१२ बैशाख २०८१, बुधबार
Follow Us

प्रदेश ३ को प्रदेशसभा बैठक बस्दै

sarusaru
२१ पुष २०७६, सोमबार ०४:४४

आर्थिक वर्ष ०७६/७७ को बजेट पारित गर्दै गत भदौ २४ बाट स्थगित प्रदेश ३ को प्रदेशसभा बैठक सोमबार दिउँसो ३ बजे बस्न लागेको हो ।

प्रदेश ३ को प्रदेशसभा सचिवालयले बिहान ११ बजे बस्ने कार्य व्यवस्था परामर्श समितिको बैठक बस्ने र त्यसले एजेन्डाहरू तय गर्ने जनाएको छ ।

प्रदेश ३ प्रदेशसभाको सबैभन्दा ठूलो दल नेकपाबीचमै प्रदेशको नाम र राजधानीलाई लिएर विमति छ । केही दिनअघि बसेको नेकपा सचिवालय बैठकले नाम ‘वाग्मती’ र राजधानी ‘हेटौंडा’ कायम गर्न निर्देशन दिए पनि पार्टी केन्द्रले हस्तक्षेप गरेको भन्दै नेताहरू रुष्ट छन् । खासगरी नामभन्दा पनि राजधानीको विषयमा नेकपा सांसदहरूको असहमति छ । आइतबार प्रदेशको नाम वाग्मती र स्थायी राजधानी हेटौंडा राख्न पार्टी सचिवालयले गरेको निर्णय अनुमोदन गराउन नेकपा प्रदेश ३ संसदीय दलको बैठक बसे पनि बिनानिष्कर्ष मंगलबारसम्मका लागि स्थगित भएको छ ।
प्रदेशको नाम र राजधानीबारे मतदान भएमा नेकपाको प्रस्ताव पारित हुनेछ । प्रदेश ३ को ११० सदस्यीय सभामा ८० सांसद् नेकपाका छन् । यो संख्या प्रदेशको नाम र राजधानीको प्रस्ताव पारितका लागि ७४ मत भए पुग्छ । प्रदेश ३ को प्रदेशसभामा कांग्रेसका २२, विवेकशील साझाको ३, नेपाल मजदुर किसान पार्टीको २, राप्रपा, राप्रपा संयुक्त र स्वतन्त्र १/१ सांसद् छन् ।