२३ बैशाख २०८१, आईतवार
Follow Us

कोरोना भाइरसविरुद्ध लड्न नेपाल सरकारलाई एनआरएनएले स्वास्थ्य सामग्री उपलब्ध गराउने

नेपालब्रिटेन संवाददाता
१२ चैत्र २०७६, बुधबार ११:३८

लण्डन । कोरोना भाइरसविरुद्ध लड्न नेपाल सरकारलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) ले स्वास्थ्य सामग्री उपलब्ध गराउने भएको छ । संघका अध्यक्ष कुमार पन्तका अनुसार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको आग्रहमा कोरनोनाविरुद्ध लड्न एनआरएनएले घोषणा गरेको रू १ करोड सहयोगबाट नेपाल सरकारलाई स्वास्थ्य सामग्री उपलब्ध गराउन लागेको हो ।

स्वास्थ्यकर्मीले लगाउने विशेष प्रकारको सुरक्षा उपकरण र परीक्षण किट गैरआवासीय नेपाली संघले चीनस्थित नेपाली दूतावासमा उपलब्ध गराउने भएको संघले जनाएको छ। पन्तले स्वास्थ्य सामग्री नेपाल भित्राउन पहल गरिदिने मन्त्री ज्ञवाली र नेपाल सरकारलाई गैरआवासीय नेपाली समुदायका तर्फबाट हार्दिक धन्यवाद दिएका छन् ।

गैरआवासीय नेपाली संघका महासचिव डा. हेम राज शर्माका अनुसार उक्त सामान खरिद गर्न एक कार्यदल गठन गरिएको छ । बुधवार बिहान बसेको संघको पदाधिकारी बैठकले एनआरएनए चीनको प्रतिनिधिसहितको एक कार्यदल गठन गरेको हो ।

संघका उपाध्यक्ष डा. बद्री केसीका अनुसार चीनबाट उक्त सामग्री संकलन गर्न नेपाल सरकार समक्ष आग्रह गरेको छ । ती सामग्री चीनबाट ल्याउने बन्दोबस्त सरकारले गर्ने समझदारी बनेको केसीले जानकारी दिएका छन्। नेपाल सरकारले एक साताभित्र ती सामग्री संकलन गरेर नेपाल भित्राउने तयारी गरेको केसीले जनाए ।

संघले कोषाध्यक्ष महेशकुमार श्रेष्ठको संयोजकत्वमा कोरोनापीडित राहत कोष संकलन समिति, उपाध्यक्ष बद्री केसीको संयोजकत्वमा भौतिक सामग्री सहयोग संकलन उपसमिति गठन गरेको थियो।