२५ बैशाख २०८१, मंगलवार
Follow Us

रसुवा पहिरोमा मृत्यु हुनेको संख्या आठ पुग्यो

नेपालब्रिटेन संवाददाता
१० श्रावण २०७५, बिहीबार १६:०२

रसुवा । रसुवाको गोसाइकुण्ड गाँउपालिका ३ को टिमुरे बजारमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या आठ पुगेको छ । चीनसँगको उत्तरी नाका रसुवागढी नजिकैको टिमुरे बजारमा बुधबार राति साढे बाह्र बजेतिर करिव पाँच सय मिटरमाथिबाट खसेको पहिरोले घर र होटल बगाउँदा आठ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सिन्धुपाल्चोक भोटेकोशी गाँउपालिकाका श्याम तामाङ, मंगले तामाङ, बिक्रम नेवार, रमेश खडका, रसुवाको गोसाइकुण्ड गाउँपालिका १ का मिङमल गुम्बुु तामाङ र कामी घले रहेका छन् । त्यसैगरी नुवाकोटका रमेश र शर्मिलाको पनि सनाखत भएको छ । पहिरोमा परी बेपत्ता भएका एक जनाको खोजी जारी छ ।

पहिरोले एक होटल, पाँच वटा ट्रक र कन्टेनर समेत पुरेको छ भने दुई घर र अस्थायी प्रहरी पोष्ट समेत बगाएको छ । पहिरोमा परेका १२ जनाको उद्धार गरिएको छ । ती मध्ये ९ जना उपचारपछि घर फर्किएका छन् भने बाँकीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।