३० बैशाख २०८१, आईतवार
Follow Us

चिडियाखाना आजदेखि खुल्दै, टिकट दर कति ?

नेपालब्रिटेन संवाददाता
२५ मंसिर २०७७, बिहीबार ०४:३७

काठमाडौँ । ललितपुरस्थित सदर चिडियाखाना आज(बिहीबारदेखि) खुल्दै छ । कोरोना महामारी फैलिएपछि बन्द रहेको चिडियाखाना स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी आजदेखि खुल्न लागेको हो ।

बिहान १० देखि साँझ ५ बजेसम्म खुल्ला रहने छ । तर एक व्यक्ति एक घण्टा भन्दा बढी बस्न नपाउने चिडियाखाना व्यवस्थापनले जानकारी दिएको छ । यस्तै बालबालिकाहरूलाई पनि खेलाउन नपाइने जनाइएको छ ।

चिडियाखाना अवलोकनकर्ता सबैले अनिवार्य मास्क लगाउनुपर्ने, भित्र बसेर खानेकुरा खान नपाइने र वन्यजन्तुलाई पनि खुवाउन र छुन नपाइने नियम लागु गरेको छ ।

चिडियाखाना प्रवेशका लागि अनलाइन टिकेटको व्यवस्था गरिएको छ । कोरोना सङ्क्रमणको जोखिमका कारण टिकेटमा डिजिटलाइजेशन गरिएको व्यवस्थापकको भनाइ छ ।

यसै गरी टिकेट रेट विदेशीका लागि ७ सय ५० रुपैयाँ, सार्क राष्ट्रका पाहुनाका लागि पाँच सय रुपैयाँ, नेपालीका लागि एक सय पचास रुपैयाँ निर्धारण गरिएको छ ।

तर नेपाली विद्यार्थी तथा ज्येष्ठ नागरिकहरुले भने ९० रुपैयाँमै चिडियाखाना अवलोकन गर्न पाउनेछन् । चिडियाखानामा हाल ११० प्रजातिका एक हजार ६८ वन्यजन्तु छन् ।

सदर चिडिया खाना वि.स. १९८९ मा तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमशेरले निजीरुपमा स्थापना गरेका थिए । २०११ सालदेखि सर्वसाधारणका लागि खुला गरिएको थियो । वि.स. २०५२ सालदेखि राष्ट्रिय प्रकृति संरक्षण कोषले व्यवस्थापन गर्दै आइरहेको छ ।