३१ बैशाख २०८१, सोमबार
Follow Us

प्रचण्ड–माधव समूहको नेकपा स्थायी कमिटी बैठक आज पनि

नेपालब्रिटेन संवाददाता
२० पुष २०७७, सोमबार ०५:३७

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज सोमबार पनि बस्दै छ । माधवकुमार नेपालको अध्यक्षतामा पार्टी मुख्यालय पेरिसडाँडामा दिउँसो १ बैठक बस्ने छ । बैठकमा विभिन्न कार्यसूचीमाथि छलफल गरिने छ । तर, आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल अनुपस्थित रहने छन् । पत्नी सीता दाहालको उपचारका लागि उनी भारतको मुम्बाइ प्रस्थान गरिसकेका छन् ।

पार्टी विभाजनपछि नेकपा (प्रचण्ड–माधव समूह) को यो तेस्रो स्थायी कमिटी बैठक हो । आलोपालो बैठकको अध्यक्षता गर्ने निर्णयअनुसार यो बैठकअवधिभर नेता नेपालले नै अध्यक्षता र सञ्चालन गर्ने छन् ।

आइतबारको बैठकले स्थायी कमिटीमा पाँचवटा कार्यसूची पेस गरिएको थियो । तिनैमा आधारित भएर आजको छलफल अघि बढाइने छ । आइतबारको बैठकमा प्रदेश, जिल्ला र जबस मोर्चा (जनसंगठनहरू) को एकताका लागि पार्टी अध्यक्ष नेपालको संयोजकत्वमा कार्यदलसमेत बनेको छ । त्यसले एकताका बाँकी कामहरू सक्ने छ । शनिबार पत्रकार सम्मेलन गरेर दाहाल–नेपाल समूहले संघर्षका थप कार्यक्रम घोषणा गरेका थिए ।

त्यस्तै स्थायी कमिटी बैठकमा केपी ओली समूहको विभाजनकारी क्रियाकलापबारे पनि छलफल गर्ने कार्यसूची छ । बैठकले प्रदेशसभा र सरकारबारे आवश्यक निर्णय लिनेछ ।