१८ बैशाख २०८१, मंगलवार
Follow Us

‘अस्पताल बन्द छ, तपाईको शल्यक्रिया हुँदैन’

नेपालब्रिटेन संवाददाता
१७ भाद्र २०७५, आईतवार १४:२७

काठमाडौं । चिकित्सकहरुले आकस्मिक बाहेकका सबै सेवा बन्द गर्दा बिरामीलाई समस्या परेको छ । देशभरीका सबै अस्पताल बन्द गराएका चिकित्सकका कारण आज धेरै बिरामीले उपचार नै पाएनन् ।

कर्णाली घर भएका लक्ष्मीप्रसाद न्यौपाने ४० बर्षीया आफ्नी श्रीमती कमला न्यौपानेलाई लिएर भदौ १४ गते त्रिवि शिक्षण अस्पताल महाराजगंज आए । पाठेघरको समस्या भएपछि अस्पताल भर्ना भएकी कमलाको पाठेघरको शल्यक्रिया आइतबार गर्ने समय चिकित्सकले तय गरेका थिए । तर जब उनी शल्यक्रिया गराउन भन्दै शल्यक्रिया कक्षमा गईन्, चिकित्सकले ‘अस्पताल बन्द छ, तपाईको शल्यक्रिया हुँदैन’ भन्दै फकाईदिए ।

नवलपरासीका रुद्रबहादुर धर्तीले पनि मिर्गौलामा समस्या भएर श्रीमती रुकुमाया घर्तीलाई आईतबार बिहानै अस्पताल लिएर आए । मिर्गौला फेल भएर उपचार गराउन त्रिवि शिक्षण अस्पताल नै आएकी रुकुमायालाई पनि चिकित्सकलले अस्पताल बन्द छ भन्दै घर पठाए । उपचार गराउने आशामा श्रीमतीलाई काठमाडौं ल्याएका रुद्रबहादुर अब कसरी श्रीमतीको उपचार गराउने भन्दै चिन्तित छन् ।

चिकित्सकहरुले आईतबार देशभरीका अस्पतालमा आकस्मिक बाहेकका अन्य सेवा छाड्दा बिरामीलाई समस्या परेको हो । आईतबार आस्कमिक बाहेकका सेवा छाडेका चिकित्सकले सोमबार प्रशासनिक कार्य बन्द गर्ने, मंगलबार बिरामी भर्ना नै नलिने, बुधबार शल्यक्रिया नगर्ने र बिहीबार ल्याव, एक्सरे सेवा बन्द गर्ने घोषण गरेका छन् ।

यस्तै शुक्रबारसम्म पनि सरकारले माग पुरा गर्न बेवास्ता गरे आकस्मिक बाहेकका सबै सेवा छाड्ने चेतावनी दिएका छन् । चिकित्सक डा. केदारनरसिंह केसीले राज्यले पेशाको सम्मान नगरे आफूहरुले पेशा नै छाड्ने अवस्था आउन सक्ने भन्दै यो कानुन लागु भए स्वास्थ्यकर्मीले सेवा दिनै नसक्ने बताए ।

मुलुकी संहितामा राखिएको प्रावधानको विरोध गर्दै आन्दोलनमा उत्रिएका चिकित्सकहरुका कारण टाढा टाढाबाट उपचार गराउन अस्पताल आउने बिरामीलाई समस्या परेको छ । नयाँ कानुनले चिकित्सकलाई समस्या पर्नसक्छ तर बिरामीलाई अलपत्र पारेर गरिने आन्दोलनलाई जायज मान्न चाहीँ सकिदैंन ।