२९ बैशाख २०८१, शनिबार
Follow Us

आज ७२ औं विश्व मानव अधिकार दिवस मनाइँदै

नेपालब्रिटेन संवाददाता
२५ मंसिर २०७७, बिहीबार ०४:३५

काठमाडौं । आज डिसेम्बर १० अर्थात् विश्व मानव अधिकार दिवस । विश्व मानवअधिकार दिवसको अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरिँदैछ । नेपालमा मानवअधिकारका विषयमा संवैधानिक अधिकारको कुरामा बलियो अवस्थामा छ । तर त्यसको कार्यान्वयन र वास्तविक न्याय वा मानवअधिकारको अवस्थामा भने अझै सुधार आउन सकेको छैन ।

सन् १९४८ मा संयूक्त राष्ट्रसंघको महासभाले मानव अधिकार घोषणपत्र पारित गरेको एतिहासिक दिवसको सम्झनास्वरुप हरेक डिसेम्बर १० का दिन यो दिवस मनाइन्छ ।

मानव अधिकार विश्वव्यापी घोषणापत्र संयुक्त राष्ट्रसंघको साधारण सभाले प्रस्ताव नं. २१७ क (३) बाट अनुमोदन गरि जारी भएको हो । यसमा ३० धाराहरू रहेका छन् । घोषणापत्रमा सबै ब्यक्तिहरू जन्मजात स्वतन्त्र र प्रतिष्ठा तथा अधिकारमा समान हुने उल्लेख छ ।

त्यसैगरी सबै ब्यक्तिहरू कानूनको दृष्टिमा समान हुने जस्ता विषय उल्लेख छ । ७२ औं मानवअधिकार दिवस मनाउँदै गर्दा नेपालमा मानवधिकारको विषय संवैधानिक रुपमा बलियो बनेको छ । तर कार्यान्वयनको अवस्था फितलोहुँदा दण्डहिनता बढ्दै गएको छ । पछिल्लो समय बढ्दै गएको यौनजन्य हिंसा, हत्या तथा द्वन्द्वका पीडितहरुले अझै न्याय पाउन सकेका छैनन् ।

यस्तै अरु सामाजिक न्याय प्राप्त गर्ने विषयमा समेत समस्या देखिएको छ । निर्मला पन्तसहित बलात्कार पीडितले न्याय नपाउनु तथा युद्धका पीडितहरुको न्यायका लागि गरिएको ढिलासुस्ती नेपालको न्याय र मानवअधिकारको क्षेत्रमा कमजोर पक्ष बनेका छन् ।

नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा (माओवादी) बीच विस्तृत शान्ति सम्झौता भएको १४ वर्ष पुगिसक्दा पनि द्वन्द्वपीडित अझै न्यायको खोजीमा छन् ।

७२ औं अन्तरा्राष्ट्रिय मानवअधिकार दिवस ‘रिकभर बेटर स्टयाण्ड फर ह्युमन राइटस’ भन्ने अन्तरराष्ट्रिय नारा र ‘महामारीमा मानवअधिकारः स्वास्थ्य सेवामा सबैको पहुँच विस्तार’ राष्ट्रिय नाराका साथ मानवअधिकार राष्ट्रिय महाभेला, २०७७ देशभर मनाइँदै छ ।

यसैबीच नेपालमा चालु आवमा राष्ट्रिय मानव अधिकार आयोगमा मानव अधिकार उल्लघंन भएको भनि १३२ उजुरी दर्ता भएका छन् । आयोगमा दर्ता भएका र दर्ता गरिएका पुराना र नयाँ गरी ७ सय ९५ उजुरीमाथि अनुसन्धान सम्पन्न भएको जनाइएको छ ।