१५ चैत्र २०८०, बिहीबार
Follow Us

उपचार खर्च वितरणप्रति पूर्वमन्त्री गगन थापाको विरोध

नेपालब्रिटेन संवाददाता
९ पुष २०७५, सोमबार १४:१५

काठमाडौं । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गगनकुमार थापाले जनस्वास्थ्य विधेयक, २०७५ जारी भएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपचार खर्च वितरण गरेकामा विरोध जनाउनुभएको छ ।

सो विधेयकमा विशिष्ट व्यक्तित्वले स्वदेशमा नै उपचार गर्नुपर्ने तथा मन्त्रालयले उपचार खर्च वितरणसमेत नगर्ने प्रावधान रहेको छ । शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकमा उहाँले विधेयक जारी भएपछि मन्त्रालयबाट रु चार करोड वितरण भइसकेको जानकारी दिँदै नयाँ ऐन ल्याउनुको के अर्थ रह्यो भन्ने प्रश्न गर्नुभयो ।

पूर्वमन्त्री थापाले भन्नुभयो, “कुनकुन व्यक्तिले कुनकुन रोगका उपचार गर्न कति खर्च लिएका छन्, सार्वजनिक गर्नुपर्छ ।” उहाँले मन्त्रालयले तयार पारेको उपचार खर्च कार्यविधिलाई किन पालना गरिएन भन्नुभयो । नेता थापाले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा सहमति जुटाउने प्रयास भइराखेको जानकारी दिँदै एकपटक डा गोविन्द केसीसित विधेयकका बारेमा छलफल गरिने जानकारी दिनुभयो ।