१८ बैशाख २०८१, मंगलवार
Follow Us

राहदानी विधेयक २०७५ माथिको संशोधन प्रस्तावमा छलफल

नेपालब्रिटेन संवाददाता
२९ पुष २०७५, आईतवार १३:४२

काठमाडौं । राष्ट्रिय सभा विधायन समितिले राहदानी विधेयक २०७५ माथि संशोधन प्रस्ताव हाल्ने सदस्यहरुसँग छलफल गरेको छ । समितिको आजको बैठकमा संशोधनकर्तासँग विधेयक संशोधन गर्नु पर्नाका औचित्य पुष्टि गर्न धारणा माग गरिएको थियो । बैठकमा विधेयकका बारेमा सांसदहरुले राख्नुभएको जिज्ञासाको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जवाफ दिनुभएको थियो ।

सभापति परशुराम मेघी गुरुङले उक्त विधेयकमाथि केही दिनपछि समितिमा दफावार छलफल हुने जानकारी दिनुभयो । उक्त विधेयकमा खासगरी नेपाल सरकार वा अदालतको आदेशबाट विदेश जान रोक लगाएका व्यक्तिको हकमा राहदानीको अवस्था के हुने भन्ने विषयमा विभिन्न कोणबाट छलफल हुँदै आएको छ । अदालतबाट भ्रष्टाचार ठहरिएको तथा सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा चलिरहेकाको बारेमा के गर्ने भन्ने विषयमा पनि प्रस्ट पार्नुपर्ने आवश्यकता देखिएको छ ।

राहदानी तथा अध्यागमनसम्बन्धी कसुरको मुद्दा चलिरहेको व्यक्तिलाई रोक्ने कि नरोक्ने भन्ने जस्ता विषय छलफलमा आएको उहाँले जानकारी दिनुभयो । उक्त विधेयकमाथि तीन समूहमा १० जना सदस्यले १६ वटा संशोधन हाल्नुभएको छ । सदस्यबाट आएका संशोधन औचित्यका आधारमा विधेयकमा समावेश हुनेछ ।