२९ बैशाख २०८१, शनिबार
Follow Us

काँग्रेसद्वारा महाधिवेशनको मिति सार्ने तयारी

नेपालब्रिटेन संवाददाता
२५ मंसिर २०७७, बिहीबार १२:५१

काठमाडौँ । नेपाली काँग्रेसले पार्टीको १४औँ महाधिवेशन कार्यतालिका कोभिड-१९ को सङ्क्रमणका कारण प्रभावित भएपछि महाधिवेशनको मिति संशोधन गर्ने तयारी गरेको छ । काँग्रेसले गत असार २२ गते केन्द्रीय महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्म गर्ने गरी कार्यतालिका निर्धारण गरेको थियो ।

कोभिड-१९ कारण कार्यतालिकाअनुसारको क्रियाशीय सदस्यता र पार्टीको अन्तरिम संरचना समायोजन तालिका प्रभावित भइसकेको छ । पार्टीको क्रियाशीय सदस्यता वितरण र नवीकरण कार्य निर्धारित समयमै सम्पन्न नभएपछि अन्य अधिवेशन पनि प्रभावित हुने निश्चित छ ।

सोही कारण यही मङ्सिर अन्तिममा हुने केन्द्रीय कार्यसमिति बैठकबाट महाधिवेशन कार्यतालिका संशोधन गरिने पार्टी कार्यालयले जनाएको छ । काँग्रेसको विधानअनुसार आगामी फागुन २० गतेसम्म १४औँ महाधिवेशन उद्घाटन गरिसक्नुपर्छ । कांग्रेसको विधानमा पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यहरूको पदावधि चार वर्षको हुने र असाधारणस्थिति भएमा केन्द्रीय कार्यसमितिले सोको कारण खोली बढीमा एक वर्षसम्मको अवधि बढाउनसक्ने उल्लेख छ ।

काँग्रेसको १३औँ महाधिवेशन २०७२ साल फागुन २० देखि २३ गतेसम्ममा काठमाडौँमा भएको थियो । काँग्रेसले कोभिड-१९ को वर्तमान विषम परिस्थितिमा अब नेपालको संविधानमा भएको व्यवस्थाको सहारा लिएर महाधिवेशनको मिति सार्ने जनाएको छ ।