११ बैशाख २०८१, मंगलवार
Follow Us

एनआरएनको ध्यान नेपालमा कसरी लगानी भित्र्याउने भन्नेमै केन्द्रित छ: डा. बद्री केसी, महासचिव

नेपालब्रिटेन डट कम्
२४ जेष्ठ २०७५, बिहीबार ०७:४६

गैरआवासीय नेपाली संघ अहिले विज्ञ सम्मेलन, युरोप क्षेत्रिय बैठक र विधान अधिवेशनको तयारीमा लागेको छ । यसै सन्दर्भमा संघका
महासचिव डा बद्री केसीसँग गरिएको कुराकानी ।

– संस्थागत विकास के कसरी अघि बढीरहेको छ ?
वास्तवमा अहिले हामी विश्वका लगभग ८० वटा देशमा पुगिसकेका छौँ । नेपालीहरु पुगेका वा भनौं अलि धेरै भएका देशहरुमा सबै ठाउँमा हाम्रो उपस्थिती रहेको छ र नेपालीहरु अलि कम पुगेको भनेको दक्षिण अमेरिकी मुलकहरुमा मात्रै हो । हाम्रो अहिलेको मुख्य जोड भनेको संख्यात्मक विकासलाई भन्दा पनि गुणात्मक विकासलाई ध्यान दिनु पनि हो । र यही विषयमा गम्भीर रुपमा हामी लागेका पनि छौँ । जस्तै ८० वटा देशमा राष्ट्रिय समन्वय समिति भएपनि ती सबैले हाम्रो ग्लोबल सम्मेलनमा भाग लिन सकेनन् करीब १७ वटा देशमा रहेका समितिहरुले राष्ट्रिय महाअधिवेशन सकेर अन्तर्राष्ट्रिय महाधिवेशनमा भाग लिन सकेनन् त्यसैले पनि ती देशहरुलाई पनि सक्रिय बनाउने लक्ष्य हाम्रो छ । त्यही अनुरुप नै हामी गुणात्मक विकासका लागि काम गरिरहेका छौँ ।

– सदस्यता वृद्धिका लागि के–कस्ता कदम चालिएका छन् ?
अहिले मैले भन्नुपर्दा यतिबेला हाम्रो सदस्यता पनि निकै न्यून छ । लाखौँ नेपाली रहेको देशमा पनि सदस्यता लिनेको संख्या भने २ ÷३ हजारको हाराहारीमा रहेको छ । ५० औँ लाखको संख्यामा नेपाली बाहिर रहेका छन् तर सदस्यता लिनेको संख्या ७० हजारको संख्यामा मात्रै रहेका छन् । त्यसैले पनि अबको योजनामा सदस्यतालाई वृद्धि गर्न केन्द्रबाटै सदस्यता र आईडी कार्ड पनि दिने तयारी छ । र म के पनि जानकारी गराउन चाहन्छु भने अब आइडी कार्ड दिँदा पनि त्यो कार्डबाट केही सहुलियत र सुविधा लिन सकिने गरी व्यवस्था गर्ने भन्ने विषयमा हामीले छलफल गरिरहेका छौँ । जस्तै कार्ड भएकालाई ट्राभल गर्दा केही प्रतिशत छुट दिने लगायतका विषयमा हामीले गृहकार्य थालिसकेका छौँ जसबाट हाम्रो ग्लाबल आईडी कार्डको अभियान सफल हुन्छ भन्नेका हामी विश्वस्त छौँ । तर सका लागि विभिन्न देशमा भएका गैरआवसीय नेपालीले निर्धारित प्रक्रिया बमोजिम आफ्नो सदस्यता दर्ता गर्नु जरुरी छ । तसर्थ म उहाँहरुलाई पनि आग्रह गर्न चाहन्छ कि, सदस्यता दर्ता गराएर आईडी कार्ड लिनुस् र हाम्रो यो अभियानमा सहयोग गर्नुहोस् ।

– राष्ट्रिय समितिहरुको व्यवस्थापन र अन्य राष्ट्रिय समिति थप्नका लागि कस्तो काम भइरहेको छ ?
नयाँ राष्ट्रिय समिति थप्नुभन्दा पनि भइरहेका समितिलाई सक्रिय बनाउनेमा हामीले जोड दिइरहेका छौँ । जस्तै अफ्रिकामा ४ ÷ ५ वटा राष्ट्रिय समितिहरु गठन भएका थिए तर तिनीहरु सक्रिय छैनन् । कंगो, साउथ सुडान लिबिया, ब्रुनाई, ताइवान, क्याम्बोडिया लगायतमा समितिहरु सक्रिय छैनन् । चीनमा नै आन्तरिक कारणले हामी महाधिवेशन गराउने तयारीमा छौँ । यूरोपेली मुलुकमै पनि साइप्रस, बलगेरिया, ग्रिस, हंगेरी लगायतका देशमा पनि महाधिवेशन हुन सकेको छैन । तसर्थ अहिलेको मुख्य जोड त यिनीहरुलाई सक्रिय बनाउने भन्ने नै हो । र देशै थप्ने भन्नेमा चाहिँ नेपालीहरु रहेका ब्राजिल, चिली लगायतका देशमा एक पटक हाम्रा पहुँच कायम भएको थियो तर पछि त्यहाँ गठित समिति सक्रिय छैनन् त्यहाँ हामीले ध्यान दिनुपर्छ भनेर गृहकार्य थालेका छौँ र दक्षिण अफ्रिकी र दक्षिण अमेरिकी मुलुकहरुमा पनि राष्ट्रिय समिति विस्तार गर्ने हाम्रो योजना छ ।

– राष्ट्रिय समितिहरुलाई नीति तथा कार्यक्रम दिन नसकेको भन्ने गुनासो छ नि ?
वास्तवमा बुझनुपर्ने कुरा के हो भने हाम्रो केन्द्रको नीति तथा कार्यक्रम जे छ त्यही नै राष्ट्रिय समितिको पनि नीति तथा कार्यक्रम हो । मेघा प्रोजेक्ट मात्रै होइन, उज्यालो नेपालको प्रोजेक्ट, टेक्निकल स्कूलको, हरेक राष्ट्रिय समन्वय समितिमा भाषा–संस्कृतिका कार्यक्रमहरु पनि भइरहेका छन् । अब सबै समितिले काम गर्न सक्छन् भन्ने होइन, त्यो उहाँहरुको क्षमतामा भर पर्ने कुरा हो । कुनैले केन्द्रका नीति कार्यक्रममा बढी योगदान दिएका छन् त कुनैले लोकल लेभलमै भएपनि आ–आफ्ना कामहरु सञ्चालन गरेर योगदान दिइरहेका छन् । तसर्थ नीति कार्यक्रम नदिएको भन्ने भन्दा पनि आफ्नो समितिबाट त्यहाँ रहेका नेपालीका लागि के गर्न सकिन्छ त्यो योजना विस्तार गर्न सक्नुपर्छ ।

– विज्ञ सम्मेलन गर्दै हुनुहुन्छ, सम्मेलन किन गर्न लाग्नुभएको हो ?
गैरआवासीय नेपाली संघले आगामी अक्टोबरमा विज्ञ सम्मेलनको तयारी एवं गृहकार्य गरिरहेको छ । अहिलेसम्म गैरआवासीय नेपाली संघको पहलमा नेपालमा पूँजी एवं लगानी भित्र्याउने भन्नेमै हाम्रो ध्यान केन्द्रित थियो तर अब भने विदेशमा रहेका नेपालीहरुको ज्ञान सीपलाई नेपालको विकास एवं समृद्धिका लागि प्रयोगमा ल्याउन पर्ने रैछ भन्ने आवश्यकता बोध भएरै पनि नेपालीहरुको ज्ञान सीपको प्रयोगका लागि पहल गर्नका लागि भनेर संस्थागत रुपमा हामीले पहल सुरु गरेका हौँ ।

– विधानसभा पनि गर्दै हुनुहुन्छ ? त्यसको आवश्कता किन पर्यो ?
गैरआवासीय नेपाली संघको संरचनामा समय–सापेक्ष सुधार गर्न, निर्वाचनलाई व्यवस्थित बनाउन तथा संघको कार्य–प्रणालीलाई अझ चुस्त बनाउन विधानमा व्यापक संशोधन गर्नुपर्ने आवश्यकता महसुस भएकाले विधानसभा समेत आयोजना गर्न लागेका हौँ । सो विधानसभामा अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी एवं सदस्य तथा राष्ट्रिय समन्वय परिषद्का प्रतिनिधि एवं संघका संरक्षक, सल्लाहाकार तथा मानार्थ सदस्यहरुले भाग लिनेछन् । यसअघि ग्लोबल सम्मेलनमै यो काम गरिन्थ्यो तर त्यो खासै प्रभावकारी हुन सकेन । किनपनि भने त्यो बेला निर्वाचन पनि हुने भएकाले सबैले एकमुष्ट ध्यान निर्वाचनमै जाने हुन्छ, जसका कारण विधानको विषय ओझेलमा पर्छ, त्यसैले पनि यसपालि भने हामीले छुट्टै विधानसभाको मात्रै परिकल्पना गरेका हौँ ताकी प्रभावकारी होस् । रअर्को कुरा भनेको हाम्रो विधान भनेको हामीले मात्र नभई नेपाल सरकारको परराष्ट्र मन्त्रालयले पनि प्रमाणीकरण गरेपछि मात्रै हामीले लागू गर्न पाउँछौँ । त्यसकारणले पनि अन्तर्राष्ट्रिय सम्मेलनका समय पारि विधान संशोधन गरेपनि त्यसमा संशोधनको विषयमा छलफल गर्न अनुकुल समय पनि नहुने महसुस गरी हामीले यो पटक चाहिँ अक्टोबरमै संशोधनका विषयमा व्यापक छलफल गर्ने भनेका हौँ । ताकी भविष्यमा संस्थालाई अघि बढाउन सहज होस् भनेर पनि विधानसभा गर्न लागेका हौँ ।

– राष्ट्रिय समितिहरुमा देखिएका विवाद व्यवस्थापन कसरी गर्न सकिन्छ ?
वास्तवमा अहिले हेर्ने हो भने कुनै पनि समितिमा विवाद छैन, विवाद कहिले हुन्छ भन्दा निर्वाचनका बेलामा । हो, अब हामीले गर्नुपर्ने काम भनेको अहिले विवाद नभएको समयमा हो । कुन ठाउँमा किन विवाद भयो भनेर खोज्ने बेला अहिले हो । अहिले हाम्रो अध्ययन अनुसार भन्ने हो भने, निर्वाचनका बेलामा निर्वाचन प्रक्रिया, जस्तै कतै इ –भोटिङको व्यवस्था हुन्छ, कतै पेपर भोटिङ नै हुन्छ , विशेषत इ भोटिङ भएका ठाउँमा पनि विवाद आउने गरेको देखियो । अब यी सबै कुरालाई समाधान गर्नमा लागि नै भनेर हामीले विधानसभाको परिकल्पना गरेका हौँ । भोलिका दिनमा विवाद सिर्जना हुने कुनै अवस्था नआओस् भनेर विधानसभामै हामी व्यापक छलफल गछौँ । र सबैका लागि स्वीकार्य विधी प्रक्रियालाई अघि बढाउँछौँ । खासमा विधानसभाको आवश्यकता पनि यसैको लागि हो ।

– पछिल्लो समय संस्थामा के–कस्ता काम भइरहेका छन् ?
अहिले १० अर्बको लगानी नेपालमा भित्र्याउने योजनाअनुसार काम भइरहेको छ । जसमा नेपालमा लगानी गर्न चाहने साना तथा ठूला लगानीकर्ता एकै ठाउँमा उभिन सक्छन् त्यसको धेरै काम पनि अघि बढेको छ र हामी यसकै गृहकार्यमा छौँ । अर्को भनेको हामीले अक्टोबरमा गर्ने भनेको विज्ञ सम्मेलनको तयारी स्वरुप नै विभिन्न मुलुकमा रहेका विज्ञ पहिचान गर्नका लागि विभिन्न सम्मेलनहरुको आयोजना गरिरहेका छौँ । जस्तै सम्मेलनको तयारीका लागि अमेरिकामा आगामी जुनमा, युरोपको लग्जेम्वर्ग जुलाईमा, एशियाको थाईल्याण्ड लगायतका अन्य क्षेत्रहरुमा तयारी सम्मेलनहरुको आयोजना गर्न लागेका छौँ । साथै आन्तरिक तयारी, डायस्पोराका विज्ञहरुसँग छलफल गरी समय लिने काम भइरहेको छ, भने विदेशबाट ल्याउने विज्ञ छनोट, सम्मेलनमा छलफल गर्ने विषयबस्तुलाई अन्तिम रुप दिने काम पनि भइरहेको छ । समग्रमा हामी अहिले आन्तरिक तयारी र गृहकार्यमा जुटेका छौँ ।