काठमाडौँ — लकडाउन थप कडा बनाउन लामो दूरीमा पैदल हिँड्नेहरुलाई रोक्ने सरकारको निर्णयसँगै उपत्यका र आसपासका जिल्लाबाट स्थायी थाँतथलो हिडेका पश्चिम नेपालका २ सय ४५ जनालाई थानकोटमा रोकिएको छ ।
बाटोमै रोकिएकामा ३३ जना महिला र २४ जना बालबालिकासमेत छन। उनीहरु सबैलाई थानकोटस्थित त्रिभुवन पार्कमै अस्थायी बसोबासको व्यवस्था गरिएको छ। शुक्रबार र शनिबार मध्यान्हसम्म थानकोटबाट नौबिसे हुँदै बाँके, बर्दिया, दाङलगायत जिल्लातर्फ पैदल हिँडेका उनीहरुलाई पार्कमा रादिखएको महानगरीय प्रहरी वृत्त थानकोटका डिएसपी घनश्याम श्रेष्ठले बताए।
‘लकडाउन पूर्णरुपमा कार्यान्वयन गर्नु भन्ने स्पष्ट आदेश छ, सोहीअनुसार राजधानीबाट बाहिरिने थानकोट र आसपासको नाकामा सुरक्षा जाँच बढाइएको छ,’ उनले भने, ‘तर, पैदलै हिँडेर घर फिर्ता हुने रोकिएका छैनन्, उनीहरुलाई नियन्त्रणमा लिएर अस्थायी बसोबास र खाद्यान्नको प्रबन्ध त्रिभुवन पार्कभित्र मिलाएका छौं।’
चन्द्रागिरी नगरपालिका र प्रहरीले अलपत्र परेकालाई व्यवस्थापनमा सक्रिय भएको उनले बताए। अलपत्रको व्यवसा्थापनमा संघीय सांसद अञ्जना विसंखे पनि सक्रिय छन्। ‘१२-१३ वटा टहरालाई टेण्टले घेरेर बस्ने व्यवस्था मिलाएका छाैं। स्वास्थ्य डेस्क राखेका छाैं। खनलाई मेस बनाएका छाैं,’ सांसद विसंखेले भनिन्। उनीहरुलाई सात वटा समूहमा राखिएको छ।
शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमणविरुद्ध लगाइएको लकडाउन कडाइका साथ लागू गर्न उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा र चारवटै सुरक्षा निकायका प्रमुखलाई डाकेर निर्देशन दिएका थिए।
कान्तिपुर