१८ बैशाख २०८१, मंगलवार
Follow Us

एसिड प्रहारबाट घाइते दिदीबहिनीको अवस्था नाजुक

नेपालब्रिटेन संवाददाता
३० भाद्र २०७५, शनिबार १२:५७

काठमाडौं । महिलामाथिका हिंसाका घटना बढ्दै गएका बेला रौतहटको चन्द्रपुर नगरपालिका–६ मा दुई किशोरी दिदीबहिनीमाथि एसिड आक्रमण भएको छ । उनीहरुको अहिले काठमाडौंस्थित कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । एसिड आक्रमणबाट घाइते भएकाहरुको अवस्था गम्भीर छ ।

यही भदौ २६ गते रौतहटको चन्द्रपुर–६ का दिदीबहिनी १८ वर्षीया सम्झना दास र १५ वर्षीया सुस्मितामाथि घरमै सुतिरहेको अवस्थामा एसिड आक्रमण भएको हो । राति १२ बजे अपरिचित व्यक्तिले उनीहरु सुतिरहेको ठाउँमै गएर एसिड प्रहार गरी फरार भए । दुई दिदीबहिनी निकै रोए, कराए । घरमा बाबु नभएको समयमा भएको घटनाले उनीहरुकी आमा पनि निकै आत्तिइन् ।

आमाले घरबाहिर रहेका उनीहरुका बाबु जादरलाल दासलाई बोलाएपछि चन्द्रपुर अस्पतालमा उपचारका लागि लगियो । तर, किशोरीहरुको अवस्था निकै गम्भीर भएपछि अस्पतालले काठमाडौं लैजान सुझाव दियो । अहिले दुवै किशोरीको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । एसिड आक्रमणबाट सम्झनाका दुवै हात, अनुहारसहित शरीरको ३५ प्रतिशत भाग जलेको छ । सुस्मिताको भने एउटा हात जलेको छ ।

आर्थिक अवस्था कमजोर भएका जादरलालको परिवारमा सम्झना, सुस्मिता र अर्की चार महिनाकी एक छोरी पनि छन् । दोस्रो विवाह गरेका जादरलाल कान्छी श्रीमतीसँग बस्दै आएका थिए । कसले–किन एसिड हानेको भन्ने अनुमान नै लगाउन नसकेको जादरलालले बताए । घटनाबारे छानबिन गरी दोषीमाथि कारबाहीको मागसमेत उनले गरेका छन् ।

कीर्तिपुर अस्पतालका चिकित्सक डा. सुरेन्द्र बस्नेतको टोलीले किशोरीहरुको उपचार गरिरहेको छ । तर, आर्थिक अवस्था कमजोर रहेका उनीहरुको उपचारमा समस्या आउने देखिएको छ ।
प्रज्ञा तिमल्सिना