२५ बैशाख २०८१, मंगलवार
Follow Us

कोरोनाबाट मृत्यु हुनेको संख्या १६ हजार नाघ्यो, बेलायतमा मर्नेको संख्या ३३५ पुग्यो

नेपालब्रिटेन संवाददाता
११ चैत्र २०७६, मंगलवार ०३:५८

लन्डन। विश्व स्वास्थ्य संगठनले (डब्ल्यूएचओ) ले महामारीको रूपमा लिएको कोरोना भाइरस अर्थात् कोभिड १९ को संक्रमणबाट ज्यान गुमाउनेको संख्या १६ हजार नाघेको छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार यो समाचार तयार पारिसक्दासम्म विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १६ हजार ५१० पुगेको छ ।

अहिलेसम्म विश्वभर ३ लाख ७८ हजार ८४२ सय जना कोरोनाबाट संक्रमित भएका छन् । सङ्क्रमितमध्ये १ लाख २ हजार ६४ निको भइससेका छन् । अहिले २ लाख ६० हजार २६८ जनामा कोरोना भाइरस सक्रिय देखिएको छ । तीमध्ये १२ हजार ६२ जना भने गम्भीर अवस्थामा छन् ।

एकैदिन १८ सय बढीको मृत्यु
सोमबार मात्रै विश्मा १ हजार ८६९ जनाको मृत्यु भएको छ भने ४१ हजार ३५३ जना नयाँ संक्रमित भेटिएका छन् । सोमबार कोरोना भाइरसबाट सबैभन्दा बढीको मृत्यु इटाली, स्पेन, अमेरिका र फ्रान्समा भएको थियो । इटालीमा ६ सय १, स्पेनमा ५ सय ३९, अमेरिकामा १४० र फ्रान्समा १८६ जनाको मृत्यु भएको थियो।

त्यस्तै जर्मनीमा २९, दक्षिण कोरियामा ७, स्वीजरल्याण्डमा २२, बेलायतमा ५४, नेदरल्याण्ड्समा ३४, अष्ट्रियामा ५, पोर्चुगलमा ९, टर्कीमा ७, डेनमार्कमा ११, फिलिपिन्समा ८ जनाको मृत्यु सोमबार भएको थियो।

कुन देशमा कतिको मृत्यु, कति संक्रमित

बेलायत
बेलायत कोरोना भाइरसका संक्रमण हुने देशको दशौँ नम्बरमा पर्छ । अहिलेसम्म बेलायतमा ६ हजार ६५० जनामा कोरोनाबाट संक्रमित भएका छन् । ३३५ जनाले ज्यान गुमाएका छन् । १३५ जना भने पूर्ण रूपमा निको भएका छन् ।

पछिल्लो २४ घण्टामा बेलायतमा ९६७ जनामा कोरोनाको संक्रमण भएको छ । ५४ जनाको मृत्यु । अहिले बेलायतमा ६ हजार १८० संक्रमित छन् । तीमध्ये २० जनाको अवस्था गम्भीर रहेको छ । गत डिसेम्बरको अन्तिमतिर चीनको वुहानबाट फैलिएको यो भाइरस अहिले विश्वका १ सय ९० भन्दा बढी मुलुकमा फैलिसकेको छ ।

इटाली
कोरोनाको उद्गम स्थल चीन भए तापनि पछिल्लो समय युरोपका इटाली, जर्मनी, स्पेन र बेलायतमा भाइरसको संक्रमण र मृतकको संख्या बढिरहेको छ । वर्ल्डो मिटर्स डट इन्फोका अनुसार कोरोना भाइरसबाट सबैभन्दा बढी इटालीमा मृत्यु भएको छ ।

अहिलेसम्म इटालीमा कोरोना भाइरसबाट ६ हजार ७७ जनाले ज्यान गुमाइसकेका छन् भने ६३ हजार ९२७ जना संक्रमित भएका छन् । संक्रमितमध्ये ७ हजार ४३२ जना पूर्ण रुपमा निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै इटालीमा ६०१ जनाको मृत्यु भएको छ भने ४ हजार ७८९ जना नयाँ संक्रमित भेटिएका छन् ।

अहिले इटालीमा ५० हजार ४१८ जना कोरोना संक्रमित छन् । तीमध्ये ३ हजार २०४ जनाको अवस्था गम्भीर रहेको छ । इटालीमा गत बुधबार ४७५, बिहीबार ४२७, शुक्रबार ६२७, शनिबार ७९३ र आइतबार ६५१ जनाको ज्यान गएको थियो ।

चीन
कोरोना भाइरसबाट इटालीपछि सबैभन्दा बढी चीनमा मृत्यु भएको छ । वर्ल्डो मिटर्स डट इन्फोका अनुसार चीन अहिलेसम्म ३ हजार २७० जनाको मृत्यु भएको छ । चीनमा अहिलेसम्म कुल ८१ हजार ९३ जनामा कोरोनाको संक्रमण देखिए पनि अहिले ५ हजार १२० जनामा मात्रै कोरोनाको संक्रमण छ । ७२ हजार ४४० भने पूर्ण रुपमा निको भइसकेका छन् ।

अमेरिका
कोरोना संक्रमित हुनेको तेस्रो नम्बरमा पर्छ अमेरिका, मृत्यु हुनेको संख्याको आधारमा हेर्ने हो भने अमेरिका छैटौँ नम्बरमा देखिन्छ । अहिलेसम्म अमेरिकामा कोरोना भाइरसबाट ५४५ जनाको ज्यान गएको छ भने ४३ हजार ५३७ जना संक्रमित भएका छन् । संक्रमितमध्ये २९५ जना पूर्ण रूपमा निको भएका छन् ।

पछिल्लो २४ घण्टामै अमेरिकामा १३२ जनाको ज्यान गएको छ भने ९ हजार ९७१ जना नयाँ संक्रमित भेटिएका छन् । अहिले अमेरिकामा ४२ हजार ६९७ संक्रमित छन् भने तीमध्ये १ हजार ४० जनाको अवस्था गम्भीर रहेको छ ।

स्पेन
कोरोना भाइरस संक्रमण हुने देशमध्ये चौथो नम्बरमा स्पेन पर्छ । मृतकको संख्याको आधारमा भने स्पेन तेस्रो नम्बरमा छ । अहिलेसम्म स्पेनमा कोरोना भाइरसबाट २ हजार ३११ जनाको ज्यान गएको छ । ३५ हजार १३६ जना संक्रमित भएका छन् । संक्रमितमध्ये ३ हजार ३५५ जना पूर्ण रूपमा निको भएका छन् ।

पछिल्लो २४ घण्टामा स्पेनमा ५३९ जनाको ज्यान गएको छ भने ६ हजार ३६८ जना नयाँ संक्रमित भेटिएका छन् । अहिले स्पेनमा २९ हजार ४७० संक्रमित छन्, तीमध्ये २ हजार ३५५ जनाको अवस्था गम्भीर रहेको छ ।

जर्मनी
कोरोना भाइरसका संक्रमण हुनेको पाँचौँ नम्बरमा जर्मनी पर्छ । तर अरू देशको तुलनामा मर्नेको संख्या भने निकै कम नै देखिन्छ । अहिलेसम्म जर्मनीमा कोरोना भाइरसबाट २९ हजार ५६ जना संक्रमित भएका छन् भने १२३ जनाको ज्यान गएको छ । संक्रमितमध्ये ४५३ जना पूर्ण रूपमा निको भएका छन् ।

पछिल्लो २४ घण्टामा जर्मनीमा कोरोनाका कारण २९ जनाको ज्यान गएको छ भने ४ हजार १८३ जना नयाँ संक्रमित भेटिएका छन् । अहिले जर्मनीमा २८ हजार ४८० संक्रमित छन् भने तीमध्ये २३ जनाको अवस्था गम्भीर रहेको छ ।

इरान
कोरोना भाइरसका संक्रमण हुनेको छटौँ नम्बरमा पर्छ इरान । तर मृत्यु हुनेमा भने चौथो नम्बरमा पर्छ । अहिलेसम्म इरानमा कोरोना भाइरसबाट १ हजार ८१२ जनाको ज्यान गएको छ । २३ हजार ४९ जना संक्रमित भएका छन् भने ८ हजार ३७६ जना पूर्ण रूपमा निको भएका छन् ।

फ्रान्स
कोरोना भाइरसका संक्रमण हुनेको सातौँ नम्बरमा पर्छ फ्रान्स । अहिलेसम्म फ्रान्स कोरोना भाइरसबाट ८६० जनाको ज्यान गएको छ । १९ हजार ८५६ जना संक्रमित भएका छन् भने २ हजार २ सय जना पूर्ण रूपमा निको भएका छन् ।

पछिल्लो २४ घण्टामा फ्रान्समा कोरोनाका कारण १८५ जनाको ज्यान गएको छ भने ३ हजार ८३८ जना नयाँ संक्रमित भेटिएका छन् । अहिले फ्रान्समा १६ हजार ७९६ संक्रमित छन् । तीमध्ये २ हजार ८२ जनाको अवस्था भने गम्भीर रहेको छ ।

दक्षिण कोरिया
दक्षिण कोरिया कोरोना भाइरसका संक्रमण हुने देशको आठौं नम्बरमा पर्छ । अहिलेसम्म दक्षिण कोरियामा ८ हजार ९६१ जनामा संक्रमण भएको छ भने १११ जनाको मृत्यु भएको छ । ३ हजार १६६ जना पूर्ण रूपमा निको भएका छन् ।

पछिल्लो २४ घण्टामा दक्षिण कोरियामा कोरोनाका कारण ७ जनाको ज्यान गुमाएका छन् । ६४ जनामा थप संक्रमण भेटिएको छ । अहिले दक्षिण कोरियामा ५ हजार ६८४ संक्रमित छन् । तीमध्ये ५९ जनाको अवस्था भने गम्भीर रहेको छ ।

स्वीजरल्याण्ड
कोरोना भाइरसका संक्रमण हुनेको नवौं नम्बरमा पर्छ स्वीजरल्याण्ड । अहिलेसम्म स्वीजरल्याण्डमा कोरोना भाइरसबाट ८ हजार ७९५ जना संक्रमित भएका छन् भने १२० जनाले ज्यान गुमाएका छन् । जना पूर्ण रूपमा निको भएका छन् ।

पछिल्लो २४ घण्टामा स्वीजरल्याण्डमा १ हजार ३२१ जनामा कोरोनाको संक्रमण भएको छ भने २२ जनाको मृत्यु भएको छ । अहिले स्वीजरल्याण्डमा ८ हजार ५४४ संक्रमित छन् । तीमध्ये १४१ जनाको अवस्था गम्भीर रहेको छ ।