१८ बैशाख २०८१, मंगलवार
Follow Us

नेपाली मेलाको तयारी पुरा – तमुधिं यूके

नेपालब्रिटेन डट कम्
२ भाद्र २०७५, शनिबार २३:०३

लण्डन । बेलायतमा हरेक वर्ष आयोजना हुंदै आएको नेपाली मेला यसपटक अगस्ट २६ तारिख आइतबारका दिन हुंदैछ । लण्डनको केम्पटन पार्क रेस कोर्समा आयोजना हुने दशौं नेपाली मेलाको तयारी पूरा भएको आयोजक तमु धिले जनाएको छ ।

शनिबार एक पत्रकार सम्मेलन गरेर तमु धिं यूकेले मेलाको तयारीबारे जानकारी गराउंदै सहभागिताका लागि बेलायतस्थित नेपाली समुदायलाई आव्हान समेत गरेको छ ।

पत्रकार सम्मेलनमा तमु धिं यूकेका अध्यक्ष ज्ञाम गुरुङले नेपाली संस्कृति, कला र पहिचानको संरक्षण तथा प्रबद्र्धन गर्ने मेलाको लक्ष्य रहेको भन्दै हरेक वर्ष मेलालाई सुधार र व्यापक बनाउंदै लगिएको जनाए ।
तमु धिं यूके आयोजक रहेपनि मेला बेलायतका सबै नेपालीको साझा हो भन्दै उनले मेलामा सहभागी बन्न बेलायतबासी सबै नेपालीहरुलाई आव्हान गरे ।

दशौं नेपाली मेलाका संयोजक तथा तमु धिं यूकेका उपाध्यक्ष गुरुङले पावरपोइन्ट प्रिजेन्टेसन गर्दै मेलाको सम्बन्धमा विविध जानकारीहरु दिए ।

मेलाको तयारीका लागि गठित ६५ सदस्यीय आयोजक समिति विगत ३ महिनादेखि मेलाको तयारीमा अहोरात्र खटिएको बताउंदैै उनले अब मेलाको लागि तयारी लगभग पूरा भएको बताए ।

१० हजार दर्शकको उपस्थिति अपेक्षा गरिएको मेलाको मुख्य आकर्षण विभिन्न संघसंस्था र समुहले प्रस्तुत गर्ने झांकी र नृत्य रहनेछन् । जसका लागि अहिलेसम्म २६ वटा संस्थाले नाम दर्ता गरिसकेका छन् ।

मौलिक कला तथा संस्कृति झल्काउने झांकी प्रस्तुतिमा सर्वोत्कृष्ट हुने समुहलाई लण्डन दूतावासको प्रायोजन रहेको एम्बासडर कप तथा एनआरएन यूकेको प्रायोजन रहेको एनआरएन यूके कपका साथै मेडल, प्रमाणपत्र र नगद ११ सय पाउण्डको पुरस्कार प्रदान गरिनेछ ।

दोस्रो हुने समुहलाई ७ सय पाउण्ड तथा तेस्रोलाई ५ सय पाउण्डसहित मेडल र प्रमाणपत्रले पुरस्कृत गरिनेछ ।

त्यस्तै, नृत्यततर्फ प्रथम , दोस्रो र तेस्रो हुनेलाई क्रमशः ५ सय, ४ सय र ३ सय नगदको पुरस्कार दिइनेछ । सान्तत्वनास्वरुप झांकीका ३ र नृत्यका २ समुहलाई २ २ सय पाउण्डको पुरस्कार पनि राखिएको छ ।

मेलामा युवा पुस्ताको सहभागिताका लागि समेत प्रोत्साहन गर्ने प्रयास गरिएको छ । जसअन्तर्गत २ घण्टाको समय युवाहरुलाई नै छुट्याइएको छ । सो समयमा युवाहरुले विशुद्ध नेपाली गीत तथा नृत्य लगायतका सांस्कृतिक प्रस्तुतिहरु देखाउनेछन् । युवाहरुमाझ लोकप्रिय दाजुभाई ब्याण्डले समेत प्रस्तुति गर्नेछ ।

पत्रकार सम्मेलनमा तमु धिं यूकेका पूर्व अध्यक्षहरु मे रिटायर्ड डमर घले, सुबाससिं गुरुङ र कमल गुरुङ, लण्डन ईकाईका पूर्व अध्यक्ष डेभिड गुरुङ लगायतले पनि मेलाको पृष्ठभुमि तथा लक्ष्य लगायतका विषयमा आफ्ना धारणाहरु राखेका थिए । आमा समुहकी महासचिव यशोधा गुरुङले मेलाका दिन आमा समुहले प्रवेशद्धार र अतिथी सत्कारको जिम्मेवारी सम्हाल्ने जनाउंदै आमा समुहले केहि कोष संकलन गरी तमु धिं यूकेको भान्सा कोठा निर्माणको लागि सहयोग गर्ने बताइन् ।

लण्डनस्थित नेपाली दूतावासको सहकार्य तथा एनआरएन यूकेसहित बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाको साथ, सहयोगमा आयोजना हुने मेलाको लागि दूतावासको पहलमा बेलायतस्थित विभिन्न २० देशका कुटनितिज्ञहरुलाई अतिथीका रुपमा निमन्त्रणा गरिएको छ ।

बेलायतमा नेपालीहरुको बाक्लो बसोबास रहेका क्षेत्रका स्थानीय सांसद, मेयर र काउन्सिलर पनि आमन्त्रित छन् । बेलायत सरकारका रक्षा मन्त्री, गोर्खाली चेली भनेर चिनिने बेलायती अभिनेत्री जोआना लुम्ले लगायतका भिआइपीहरुलाई समेत निम्त्याइएको तर अहिलेसम्म उनीहरुको सहभागिता कन्फर्म भइनसकेको जानकारी पत्रकार सम्मेलनमा दिइयो ।
मेलामा प्रस्तुत हुने झांकी तथा नृत्यहरुमा उत्कृष्ट चयन गर्ने जिम्मा पाएको निर्णायक मण्डलका संयोजक एकेन्द्र गुरुङले हरेक प्रस्तुतिको उचित मुल्यांकन हुने गरी निर्णयकहरुले काम गर्ने बताए ।

तमु धिं यूकेका महासचिव कृष्ण गुरुङले सञ्चालन गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष नन्दजंग गुरुङले स्वागत मन्तव्य दिएका थिए ।
कार्यक्रममा मेलामा प्रस्तुति गर्न तथा सञ्चालकको भुमिका निभाउन नेपालबाट आएकी नायिका तथा पत्रकार पुनम गुरुङ र उपस्थित पत्रकारहरुलाई अध्यक्ष ज्ञाम गुरुङ र संयोजक हितकाजी गुरुङले खादा ओढाएर सम्मान गरेका थिए । पत्रकार सममेलनको संयोजन तमु धिं यूकेका मिडिया संयोजक रोहित गुरुङले गरेका थिए ।

पत्रकार सम्मेलनमा तमु धिं यूकेका संस्थापक अध्यक्ष मीनबहादुर गुरुङ, आमा समुहकी अध्यक्ष प्रेमा गुरुङ, कोषाध्यक्ष दिपक गुरुङ, कुमार गुरुङ सहित वर्तमान कार्यसमितिका विभिन्न पदाधिकारी, सल्लाहकार तथा अन्य विभिन्न संघसंस्थाका प्रतिनिधी समेतको उपस्थिति थियो ।

कार्यक्रममा पत्रकारले राखेका विभिन्न जिज्ञासामा तमु धि यूकेका अध्यक्ष ज्ञाम गुरुङ र मेला संयोजक तथा तमु धि यूके उपाध्यक्ष हितकाजी गुरुङले जवाफ दिएका थिए ।