८ बैशाख २०८१, शनिबार
Follow Us

मनकामना पुनर्निर्माण टुंगिँदै

sarusaru
२० जेष्ठ २०७५, आईतवार ०३:५३

गोरखा — भूकम्पले क्षतिग्रस्त मनकामना मन्दिरको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । आगामी असोजभित्र मन्दिर तयार पारिसक्ने जीर्णोद्धार समितिले जनाएको छ ।

गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामना मन्दिर । तस्बिर : हरिराम

पहिले नै करिब ६ इन्च ढल्किएको मन्दिर २०७२ को भूकम्पछि थप एक फुट ढल्किएको थियो । त्यसपछि मन्दिर पूरै भत्काएर पुन: बनाउन लागिएको हो । २०६७ मा जीर्णोद्घार समिति गठन गरी जीर्णोद्घारको तयारी थालिएकोमा करिब ५ वर्षपछि पूरै भत्काएर बनाउने योजना अघि सारियो । मन्दिर भत्काइए पनि नियमित पूजा रोकिएको छैन । २०७२ असारबाट पुनर्निर्माण थालिएको थियो । आगामी असोजसम्म भक्तजनले मन्दिरभित्रै पूजा गर्ने व्यवस्था मिलाउने लक्ष्यसाथ काम भइरहेको समिति संयोजक नरेन्द्रबाबु श्रेष्ठ बताउँछन् । ‘काम धमाधम भइरहेको छ,’ उनले भने, ‘लक्ष्यअनुसारै हामी असोजमा पूरा गरिसक्छौं ।’

पुनर्निर्मित मन्दिरको छानामा सुनको जलप लगाइएको छ । पुनर्निर्माणमा हालसम्म १० करोडभन्दा बढी खर्च भइसकेको छ । भक्तजनबाटै झन्डै ७ करोड रुपैयाँ संकलन भएको संयोजक श्रेष्ठले बताए । मन्दिर पुनर्निर्माण सकिएसँगै गुरुयोजना बनाएर अन्य भौतिक संरचना निर्माणका काम गर्ने सहमति छ । ‘अहिले तल्लो छानामा राख्ने तामाको काम गरिरहेका छौं,’ श्रेष्ठले भने, ‘जीर्णोद्घारको ९५ प्रतिशत काम सकियो ।’

फेरिएको स्वरूप
कुनै बेला मनकामना पुग्न उकालो चढ्नुको विकल्प थिएन । तर, केबुलकार निर्माणसँगै यात्रा सहज हुन पुग्यो, दर्शनार्थी पनि बढे । १७ औं शताब्दीदेखिको आस्था केन्द्र अहिले थप परिवर्तन हुँदै छ । पुरातात्त्विक मन्दिर धमाधम पुनर्निर्माण भइरहेको छ । २०४६ सालको राजनीतिक परिवर्तनपछि यहाँ आउने भक्तजनको संख्या बढेको स्थानीय दिनेश जोशी बताउँछन् । ‘दर्शनार्थी बढ्न सुरु भएको ०४२/४३ तिरबाट जस्तो लाग्छ, जब पृथ्वीराजमार्ग सञ्चालन भयो,’ उनले भने, ‘आँबुखैरेनीसम्म गाडीमा आउने भक्तजन त्यहाँबाट ३ घण्टा हिँडेर आउँथे ।’ जोशीका अनुसार २०४६ को जनआन्दोलनपछि भने वार्षिक ५/६ लाखसम्म आउन थाले । अहिले १० लाखसम्म आउँछन् ।

२०५५ मा केबुलकार बनेपछि यहाँ अर्कै खाले चहलपहल सुरु भो । आँबुखैरेनीबाट हिँडेर जानेहरू स्वात्तै घटे । त्यहाँको होटल व्यवसाय विस्थापितै भयो । बनौती, डाँडागाउँ, ढाँडवारी र मन्दिर परिसरको पुरानो बजार प्रभावित भए । ‘समग्रमा भन्नुपर्दा एकातिर विस्थापित र अर्कोतिर स्थापित भयो,’ स्थानीय नरेन्द्रबाबु श्रेष्ठ भन्छन् । मन्दिर पुग्नकै लागि यति बेला ९ वटा बाटा छन् ।

‘केबुलकार चल्नुअघि बुढापाकालाई मन्दिर पुग्न सहज थिएन,’ स्थानीय केशर आले भन्छन्, ‘अहिले कति केबुलकारमा जानु भनेर हिँडेर जाने पनि छन् ।’ यहाँको बजार व्यवस्थापनका लागि स्थानीयले २०५७ मा समिति गठन गरे । तत्कालीन समयमा उक्त समितिले केबुलकारबाट मन्दिरसम्म पुग्ने बाटो ४ मिटर हुनुपर्ने मापदण्ड बनायो । बाटो आसपास तत्कालीन समयमा २८ घर थिए । झन्डै २ दशकपछि ६८ घर बनिसकेका छन् । पुजारी गाउँले परिचित उक्त ठाउँ अहिले बजार बनेको छ । ‘त्यो बेला सबै खाली जमिन थिए । अहिले सबै घरले भरिएका छन्,’ जोशीले भने, ‘यही ठाउँको मात्र कुरा गर्दा ३२ वटा त होटल नै खुले । प्रत्येक घर फूलमाला अनि पूजा सामान बिक्रीको थलो भएको छ ।’

मनकामना क्षेत्रमा फूलमाला र पूजा सामग्री मात्रै होइन, खाना र खाजाका होटलले पनि राम्रो व्यापार गरिरहेका छन् । आसपासका गाउँलेका लागि कृषि उपज बिक्रीको राम्रो थलो भएको छ । स्थानीय उत्पादनले नपुगेर उपभोग्य सामान बाहिरबाट पनि ल्याइन्छ । धेरैले रोजगारी पाएका छन् । यो वर्ष मात्र २ करोड ५० लाखको सुन्तला मनकामनाबाटै बिक्री भएको कृषकहरूको अनुमान छ । झन्डै १ करोडको सुन्तला मनकामनाकै बजारबाट बिक्री भयो ।

सहिद लखन थापा गाउँपालिकाबाट सञ्चालित मुख्य योजनामा मनकामना मन्दिर पहिलो नम्बरमा पर्छ । जनप्रतिनिधिले यस क्षेत्रको विकासका लागि थुप्रै योजना अघि सारेका छन् । मंसिरमा लाग्ने गुठी पञ्चमी मेलामा गाउँपालिकाभरि सार्वजनिक बिदा दिने निर्णय गरिएको छ । गाउँपालिका अध्यक्ष रमेश थापा भन्छन्, ‘हाम्रा धेरै योजना मनकामना क्षेत्रकै लागि निर्धारण गरेका छौं ।’
कान्तिपुर