१६ चैत्र २०८०, शुक्रबार
Follow Us

‘लकडाउन खुकुलो बने पनि बेलायत कोरोनामुक्त भइसकेको छैन’

नेपालब्रिटेन डट कम्
९ असार २०७७, मंगलवार १३:५५

बेलायतमा कोरोना भाइरसको सन्त्रास कम हुँदै जाँदा सरकारले लकडाउन खुकुलो बनाउँदै गइरहेको छ । विद्यालयका केही कक्षा, पसलहरु खुल्दैछन् । यस्तो अवस्थामा के के कुरामा ध्यान पुर्याउनु आवश्यक छ भन्ने सेरोफेरोमा रहेर हाल बोर्नमाउथ विश्वविद्यालयमा आवद्ध जनस्वास्थ्यविद् डा.निर्मल अर्यालसित गरिएको कुराकानीः

बेलायतमा लकडाउन खुल्दै जान लागेको छ । सरकारले एलर्ट लेभेल घटाएर ३ मा झारेको छ । यसको मतलब हामी पहिले जति सावधान हुनु पर्छ कि पर्दैन ?
बेलायतमा सरकारले एलर्ट लेभल घटाएर ३ मा झारेको छ । यसको अर्थ कोरोनाको महामारीबाट मुक्त भइसकिएको भन्ने होइन । समुदायमा संक्रमण सामान्य तहमा रहेको छ तर द्रुत गतिमा फैलिइरहेको छैन भन्ने यसको मुख्य सन्देश हो । स्थानीयरुपमा फेरि संक्रमण फैलिन सक्ने कुरामा भने सचेत रहनुपर्छ । जस्तै लेस्टरमा हालै एक्कासी धेरैजनामा संक्रमण देखिएको थियो । यस्तो अवस्था भने आउन सक्छ ।

बाहिर हिँड्दा मास्कसंगै पन्जा लगाउनु आवश्यक छ कि छैन ?
विभिन्न देशमा भएको अध्ययनपछि पछिल्लो वैज्ञानिक तथ्यले मास्कले संक्रमणबाट जोगाउन सक्ने पाइएको छ । तसर्थ सम्भव भएसम्म मास्क लगाउँदा संक्रमणको खतरा कम रहन सक्छ । बेलायतमा बसभित्र मास्क अनिवार्य गरिएको कारण पनि यहीं हो । विशेषतः भीडभाड हुने ठाउँमा मास्क लगाउँदा राम्रो हुन्छ । धेरै ठाउँमा छुँदै हिंड्दा पन्जाले संक्रमण फैलाउन सक्ने भएकोले वैज्ञानिकहरुले बाहिर हिंड्दा पन्जा नलगाउन सुझाएका छन् । सामाजिक दूरी कायम गर्ने र २० सेकेन्डसम्म मिचेर हात धुनु नै उपयुक्त सावधानी मानिएको छ ।

सिल्डिङमा बसेकाहरुलाई पनि बाहिरफेर गर्न अनुमति दिइएको छ । उनीहरुले के कुरामा सजग हुनुपर्ला ?
बेलायत सरकारले सिल्डिङमा बस्नुपर्ने उच्च जोखिममा रहेकाहरुलाई घरमा पत्र पठाएको छ । पछिल्लो निर्देशिकामा उहाँहरुलाई बाहिर घुम्न जान अनुमति दिएको छ । तर बाहिर जाँदा सामाजिक दूरी कायम गर्ने, नियमित हात धुने कुरामा अतिरिक्त सावधानी अपनाउनुपर्छ । घरकै सदस्यसँग मात्र बाहिर जाने, एक्लै बस्नेहरुको लागि बाहिरको एक जनासँग मात्र जाने र हरेक पटक सोही व्यक्तिसँग मात्र जाने, जमघटमा नजाने र कोरोनाको लक्ष्ण भएकाहरुसँग नभेट्ने कुरामा सजग रहनुपर्दछ ।
धेरै समय घरभित्रै बसेकाले होला अहिले धेरै मानिसहरु पार्कतिर, समुद्री किनारतिर घरमै पनि आफन्त साथीभाइ बोलाएर सामाजिक दुरी पनि कायम नगरी बार्बीक्यु गर्न थालेका छन् ।

के यसो गर्दा पनि हुने बेला आइसकेको हो र ?

समुदायमा संक्रमणको विस्तार र दर कम हुँदै गएपछि सरकारले पनि सामाजिक गतिविधिलाई खुकुलो पारेको छ । सरकारले तोकिएको मापदण्ड अनुसार जमघट गर्न सकिन्छ । इग्ल्याण्ड र उत्तरी आयरल्याण्डमा फरक घरका ६ जना सम्मलाई भेला हुन दिइएको छ भने स्कटल्याण्डमा तीनवटा घरबाट बढीमा आठ जनालाई र वेल्समा दुई घरको सबै सदस्यलाई पनि जमघट गर्न दिइएको छ । स्कटल्याण्ड र वेल्समा घरभन्दा ५ माइल टाढा जान दिइएको छैन भने इग्ल्याण्ड र उत्तरी आयरल्याण्डमा त्यस्तो छेकबार छैन । तर महत्वपूर्ण कुरा के हो भन्दा यी सबै ठाउँहरुमा जमघट हुनेले दुई मिटरको सामाजिक दूरी भने कायम गर्नुपर्दछ ।

सरकारले ल्याएको ट्रयाकिङ र ट्रेसिङ्ग योजनाले कसरी काम गर्छ ?
सरकारले मोबाइल एप्लिकेसनको प्रयोग गरी ट्रयाकिङ र ट्रेसिङ्गलाई छिटो र प्रभावकारी गराउने घोषणा गत मे महिनामै गरेको थियो । तर विभिन्न प्राविधिक समस्याले गर्दा अझै लागू हुन सकेको छैन । हाल सम्बन्धित कोरोना पोजिटिभ देखिएको व्यक्तिलाई सोधखोज गरेर नै ट्रयाकिङ र ट्रेसिङ्गको काम भइरहेको छ । मोबाइल एप्लिकेसनले कोरोना पोजिटिभ देखिएको व्यक्तिसँग विगत चार हप्ता निकट रहेकाहरुलाई सूचना दिने र आइसोलेसनमा बस्नु पर्ने वा नपर्ने जनाउ दिने किसिमले बनाउन लागिएको छ । मोबाइलको ब्लुटुथको उपयोगले यो पत्ता लगाउने प्रारम्भिक योजना हो । गुगल, एप्पल लगायतका कम्पनीले यसमा सहयोग गरिरहेका छन् ।

दोस्रो वेभको धेरैले कुरा गर्छन् । यसको सम्भावना कत्तिको छ ? आइहालेमा यो कत्तिको जोखिमपूर्ण हुन्छ ?
समयमै संक्रमित र उनीहरुसँग निकट रहेकाहरुको पहिचान हुनसकेमा दोश्रो वेभको सम्भावना नहुन सक्छ । स्थानीय तहमा आउटब्रेक देखिहाले पनि अन्य स्थानमा नफैलिन सक्छ र स्थानीय लकडाउनको माध्यमबाट संक्रमण विस्तारलाई रोक्न सकिन्छ । दक्षिण कोरियाले फेरि संक्रमण देखिएपछि स्थानीयरुपमा लकडाउन गरेर नियन्त्रण गरेको थियो । दोश्रो वेभ आइहालेमा यो कत्तिको जोखिमपूर्ण हुन्छ भन्ने यकिन भएको छैन । बेलायतमा करिब पाँच प्रतिशत नागरिकमा पोजिटिभ संक्रमण देखिएकोले हर्ड इम्युनिटी विकास भएको भन्ने अवस्था पनि छैन । केही वैज्ञानिकहरुले भाइरस कमजोर हुनसक्ने बताएपनि ठोस प्रमाण भेटिएको छैन । बेलायतले यस अवधिमा धेरै तयारी गरेकोले संक्रमणको लक्षण देखिए पनि गम्भीर नभएसम्म घरमै बस्नुपर्ने र टेष्ट नहुनेजस्तो अवस्था भने नआउन सक्छ ।

काममा जाँदा, सार्वजनिक यातायातको प्रयोग गर्नु परेमा, के के कुरामा ध्यान दिनु पर्ला ?

सार्वजनिक यातायात प्रयोग गर्दा मास्क लगाउने, नियमित हात धुने, सकभर सामाजिक दूरी राख्ने जस्ता कार्य नै प्रमुख सावधानीको उपाय हुन् ।

छोरा, छोरीलाई स्कूलले बोलायो भने पठाउन उपयुक्त होला कि नहोला ?
बेलायत सरकारले स्कूलमा संचालन निर्णयमा विशेष सावधानी अपनाएको जस्तो लाग्छ । केही कक्षाहरु (रिसेप्सन, इयर १,६, १०, १२) बाहेक अरु सेप्टेम्बरबाट मात्र खुल्ने जनाएको छ । स्कूलमा संक्रमणको खतरा निकै कम भएपनि हुँदै नभएको भने होइन । अभिभावकहरुलाई पनि छोराछोरी पठाउनै पर्ने अनिवार्य गरिएको छैन । सरकारको निर्देशिका अनुसार नै गर्नु श्रेयस्कर हुन्छ जस्तो लाग्छ ।