२८ बैशाख २०८१, शुक्रबार
Follow Us

भारतसँगको पारवहन सन्धी र रेल सेवा सम्झौता संशोधन हुने

नेपालब्रिटेन संवाददाता
२३ मंसिर २०७७, मंगलवार ०३:४९

काठमाडौं । नेपाल-भारत पारवहन सन्धी र रेल सेवा सम्झौता संशोधन हुँदैछ । दुई देशबीच पारवहन सन्धी र रेल सेवा सम्झौतालाई अन्तिम रुप दिई हस्ताक्षर गर्न दुई देश सहमत भएका हुन् ।

नेपालले राखेको सो प्रस्तावलाई भारतीय पक्षले सकारात्मक रुपमा लिएको र यी दुई विषयलाई छिट्टै सम्पन्न गर्नसमेत सहमत भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

नेपाल–भारतबीच पारवहन र अनाधिकृृत व्यापार नियन्त्रणका लागि बनेको नेपाल र भारतका सचिवस्तरीय अन्तर सरकारी समितिको आज मंगलबार सम्पन्न भिडियो कन्फरेन्समार्फत भएको बैठकमा सो सहमति भएको हो ।

सचिवस्तरीय बैठकमा नेपालका तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा वैकुण्ठ अर्याल र भारतीय टोलीको नेतृत्व भारतको वाणिज्य मन्त्रालयका सचिव अनुप वाधवनले गरेका थिए ।

वार्तामा नेपाल भारतबीच वाणिज्य क्षेत्रमा भएका सन्धि तथा सम्झौताहरु नेपाल भारत पारवहन सन्धि, नेपाल भारत वाणिज्य सन्धि, रेल सेवा सम्झौता र अनाधिकृत व्यापार नियन्त्रण सम्झौताका विविध विषयमा छलफल भएको मन्त्रालयका प्रवक्ता उर्मिला केसीले जानकारी दिइन् ।

वार्तामा दुवैै देशका तर्फबाट सीमा भन्सारको स्तरोन्नति, नेपाल भारत संयुक्त व्यावसायिक मञ्च निर्माण, विविआइएन र एमभिएका विषयहरु, दुवै देशका व्यापारिक वस्तुको गुणस्तर र मापदण्ड, वस्तु व्यापारमा रहेका समस्यालगायतका विषयमा छलफल भएको मन्त्रालयले जनाएकोे छ ।