन लागेका प्रतिनिधिहरूसँग बेलाबखत गएर कुराकानी गर्थें । मैले उनीहरूलाई तपाईहरू यसरी रातभर लाइनमा बस्नुप¥यो, दुःख पाउनुप¥यो क्षमा चाहन्छु भनें, तर उनीहरूले कुनै दुःखमनाउ गरेनन् । हामीले मतदानबाट नेतृत्व निर्वाचित गर्न पायौं, त्यसैमा खुसी छौं भने । उनीहरू ज्यादै खुसी देखिन्थे । यसबाट पनि विद्यार्थीहरूमा चुनाव होस्, चुनावबाट नेतृत्व चयन होस्, निर्वाचित समितिले नेविसंघलाई सञ्चलान गरोस् भन्ने निकै ठूलो चाहना भएको देखिन्थ्यो, उहाँहरूको चाहना पूरा भएको छ । अब यसले नेविसंघलाई नयाँ गति दिन्छ । नेविसंघको जुन गौरवपूर्ण इतिहास छ, जसको स्वयं म पनि हिस्सेदार बन्न पाएको छु । यो ठूलो खुसीको कुरा हो ।
० एकै पटक दुईवटा सफलता हात पार्नुभयो होइन ?
– मैले सुरुदेखि नै भन्दै आएको थिएँ, महाधिवेशनबाट नेतृत्वमा को आउँछ, को आउँदैन त्यो मूल कुरा होइन । उद्घाटन मन्तव्यमा पार्टी सभापतिज्यूले नेविसंघमा समस्या छ भन्दैमा त्यसलाई अवसरको रूपमा लिएर नेतृत्व तोक्न चाहन्न भन्नुभएको थियो । अहिलेसम्मको परम्परा विवाद भए पार्टी नेतृत्वले नेविसंघको नेतृत्व तोक्ने थियो । तिमीहरूले समस्या मिलाएनौं, निर्वाचन हुने स्थिति रहेन, अब हामी नेतृत्व तोक्छांै भन्ने विगतको परम्परा थियो । तर अहिले पार्टी सभापतिज्यूले निर्वाचनमार्फत नै नेतृत्व आओस् बरु केही समय पर्खांै, के के असन्तुष्टि छन्, तिनलाई मिलाएर जाऔं भन्नुभयो ।
उहाँको दृढ दृष्टिकोण निर्वाचनमार्फत् नयाँ नेतृत्व नै रह्यो । मेरो अभियान पनि सुरुदेखि नै निर्वाचनबाट नेतृत्व आउनुपर्छ भन्ने नै थियो । को कसको नजिक छ, त्यो त्यति महŒवपूर्ण कुरा थिएन । निर्वाचनबाट नेतृत्व चयन भएको छ । यो महŒवपूर्ण पक्ष हो । अब यसले नेविसंघलाई ऊर्जा दिन्छ । नेविसंघ ऊर्जाशील हुनु भनेको पार्टीलाई नेविसंघमार्फत योगदान पु-याउनु हो ।
नेपाली कांग्रेसको नेतृत्व पंक्तिमा अहिले जति नेता हुनुहुन्छ, उहाँहरूमध्ये अधिकांश नेविसंघबाटै आउनुभएको हो । अहिलेका सभापति शेरबहादुर देउवा कुनै समय नेविसंघको अध्यक्ष हुनुहुन्थ्यो । कुनै बेला म पनि महामन्त्री थिएँ । त्यसैले मेरो जिम्मेवारी कुनै व्यक्तिलाई निर्वाचित गराएर ल्याउनु थिएन, सबैलाई सहमतिमा ल्याएर चुनावबाट नेतृत्व चयन गर्ने थियो । कसैलाई पनि ठिक ढंगबाट नेविसंघको चुनाव भएन भन्नुपर्ने स्थिति आउन दिन हुन्नथ्यो । त्यो जिम्मेवारी सबैको साथ सहयोगले मैले पूरा गरें ।
० पार्टीभित्रको लबीका आधारमा यसैलाई जिताउने भन्ने कुनै निर्देशन थियो कि ?
– हिजोको दिनदेखि नै कांग्रेसका नेताहरूमा नेविसंघमा हाम्रो प्रभाव रहनुपर्छ भन्ने चिन्तन थियो । नेविसंघ नेपाली कांग्रेसको महŒवपूर्ण भ्रातृसंगठन हो । यसको नेतृत्व हाम्रो अनुकूलको आओस् भन्ने नेताहरूको चाहना नभएको होइन । आफ्नो प्रभाव नेविसंघमा रहिरहोस् भन्ने प्रबल भावना हिजोको दिनमा थियो । त्यसैले नेविसंघको नेतृत्व आफ्नो अनुकूलको नहुने विश्लेषणका आधारमा निर्वाचित कमिटीलाई विघटन गरेर अर्को बनाउने परम्परा नेतृत्व पंक्तिमा थियो । र, निर्वाचनबाट आफ्नो अनुकूलको नेतृत्व आउँदैन भन्ने लाग्यो भने चुनावको मिति तोक्ने, तर हुन नदिने परम्परा थियो ।
त्यसैले दस वर्षसम्म नेविसंघको महाधिवेशन नभएको हो । त्यही परम्परा कायम राख्ने हो भने नेविसंघ नै जीर्ण हुने थियो । नेविसंघ नै कमजोर भएपछि मैले चाहेको व्यक्ति नेविसंघमा आयो भनेर खुसी मनाउनुको के अर्थ रहन्छ र ? नेविसंघको प्रभाव र विस्तार न्यून भइसकेको स्थितिमा मैले आफ्नो मान्छेलाई, मेरो घर धाइरहने मान्छेलाई नेतृत्वमा पु-याएँ भन्नुको के अर्थ रहन्छ र ?
त्यसैले पार्टी सभापतिज्यूले कसलाई नेतृत्वमा ल्याउनुपर्छ भन्नेतिर महŒव दिनुभएन, निर्वाचनबाटै नेतृत्व ल्याउनुपर्छ भन्ने उहाँको दृढ चाहना थियो । पार्टी सभापतिज्यूको दृढ चाहनाको आधारमा मैले काम गरें । पार्टी सभापतिज्यूलाई यो नेतृत्व भए हुन्छ, ऊ भए हुँदैन भन्ने थिएन । नैनसिंह महर हुन्छन् या मनोजमणि आचार्य हुन्छन्, त्यो सभापतिज्यूको प्राथमिकताको विषय थिएन । प्राथमिकताको विषय चुनावबाटै नेतृत्व चयन होस् भन्ने नै थियो । किनभने दुवै विद्यार्थी नेताहरू नेतृत्वका लागि योग्य थिए ।
० चुनावको दुई दिनअघि पौडेल पक्षीय विद्यार्थीहरूले प्रतिनिधि चयनमा एकलौटी भयो भनेका थिए, पार्टी कार्यालयमै नाराबाजी गरे, पछि कसरी मिलाउनुभयो ?
– म कुनै पनि आदरणीय नेताहरूलाई दोषारोपण गर्न चाहन्न । पार्टीका शीर्ष नेताहरूमा नेविसंघ आफ्नो प्रभावमा रहनुपर्छ भन्ने थियो । नेविसंघको नेतृत्व चुनावबाट छानिने भयो भन्ने कुरा आएपछि आफ्नो अनुकूल नेतृत्व आउँछ कि आउँदैन भन्ने सोच पनि थियो होला । विवादित ठाउँको प्रतिनिधित्वलाई लिएर को को प्रतिनिधि आउँछन् भन्ने चिन्ता र चासो रहनु स्वाभाविक थियो । यो प्रतिनिधि आउनुपथ्र्यो, यो प्रतिनिधि किन आउन सकेन ? यस्ता कुरा पटक–पटक उठे, उठाइए । त्यो कुरा विद्यार्थी नेताहरूबाट पनि र पार्टीका नेताहरूबाट पनि उठे ।
० तपाईलाई दबाब र धम्की पनि त आयो होला नि ?
– अनेक कुराहरू आए, तपाईले यस्तो कसरी गर्दै हुनुहुन्छ ? जबर्जस्ती किन गर्दै हुनुहुन्छ ? यस्ता अनेक कुराहरू र खबरदारी पनि आए । मैले बुझेकै थिएँ, यो सजिलो जिम्मेवारी होइन । आरोपहरू पनि आउँछन् भन्ने बुझेकै थिएँ । जिल्लाका नेताहरूको पनि दबाब आउँथ्यो । केन्द्रका नेताहरूको पनि दबाब आउँथ्यो । यहाँ किन यस्तो भयो भन्ने कुरा आउँथ्यो । नेताहरूको आ–आफ्नै दृष्टिकोण थिए ।
० यसलाई दबाब भनौं कि धम्की ?
– प्रतिनिधि चयनबाट निस्केको परिणामको जवाफदेही तपाई हुनुपर्छ, यसको जिम्मा तपाईले लिनुपर्छ जस्ता कुराहरू आए । तर म के कन्भिन्स थिएँ भने मेरो यसमा कुनै स्वार्थ छैन, कुनै व्यक्तिगत चाहना पनि छैन । कुनै उम्मेदवारलाई सघाउन, प्रतिनिधि राख्ने काममा म लाग्दिनँ बरु पार्टीका नेताहरूका विभिन्न पक्षका के के कुरामा चित्तबुझाइ छैन, ती कुरालाई सम्बोधन गर्न म केन्द्रित हुनुपर्छ भन्नेमा प्रतिबद्ध थिएँ । त्यसैले यी दबाब, यी खबरदारीको बाबजुद पनि मैले काम गरिरहें । अब नेविसंघको नेतृत्व चुनावबाटै चयन हुनुपर्छ भन्ने ठाउँमा म पुगें । मेरो ध्यान नेविसंघको जुन समस्या थियो, त्यो समाधान गर्नमै केन्द्रित थियो । त्यसपछि विस्तारै मैले सबैको विश्वास लिएँ । अविश्वासको बीचमा पनि मैले विस्तारै विस्तारै विश्वास पाउँदै गएँ । सबैको विश्वास लिएर चुनाव गराउन हामी सफल भयौं ।
० नेविसंघको महाधिवेशन १२ दिनसम्म लम्बिनुको खास कारण के थियो त ?
– प्रतिनिधि चयनमै कुरा नमिलेर महाधिवेशन लम्बिएको हो । प्रतिनिधिको कुरामा यो भएन, त्यो भएन भन्ने कुराहरू पटक–पटक आए । आज सहमति ग¥यो, भोलि त्यही कुरा मान्दैनौं भन्ने पनि भयो । त्यसमै नमिलेर चुनावको मिति लम्बियो । मूलतः पार्टीका नेताहरूमा निर्वाचनबाट आफ्नो अनुकूलको नेतृत्व आउँछ कि आउँदैन, अनुकूलको नेतृत्व आउँदैन भने निर्वाचनमै किन जानुप¥यो ? भागबन्डा गरेर जाऔं भन्ने कुरा पनि नभएको होइन । तर यही कुराको बाबजुद पनि हामी मतादाता नामावली चयन, उम्मेदवारहरूको मनोनयनसम्मको कार्यक्रममा पुग्यौ । त्यसपछि पार्टीका नेताहरू अब नेविसंघको नेतृत्व निर्वाचनबाटै चयन हुनुपर्छ भन्ने स्थितिमा आइपुग्नुभयो ।
० नेविसंघको आगामी नीति र विगतको समीक्षा नभईकनै चुनाव भयो नि ?
– प्रतिनिधिकै कुरामा रस्साकस्सी भयो । यसमै अन्योल रह्यो । यसले बन्दसत्रलाई अन्योलमा पा-यो । नेविसंघको उद्घाटनपछि बन्दसत्र सुरु गरौं भन्ने मेरो सुझाव थियो । तर, नेविसंघको नेतृत्वले प्रतिनिधिको चयन नगर्दासम्म बन्दसत्र नगरौं । यसरी बन्दसत्र गर्दा कठिनाइ उत्पन्न हुन्छ भन्यो । यही स्थिति देखाएर उहाँहरूले बन्दसत्र गराउने तत्पराता देखाउनु भएन । बन्दसत्र भएन, तर नेविसंघमा ऐतिहासिक काम भएको छ । चुनावी प्रक्रिया पनि बन्दसत्रकै एक हिस्सा हो ।
सबैको सहमतिमा पार्टी नेतृत्वदेखि नेविसंघ नेतृत्वसम्मको सहमतिमा नेतृत्व चुनावबाट चयन भएको छ । अधिकांश प्रतिनिधिहरू जिल्ला र कलेजबाट निर्वाचित भएर आएका हुन् । केही प्रतिनिधिहरू प्रतिशतको आधारमा सहमतिमा विभिन्न पक्षलाई सन्तुष्ट गर्ने क्रममा थप्नुप¥यो । यसले गर्दा प्रतिनिधि संख्या पनि अलि बढी भयो । यो नगरीकन सबैलाई सन्तुष्ट नपारी निर्वाचन अघि बढ्ने स्थिति थिएन । हामीले त्यो ग-यांै । निर्देशन समितिको संयोजकको हैसियतले मैले कतिपय कुरा पक्ष–विपक्ष मसँग जोडिएका–नजोडिएका कुरालाई ध्यान दिएको भए सायद सहमति जुट्न कठिन हुने थियो ।
० तपाईले व्यक्तिगत रूपमा धेरै तनाव बेहोर्नुप¥यो, होइन ?
– हो । रातभर रातभर नसुती बैठक र छलफल गर्नुप¥यो । अझै पनि राम्रोसँग निदाउन पाएको छैन । जे होस् म नेविसंघको अधिवेशन सम्पन्न भएकोमा निकै खुसी छु । म पनि नेविसंघको नेतृत्व हँुदै पार्टीको नेतृत्व तहमा आएको व्यक्ति हँु ।
व्यक्तिगत रूपमा को टाढा, को नजिक भन्ने कुरा समयक्रमअनुसार भइरहन्छ । कुनै व्यक्ति आज नजिक छ, भोलि नहुन सक्छ, कुनै व्यक्ति आज टाढा छ, भोलि नजिक हुन सक्छ । त्यसकारण यसलाई महŒव दिने परम्परा तोड्नुपर्छ । निर्देशन समितिमा बसेका अरु सदस्यलाई पनि मैले यो कुरा भनिरहें । यसबाट निर्देशन समितिको संयोजक प्रकाश महतले साँच्चै एउटा पक्षलाई पक्षपोषण गर्छ कि, यसैका लागि निर्देशन समितिको संयोजकमा बसेको छ कि भन्ने कसैलाई लागेको थियो भने त्यो पनि समयको अन्तरालमा होइन रहेछ भन्ने पुष्टि भएको छ ।
० महाधिवेशन सम्पन्न गराएकोमा पार्टी सभापतिले धन्यवाद दिनुभयो होला, अब पुरस्कार पनि पाउनु होला नि ?
– पार्टी सभापतिको इच्छा कसैलाई टीका लगाउने वा माला लगाउने थिएन । जुनसुकै विषयमा कम्प्रोमाइज गरेर पनि निर्वाचित नेतृत्व ल्याउने थियो । उहाँले महाधिवेशनमा गरेको कमिटमेन्ट पूरा गर्ने थियो । त्यसैले उहाँको त्यो प्रतिबद्धता पूरा भएको छ । त्यसैले पनि खुसी हुनुभएको छ । पार्टी सभापति मात्र होइन, सबै नेताहरू, जिल्लाका पार्टी सभापतिहरूले चुनाव सम्पन्न भएकोमा धन्यवाद दिनुभएको छ । तर मेरो आफ्नो मात्र प्रयासले नेविसंघको महाधिवेशन भयो भन्नु उपयुक्त हुँदैन । यसमा सबैको सहयोग छ । चुनाव गराउन नेविसंघको नेतृत्व पंक्ति, पार्टीका नेताहरू खासगरी पार्टी सभापतिज्यूको निरन्तर पहल रह्यो । निर्वाचनबाट नेतृत्व चयन गर्न उहाँ कति उदार हुनुहुन्थ्यो भन्ने कुरा देखिएको छ । यी सबै कारणबाट नेविसंघको चुनाव भयो । मेरो व्यक्तिगत कारण मात्र सम्भव भयो भन्न सुहाउँदैन । सबैको सहयोगबाट सम्भव भएको हो । तर मैले जुन जिम्मेवारी लिएको थिएँ, त्यो जिम्मेवारी गम्भीरताका साथ पूरा गर्न कोसिस गरें । जहाँसम्म पुरस्कारको कुरा गर्नुभयो, त्यसका निम्ति गरिएको काम होइन । पार्टीको जिम्मेवार नेताको हैसियतले त्यो मेरो दायित्व थियो । दायित्व पूरा गर्ने चुनौती र अवसर पनि थियो ।
० नेविसंघको कारण देखाएर कांग्रेसले सरकारमा जाने मन्त्रीहरूको नाम पठाउन सकेको छैन, अब कहिले थपिन्छन् मन्त्रीहरू ?
– मेरो विचारमा सम्भवतः मंगलबारसम्म सरकारले पूर्णता पाइसक्छ । मन्त्रीहरू को को पठाउने भन्ने कुरा पार्टी सभापतिज्यूले सोचिरहनु भएको होला । यसबेलासम्म सबैको ध्यान नेविसंघको महाधिवेशनतिर गइरहेको थियो । यो महाधिवेशन पार्टीको महाधिवेशनपछि सबैको चासोको विषय थियो । अब नेविसंघको महाधिवेशन पनि सम्पन्न भएको छ । मन्त्रीको नाम पठाउने कुरामा अन्य नेताहरूसँग सरसल्लाह गरेर सभापतिज्यूले चाँडै टुंगो लगाउनुहुन्छ भन्ने मलाई लाग्छ ।