१५ चैत्र २०८०, बिहीबार
Follow Us

निर्मला हत्या प्रकरणः विष्ट रिहा, बम दिदी-बहिनी पनि छुटे

नेपालब्रिटेन संवाददाता
२६ भाद्र २०७५, मंगलवार १४:४४

कन्चनपुर । कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्याको आरोपमा पक्राउ गरिएका दिलीपसिंह विष्ट रिहा भएका छन् । विष्टको डीएन परीक्षणमा नमिलेपछि मंगलबार उनलाई अभिभावकको जिम्मा लगाइएको सरकारी वकिलको कार्यालय कन्चनपुरले जनाएको छ ।

निर्मलाको बलात्कार र हत्याका एकमात्र अभियुक्त भन्दै विष्टलाई प्रहरीले गत भदौ ४ गते पत्रकार सम्मलेनमार्फत् सार्वजनिक गरेको थियो । विष्टका आफन्त र स्थानीयले भने उनी मानसिकरुपमा अस्वस्थ रहेको बताउँदै उनी दोषी हुनै नसक्ने बताउँदै आएका थिए ।

सरकारी वकिलको कार्यालय कन्चनपुरले उनको स्वास्थ्य अवस्था चेकजाँच र डीएन परीक्षणका लागि उनलाई काठमाडौं पठाएको थियो । गत शुक्रबार विष्टलाई थप अनुसन्धानका लागि भन्दै जिल्ला अदालत कन्चनपुरले पाँच दिनको म्याद थप गरेको थियो । विष्टको म्याद मंगलबारै सकिँदै थियो ।

यस्तै, निर्मलाकी साथी रोशनी र उनकी दिदी बबिता बम पनि मंगलबारै रिहा भएका छन् । बबितालाई ३० हजार रुपैयाँ धरौटीमा छाडिएको छ भने रोशनीलाई बिनाधरौटी अभिभावकको जिम्मा लगाइएको छ ।