१८ बैशाख २०८१, मंगलवार
Follow Us

राजदूत तानिए विवादमा, पञ्चायतमा पनि नभएको निर्णय

नेपालब्रिटेन डट कम्
१४ मंसिर २०७३, मंगलवार ०८:०३

लन्डन । पदभार ग्रहण गरेको दुई महिना नबित्दै लन्डनस्थित नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी विवादमा तानिएका छन् । उनको बेलायती महारानीलाई ओहोदाको प्रमाणपत्र (क्रेडेन्सियल) बुझाउने दिन दूतावासको कन्सुलर सेवा नै बन्द गर्ने निर्णयपछि उनको आलोचना भएको छ । कतिपय अग्रजले यसलाई पञ्चायतकालिन छनक दिने निर्णय समेत भनेका छन् ।

दूतावासले क्रेडेन्सियल बुझाउने दिन आगामी डिसेम्बर १ तारिख बिहीबार दूतावासबाट हुने पासपोर्ट, भिजा र कन्सुलर सेवा उपलव्ध नहुने सूचना टांसेको हो ।

२९ सेप्टेम्बर, ०१६ देखि पदभार ग्रहण गरेका राजदूत दुर्गा बहादुर सुवेदीले दुई महिनापछि ओहोदा प्रमाणपत्र बुझाउन लागेका हुन् । झण्डै अढाइ वर्षपछि दूतावासमा २० औं राजदूतका रुपमा सुवेदी आएका थिए ।

यसअघिका राजदूतको पालामा क्रेडेन्सियल बुझाउने दिन सेवा नै बन्द भएको थाहा नपाइएको यहांका पाका नेपाली बताउंछन् । ४० वर्षदेखि बेलायतमा रहेका एकजना व्यवसायीले आफूले यसअघि त्यस्तो कहिल्यै थाहा नभएको सुनाए । ‘कर्मचारी अभाव होलान् तर सेवा नै बन्द गर्दा सेवाग्राहीलाई अप्ठेरो पर्छ नि’, उनले भने । बेलायतका लागि नेपाली पूर्व राजदूतहरु मुरारीराज शर्मा र सुरेशचन्द्र चालिसेसंग काम गरेका एक कर्मचारीले उनीहरुको पालामा दूतावास नै बन्द नभएको स्मरण गरे ।

केही कर्मचारीबाहेक अफिस नै बन्द गरेर राजदूतसंग सम्पूर्ण कर्मचारी जान जरुरी नभएको ठान्छन् कतिपय बेलायतवासी नेपाली ।

त्यसदिन सबै डिप्लोम्याटिक स्टाफ बकिङहम प्यालेस जाने र स्थानीय कर्मचारी पनि त्यसै दिन हुने रिसेप्सनमा व्यस्त भएर सेवा बन्द गरिएको दूतावासका उपनियोग प्रमुख एवं प्रवक्ता शरदराज आरणले प्रष्टयाएका छन् । ‘सुरक्षाका हिसावले पनि सेवा बन्द गरिएको हो’, आरनले थपे ।

दूतावासमा राजदूत, मिलिट्री अट्याचीसहित ५ डिप्लोम्याट र ६ जना स्थानीय कर्मचारी कार्यरत छन् ।

राजदूत सुवेदीले लन्डन आए लगत्तै सार्वजनिक गरेका प्रतिवद्धता विपरित काम गर्न थालेपछि उनको कार्यकुशलतामाथि नै प्रश्न उठ्न थालेको छ । सार्वजनिक कार्यक्रममा गएर महत्वपूर्ण कार्यकालको समय नखर्चिने र सकेसम्म सानातिना कार्यक्रममा आफूलाई नबोलाउन आग्रह गरेका उनी अहिले सातापिच्छे संघसंस्थाका कार्यक्रममा सहभागी हुन थालेका छन् । आइतबारमात्र अल्डरसटमा भएको मन्दिर निर्माण सहयोगार्थ च्यारिटी छाडेर नृत्य प्रतियोगितामा राती अबेरसम्म बिताएपछि शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरले दुःखेसो पोखेको थियो ।

– इकान्तिपुरको सहयोगमा