१८ बैशाख २०८१, मंगलवार
Follow Us

अपहरण गर्न खोज्ने भारतीय सुरक्षाकर्मीसहित चार पक्राउ

नेपालब्रिटेन संवाददाता
१२ जेष्ठ २०७५, शनिबार ०५:१२

काठमाडौं । नेपाली नागरिकलाई नेपाली भूमिबाटै अपहरण गरेर भारत लैजान खोज्ने भारतीय सुरक्षाकर्मीसहितको एक समूहलाई रौतहटका सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् । बाराको कलैया १७ निवासी महेश प्रसाद यादवलाई जबर्जस्ती गाडीमा राखेर लैजान खोज्दा नेपाली सुरक्षाकर्मीले गौर भन्सार व्यारियरबाट भारतीय टोलीलाई पक्राउ गरेका हुन् ।

भारतको बैरगनिया थाना प्रभारी सुजित कुमार, अक्षेवर खान, मिथलेश कुमार मिश्रा र महमद खान लगायत पक्राउ परेका छन् । काठमाडौंको टोखास्थित महेश प्रसाद यादवको एक गार्मेन्टमा काम गर्ने बिहार सितामढीको पचटकी निवासी ओहिद मन्सुरीका छोरा साबिन र उनको साथी मुमताज अहमदको पहलमा भारतीय सुरक्षाकर्मीको टोली यादवलाई लिन नेपाल आएको बताइएको छ ।

भारतीयको समूहले नेपाली नागरिक यादवलाई जबर्जस्ती गाडीमा हालेर फर्किन थालेपछि भन्सार सुरक्षा चेक प्वाइन्टमा तैनाथ नेपाली सुरक्षाकर्मीले गाडीसहित सबैलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाएका छन् । रौतहटका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले भारतीय सुरक्षाकर्मीसहितको टोली जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेको र घटनाबारे अनुसन्धान भइरहेको बताउनु भयो ।

ओहिद मन्सुरीले एक कामको लागि भन्दै यादवसँग चार लाख रुपैयाँ लिएका थिए । तर, ओहिद काममा आएनन् र यादवले त्यो रकम फिर्ता गर्न भन्दै आएका थिए । त्यही रकम फिर्ता दिन भन्दै ओहिदको छोरा साबिन मन्सुरीले महेशलाई गौर बोलाएका थिए । गौर भन्सार नजिकैको एक होटलमा सँगै खाजा खाएपछि साबिनले फोन गरेर बैरगनिया थाना प्रभारीसहितको टोलीलाई गौर बोलाएका थिए ।

फोन गरेलगत्तै आएको भारतीय टोलीले यादवलाई भारतीय नम्बर प्लेटको गाडीमा जबरजस्ती राखेर भारततर्फ नै फर्किन लागेको थियो । शंका लागेपछि नेपाली सुरक्षाकर्मीले रोकेर सोधपुछ गरेका थिए ।