१३ बैशाख २०८१, बिहीबार
Follow Us

नेविसंघ अध्यक्ष हामीलाई भित्तामा टाँस्ने सोचमा हुनुहुन्छ

नेपालब्रिटेन संवाददाता
१२ बैशाख २०७५, बुधबार ०९:३८

उर्मिला थपलिया, उपाध्यक्ष, नेपाल विद्यार्थी संघ
नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) भित्रको विवाद चरमचूलीमा पुगेको छ । नेविसंघभित्रको विवादले माउ पार्टी नेपाली कांग्रेसमा तरंग नै ल्याएको छ । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक चलिरहेको छ । उक्त बैठकमा नेविसंघ विवादले पनि प्रवेश पाएको छ । यो विवादले कसरी निकास पाउँछ, अहिले अनुमान गर्न कठिन छ । यसै विषयलाई नेविसंघका उपाध्यक्ष उर्मिला थपलियासँग राज ढुंगानाले गरेको कुराकानी–

० नेविसंघमा समानान्तर कमिटी गठन गर्दै हुनुहुन्छ ?
– समानान्तर कमिटीको अभ्यासमा हामी पक्कै पनि होइनौं, संगठनलाई धरासायी होइन, मजबुद बनाइयो भने मात्र हामी बलियो हुनसक्छौं भन्ने हाम्रो मान्यता हो । पार्टीभित्रको आन्तरिक लोकतन्त्र विस्तापित भइरहेको छ । पार्टीभित्रको आन्तरिक लोकतन्त्र खोज्न हामीले पत्रकार सम्मेलन ग¥यौं । नेविसंघभित्रको विवादबारे पार्टी सभापतिलगायत अन्य पदाधिकारीलाई हामीले ध्यानाकर्षण गराएका थियौं । संगठनभित्रको कलहलाई संगठनभित्रै मिलाउनु हुन्छ । यसलाई बाहिर लैजानु हुन्न भनेर तीन महिनाअघि नै हामीले पार्टी सभापतिको ध्यानाकर्षण गरेर ज्ञापनपत्र बुझाएका थियौं । तर हाम्रो ज्ञापनपत्र र ध्यानकर्षणलाई आजसम्म पार्टी सभापति र नेविसंघका सभापति सचेत नभएको र संगठनलाई सुदृढीकरण गर्न उहाँहरु अग्रसर नदेखिनु भएकाले हामी संगठन जोगाउनका लागि निरन्तर आन्दोलनमा छौं, समानान्तर संगठनका लागि होइन ।

० नेविसंघ विवादको चुरो के हो ?
– नेविसंघका अध्यक्ष नैनसिंह महरले विधानमा नभएको आमन्त्रित केन्द्रीय सदस्य बाँड्दै हिड्नुभयो । टिके प्रथाबाट नेतृत्व चयन गर्न खोज्नुभयो, त्यसलाई हामीले रोक्नु विनम्र अनुरोध गर्दा पनि अध्यक्षले मान्नुभएन । जसले गर्दा पार्टीभित्रै साथीभाइमाँझ काटामार हुन थाल्यो । यो स्थिति रोक्नका लागि पनि हाम्रो आग्रह हो । अध्यक्षको यो गतिविधिले महाधिवेशन हुँदैन भन्ने हामीलाई चिन्ता छ । जसरी हामी निर्वाचित भएर आएका छौं, त्यसैगरी नेतृत्व हस्तान्तरण गर्न चाहन्छौं । नेतृत्व हस्तान्तरण गर्ने अवस्थामा पुग्दैनौं कि भन्ने चिन्ताले हामीलाई पिरोलिरहेको छ । देशभरिको क्याम्पस र जिल्लाहरुमा अहिले विवाद ज्युका त्यू छ । अधिवेशन हुन नसकेको जिल्लामा अधिवेशन गराउन नसक्नु, अधिवेशनमार्फत् नेतृत्व चयन गराउन नसक्नु नालायकीपन हो । त्यसबारे अध्यक्षलाई हामी बारम्बार स्मरण गराएका छौं । अधिवेशन गरौं, सहमतिअनुसार प्रतिनिधि पठाऔं, प्रतिनिधिमार्फत् निर्वाचन गराउँ भन्दा अध्यक्षले मनोमानी तरिकाले खल्तीबाट पत्र दिएर नेतृत्व चयन गर्न थाल्नुभयो, त्यसविरुद्ध हाम्रो अभियान हो ।

० तपाईंहरुको समानान्तर गतिविधिले कसलाई असर परेको छ ?
– असर संगठनलाई प-यो, व्यक्तिलाई परेको छैन । यहाँ संगठनको चिन्ता कसैलाई छैन, सबै गुट निर्माणमा व्यस्त छन् । समानन्तर गतिविधिले गरेका छैनौं । किनभने संगठन बलियो बनाउनलाई हामी समानन्तर गतिविधि गरेका छैनौं । हामी जति जिम्मेवार भए पनि अध्यक्ष गैरजिम्मेवार भएपछि हाम्रो केही चलेन । तर यहाँ संगठन धरासायी भयो ।

० अनुशासन समिति दुईवटा छ होइन ?
– नेविसंघको अध्यक्षले आफ्नो तरिकाले एउटा समिति गठन गर्नुभयो । अर्को कुन्दनजीको समूहले अर्को गठन गर्नुभयो । यी दुवै अवैधानिक हुन् । अध्यक्ष महर र कुन्दनको समूहले गरेको निर्णय सबै फिर्ता हुनुपर्छ । त्यसपछि शुन्य लेबलबाट नेविसंघको महाधिवेशनका लागि बाटो तय गरौं भन्ने हाम्रो एजेन्डा हो ।

० भागवण्डा नमिलेर विवाद छताछुल्ला भयो भन्नेहरुलाई के जवाफ दिनुहुन्छ ?
– सुशील कोइराला पार्टी सभापति हुँदो शेरबहादुर देउवाले ६०÷४० को कुरा उठाएर पार्टी सञ्चालन गर्न अवरोध गरेका थिए । नेविसंघ अनसन बसेको सानो मुद्दालाई लिएर १९ जना केन्द्रीय सदस्य थप्नुभएको थियो । यस्ता गतिविधि हामीले आजसम्म गरेका छैनौं । पार्टीलाई धरासायी बनाउनु हुन्न भन्ने गतिविधिमा हामी आजसम्म सचेत छौं । उहाँहरुजस्तो हिजो पार्टी टुक्राएर, ६०–४० को भाग खोज्दै छुटै गतिविधि गरेका थिए । तर, आज हाम्रो पार्टी नेतृत्व र नेविसंघ नेतृत्व जिम्मेवार भएको हुनाले उहाँहरु आज पनि हामीलाई भित्तामा टाँस्ने सोचमा हुनुहुन्छ । तर त्यो गलत हुनेछ, हिजो हामी राजा, राणाविरुद्ध लड्यौं, अब पार्टीभित्रको तानाशाहविरुद्ध लड्न तयार हुन्छौं ।

० नेविसंघमा आन्तरिक लोकतन्त्र रहेनछ भनेर बुझ्दा हुन्छ ?
– संगठनभित्र आन्तरिक लोकतन्त्र भएको भए छुट्टै पत्रकार सम्मेलन गर्नुपर्ने थिएन, पार्टी सभापतिलाई ज्ञापनपत्र बुझाउनु पर्ने जरुरी हुन्थेन । मेलमिलाप हुन पार्टी सभापति अथवा नेविसंघ अध्यक्षले दिनुभएन । हामी संगठन सुदृढीकरण चाहन्छौं । यसबारे सञ्चारमाध्यम अझ जानकार छ । एउटा कार्यक्रम चारवटा गुटले गरेको हुन्छ । यो पार्टी र संगठन दुवैको दुर्भाग्य होइन । संगठनलाई मिलाएर लैजान नसक्नु पार्टी सभापतिको कमजोरी होइन ? आजसम्म तरुण दल सञ्चालनमा छैन, ४ जनाले चलाएर बसेका छन् । भ्रातृ संस्था, विभाग तथा पदाधिकारी नियुक्ति गर्न पार्टी सभापतिले सक्नु भएको छैन । पार्टी जसरी चलेको छ, सभापतिले त्यसरी नै भ्रातृ संस्था डो¥याएर तानाशाही लाद्न खोज्दै हुनुहुन्छ, तर हामी त्यसो हुन दिन्नौं ।

० पार्टीको रोग भ्रातृ संस्थामा स¥यो भन्न खोज्नुभएको ?
– हो, एकदमै हो ।