३१ बैशाख २०८१, सोमबार
Follow Us

अमेरिकामा फाइजरको खोप आपतकालीन स्वीकृतिका लागि सिफारिस

नेपालब्रिटेन संवाददाता
२६ मंसिर २०७७, शुक्रबार ०३:३७

न्यूयोर्क । अमेरिकाको खाद्य तथा औषधि नियन्त्रण विभाग ‘एफडीए’ले फाइजर बायोएनटेक खोप आपतकालीन स्वीकृतिका लागि सिफारिस गरेको छ । चिकित्सकहरुको टोलीले कोरोना भाइरसविरुद्ध प्रभावकारी मानिएको सो खोप प्रयोगका लागि तत्काल स्वीकृति दिन विभागलाई आग्रह गरेका हुन् ।

औषधिको प्रभावकारिकाका बारेमा थप अनुसन्धान जारी रहेपनि प्रयोगका लागि अनुमति चिकित्सकहरुले सिफारिस गरेका हुन् । एफडीएको खोप र जैविक उत्पादन सल्लाहकार समितिले खोपको आपत्कालिन प्रयोग गर्ने पक्षमा मतदान गरेको हो ।

समितिका १७ सदस्यले खोपको पक्षमा मतदान गरेका थिए भने चार जनाले विपक्षमा मतदान गरेका थिए । एक जना भने अनुपस्थित थिए । एफडीएको खोप कार्यक्रमबारेको सल्लाहकार समितिको बैठक बसेर खोपको आपत्कालिन अनुमति दिने वा नदिने निर्णय गर्नेछ ।

यसको बैठक शुक्रबारलाई तय गरिएको छ । अर्को हप्ता मोडेर्नाको खोपको बारेमा निर्णय गर्न बैठक बस्दैछ । एकैदिन तीन हजार भन्दा बढीको कोरोनाका कारण मृत्यु भएपछि उक्त खोप अनुमोदनका लागि चिकित्सकहरुले आग्रह गरेका हुन् ।

यो खोपलाई प्रयोग गर्न बेलायत, क्यानडा, बहराइन र साउदी अरेबियाले यसअघि नै अनुमति दिइसकेका छन् । खोप स्वीकृत भएलगत्तै प्रयोगमा ल्याउने तयारी अमेरिकाको छ । पहिलो चरणमा अमेरिकाले उक्त खोप करिब ५ करोड डोज तयार पार्ने अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।