१२ बैशाख २०८१, बुधबार
Follow Us

सगुनले विकासको चक्र समातेको छ

नेपालब्रिटेन डट कम्
१४ आश्विन २०७७, बुधबार १८:२९

– विकास बिज्ञ, ध्रुव शर्मा

विकास एउटा बहुआयामिक प्रक्रिया हो । समकालिन अवस्थामा आधुनिकीकरण तर्फको अग्रसरता, गतिशील परिवर्तन, नवप्रवर्तन सहितको उपलब्धिको समिश्रण पनि हो । विकास नीतिका ज्ञाता धु्रब शर्माका अनुसार विकास एकै स्थानमा टिकिरहँदैन यो गतिशिल प्रक्रिया छ । अहिलेको परिपेक्ष्यमा विकासको चक्र यूरोप अमेरिकाको उचाई छुँदै बिस्तारै एसियाली मुलुकतर्फ धकेलिरहेको छ ।
सगुनका लगानीकर्ता मध्येका एक समेत रहेका शर्मा सगुनले अनुशरण गरेको भिजनले नविनतम विकासको लहरलाई पछ्याएको बताउनुहुन्छ । शर्मा भन्नुहुन्छ, ‘यसको भिजन एकदमै राम्रो छ । हाम्रो विकास अहिले एसियातर्फ सर्दै आएको छ । एसियामा पनि चीन र भारत उदयमान हुन् र भारतमा सगुनले रणनीतिक रुपमा फोकस गरेको छ ।’
प्रजातान्त्रिक मुलुकमा प्रविधिको विकासको लागि केन्द्रित नीतिहरु लागू हुने भन्दै त्यसबाट प्रविधिमैत्री कम्पनिहरु लाभान्वित हुने शर्माको भनाई छ । उहाँ भन्नुहुन्छ, ‘प्रविधिको विकासको लागि केही आधारहरु चाहिन्छ त्यसमध्येको एउटा प्रजातन्त्र हो, जुन भारत आफैंमा प्रजातान्त्रिक मुलुक हो ।

यो तथ्यलाई हवाइ नेसल फेल नामक पुस्तकका लेखक जेम्स ए. रोबिन्सन लगायतको दाबी रहेको छ । भारतले आइटी र स्टार्ट अप कल्चर विकास गर्न आफ्ना नीति त्यही अनुसार परिष्कृत गर्दै आएको छ । त्यहाँ ६ सय मिलियन भन्दा बढी इन्टरनेट प्रयोगकर्ता छन् । सँगै नेपालमा पनि १७ मिलियन छन्, चीन आफैँमा महारथी भइहाल्यो, पाकिस्तान, बंगलादेश लगायतमा पनि इन्टरनेटको पहुँच उत्तिकै छ । अब त्यो बिशाल इन्टरनेट प्रयोगकर्ताको इकोसिष्टमलाई सगुनले समेट्न सके यसको भविष्य देखिन्छ । ’
प्रवासी नेपालीले सञ्चालन गरेको कम्पनी भएकोले पनि एसियाली मुलुकमा यसको सम्भावना धेरै छ । भारत, अमेरिका जस्ता मुलुक जहाँ नवीनतम प्रविधीको विकासका लागि अत्याधिक अवसर रहेका छन् । चीन र भारतजस्ता आइटीका महारथीमाझमा सगुन अटाउँला त ? भन्ने सवाल अहिले सबैमा छ, तर शर्मा भन्नुहुन्छ, ‘अहिले हामीले प्रयोग गरेका फेसबुक, ट्वीटर, इन्ट्राग्राम, स्न्याप च्याटमाझ सगुनको स्थान कहाँ त भन्ने प्रश्न उठ्नु स्वभाविक हो । तर सगुनको भिजन फरक छ । म भन्दिँन कि अहिले नै यो अब्बल छ, र ठूला र स्थापित कम्पनीको स्थान लिन सक्छ । सगुन आफैमां फरक छ र यसको भिजन पृथक छ । तसर्थ ती ठूला कम्पनी भन्दा पनि फरक रुपमा विश्व बजारमा यसको पहिचान बन्न सक्छ । यसमा भएको गिफ्टिङ कन्सेप नै यसको सबैभन्दा ठूलो प्लस पोइन्ट हो ।

फेरि अहिले च्याटिङ सिष्टम मुड टकको सफल परीक्षण भएको छ । यसबाट उत्साह थपिएको छ । हामीले बुझ्नैपर्ने कुरा चाहिँ, सफलता पाउने भनेको नवीन सोचका कारण हो , प्रतिष्पर्धा र होडबाजीले होइन ।’
हाल झण्डै साढे चार हजार लगानीकर्ता रहेको सगुन सफल हुनु भनेको ती सबै लगानीकर्ता समेत सफल हुनु हो । अहिले नेपालबाट लगानी गर्ने प्रावधान नभएपनि प्रवासी नेपालीबाट सञ्चालित कम्पनी भएकोले यसबाट प्रत्यक्ष अप्रत्यक्ष रुपमा नेपालको आर्थिक विकासमा समेत महत्वपूर्ण मद्दत पुग्ने पक्का छ ।
अब पनि नेपाललाई विश्वमा चिनाउन गौतम बुद्ध र सगरमाथाको सहयोग लिनु गलत हुने शर्माको भनाई छ ।

‘कुनैपनि मुलुक आर्थिक रुपमा बलियो हुनु अहिलेको आवश्यकता हो, शर्मा भन्नुहुन्छ, ‘अहिले अब बुद्धको देश, सगरमाथाको देश भनेर चिनाउनु भनेको आत्मरतीमा रमाउने विम्ब मात्रै हो । विश्वव्यापीकरणको माहोलमा अहिले प्रविधि र विकासको उपस्थिति देखाउनैपर्छ । सगुनले त्यो स्थान बनाउन सक्छ । हाम्रो भाषा, हाम्रोे परिचय प्रविधिमार्फत परिष्कृत बन्न सक्छ । सगुन सफल हुनु भनेको त विश्व बजारमा प्रवासी नेपाली सफल हुनु पनि नि हो नि । यसबाटै भविष्यमा नेपालको फरक पहिचान बनाउन सकिने आधार प्रशस्तै छन् ।’

सगुनको सफलतामा नेपाल र नेपाली नै प्रत्यक्ष अप्रत्यक्ष रुपमा फाइदामा रहने शर्माको बुझाई छ । शर्मा भन्नुहुन्छ, ‘आइटी क्षेत्रमा ज्ञान र सोच भएकाले नै प्रगति गर्न सक्छन् हामीसँग ज्ञान भएका मान्छेको अभाव पनि होइन । नेपालीहरू नै माइक्रोसफ्ट, गुगलजस्ता विश्वस्तरीय आइटी कम्पनीमा गएर काम गरिरहेका छन् । त्यही जनशक्ति भोलिका दिनमा सगुनको प्राथमिकतामा पर्ने निश्चित छ ।

उनीहरू यहाँ आएर काम गर्न सक्ने माहोल बनाउन आवश्यक छ । लगानी समस्या नै होइन । वातावरण बनाउने हो भने लगानी आफैँ आउँछ ।’
पछिल्लो समय सगुनका बारेमा उठेका विभिन्न विषयमा प्रष्ट पार्दै शर्माले अफवाहको पछि नलाग्न सबैमा आग्रह गर्नुभएको छ । सगुन स्टार्टअप कम्पनी भएकोले पनि यसका बारेमा प्रश्न उठ्नु स्वभाविक भएको उहाँ बताउनुहुन्छ । शर्मा भन्नुहुन्छ, ‘स्टार्टअफ कम्पनीका बारेमा अपवाह फैलन्छन्, यसलाई हामीले प्रष्ट पार्दै जानुपर्छ । सगुनको बारेमा प्रयोगकर्ताले के भन्छन् त्यो महत्वपूर्ण हो मिडियामा के आयो भन्नेले असर गर्दैन ।’ उहाँ थप्नुहुन्छ, ‘विश्वका स्थापित कम्पनीले के दिइरहेका छन् र हामीले के नयाँ दिने भन्नेमा सगुन स्पष्ट छ, र सोही भिजन अनुसार अघि बढीरहेको छ । केही समय त पक्कै लाग्छ तर असम्भव केही पनि छैन ।’
शर्माले वर्गेन विश्वविद्यालय, नर्वेबाट एमफिल गरेका छन ।