१३ पुष २०८२, आईतवार
Follow Us

लकडाउन अवधि एक साता थप्ने तयारी

नेपालब्रिटेन संवाददाता
२४ चैत्र २०७६, सोमबार ०७:०९

काठमाडौं । सरकारले लकडाउनको समय एक साता थप्ने तयारी थालेको छ । लकडाउनको समय थप गर्ने विषयमा छलफल गर्न मन्त्री परिषद बैठक दिउसो दुई बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ । दुई सातादेखिको लकडाउनको समीक्षा र अब थप्नु पर्ने समयबारे छलफल गर्न बैठक बोलाइएको हो ।

सरकारले एकैपटक लामो समयसम्म समय थप गर्नुभन्दा पनि एक–एक साता गरेर लकडाउनको समय थप गर्ने निती लिएको छ । कोरोना रोकथाम उच्चस्तरीय समितिले पनि एक साता म्याद थप गर्नका लागि सरकारलाई सिफारिस गरेको बताइएको छ । सरकारले लागू गरेको लकडाउनको मंगलबार दुई साता पूरा हुँदैछ ।

सरकारले पहिलोपल्ट चैत्र ११ गतेदेखि १८ गतेसम्मका लागि लकडाउन गरेको थियो । त्यस्तै कोरोना जोखिम थप नहोस भन्नका लागि सरकारले पुनः गत चैत १६ गतेबाट २५ गतेसम्मका लागि लकडाउन थप गरेको थियो ।

बैठकमा कोरोना संक्रमितको उपचारका लागि स्वास्थ्य सामाग्री खरिद गर्ने जि टु जि प्रक्रियाका बारेमा देखिएको अन्यौलका विषयमा पनि कुरा हुने बताइएको छ ।

जिटुजी प्रक्रियामार्फत स्वास्थ्य सामग्री ल्याउने जिम्मेवारी सरकारले यसअघि सेनालाई दिइसकेको छ । मन्त्रीपरिषद बैठकले प्रधानमन्त्री केपी ओलीले देशवासीका नाममा दोस्रोपटक सम्बोधन गर्ने विषयमा पनि निर्णय गर्ने बताइएको छ । दुई साताअघि पनि प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गरेका थिए ।

धेरै पढिएको