१२ बैशाख २०८१, बुधबार
Follow Us

घानामा अलपत्र परेका ३ नेपाली युवाको एनआरएनएद्वारा उद्दार

नेपालब्रिटेन डट कम्
१० फाल्गुन २०७६, शनिबार ०१:३२

घाना । घानामा अलपत्र परेका ३ जना नेपाली युवाको गैरआवासीय नेपाली संघ (एनआरएनए) घानाले उद्धार गरेको छ ।

काठमाडौंको गौशालास्थित राइज रिसोर्सेज म्यानपावरबाट एक अफ्रिकी तेल कम्पनीमा काम गर्नका लागि जनही १२ लाख बुझाएर एक महिनाअघि घाना पुगेर अलपत्र परेका रेशम श्रेष्ठ, सुमन भण्डारी र पशुपति खड्कालाई संघले सफल उद्धार गरेर सकुशल स्वदेश फर्काएको हो ।

संघले वैदेशिक रोजगारको विभिन्न प्रलोभन देखाएर अफ्रिकाका विभिन्न देशमा ल्याएर नेपाली अलपत्र पारेको समाचारहरू आइरहे पनि घानामा यस्तो समस्या देखिएको पहिलोपटक भएको जनाएको छ ।

‘हामीले घानामा यसरी बैदेशिक रोजगारी सम्बन्धी समस्या पहिलोपटक देख्यौं र जो कोही पनि यस्तो कार्यमा संलग्न भै पीडा दिनेहरुको घोर भर्त्सना गर्दछौँ । साथै यसरी जालझेलमा नपार्न र नपर्न पनि अनुरोध गर्दछौं । ’ एनआरएनए घानाले सुचनामा लेखेको छ ।

१५–२० वर्ष अघिदेखि घानामा नेपालीहरू प्रवेश गर्न थालेको पाइएको र हाल संघमा ४८ जना दर्ता रहेको पनि सघले बताएको छ । तीमध्ये कोही परिवारसहित तथा कोही विभिन्न निर्माण कम्पनी, होटल, रेष्टुरेण्ट तथा नीजि व्यवसाय गरेर बसेको पनि संघले उल्लेख गरेको छ ।

घाना एकदमै शान्त देश रहेको र घानियनहरु पनि अनुशासित र सहयोगी भएको बताउँदै संघले नेपाली दाजुभाइ दिदीबहिनीलाई बैद्यानिक बाटो भएर घाना आउन पनि अनुरोध गरेको छ ।

एनआरएनए घानाका कोषाध्यक्ष विकास सुवेदी, विशेष सल्लाहकार दिनेश कुमार पाण्डे, उपाध्यक्ष बालकृष्ण निरौला, पूर्वअध्यक्ष पदम राना, युवा संयोजक सुनित कुमार चौधरी, एनआरएनए आर्इसीसी सदस्यहरु, अफ्रिका संयोजक रोशन थापा र संघका पूर्वकेन्द्रीय कोषाध्यक्ष हिक्मत थापा, नेपाली राजदूतावास साउथ अफ्रिका र अध्यागमन विभाग घानाबाट उनीहरूको उद्धारका लागि सहयोग भएको संघले जनाएको छ ।

त्यस्तै संघले अलपत्र परेका ३ जना नेपालीको उद्दारमा सहयोग गर्ने विभिन्न व्यक्ति, संघसंस्था र पत्रकारहरुलाई धन्यावाद दिएको छ ।