काठमाडौं । पश्चिमी वायुको प्रभावले आइतबार रातिदेखि देशका विभिन्न स्थानमा वर्षा र हिमपात शुरु भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार यो क्रम बुधबारसम्म जारी रहने छ । पश्चिमी क्षेत्रतिर आइतबारदेखि नै हिमपात तथा वर्षा शुरु भइसकेको छ ।
आज काठमाडौं लगायत देशका विभिन्न स्थानमा वर्षा तथा उच्च भेगमा हिमपात हुने सम्भावना छ । उपत्यकामा पनि विहानै हल्का बर्षा भएको छ । राति बादल लागेपछि काठमाण्डौको न्यूनतम तापक्रम ह्वात्तै बढेको छ ।
हिजो बिहान २ दशमलव ५ डिग्री सेल्सियस रहेको काठमाण्डौको न्यूनतम तापक्रम आज बढेर ९ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको हो । बदली, वर्षा र हिमपातका कारण अधिकतम र न्यूनतम तापक्रममा केही गिरावट आई देशैभरि चिसो बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
पश्चिमी वायुको प्रभाव हटेपछि तराईका जिल्लामा शीतलहरको सम्भावना रहेको छ । सुदूरपश्चिमका पहाडी जिल्लामा वर्षा भएपछि किसान खुसी भएका छन । आइतबार दिउँसोदेखि परेको पानीले गहुँ लगायत हिउँदे बाली सप्रने किसानको अपेक्षा छ ।