७ बैशाख २०८१, शुक्रबार
Follow Us

ओली सरकारको आयु धेरै छैन

नेपालब्रिटेन डट कम्
२२ असार २०७३, बुधबार १२:१९

कांग्रेस नेता, डा. प्रकाशशरण महत ।
० महाधिवेशनबाट आएको नयाँ नेतृत्वले कांग्रेसलाई अब कसरी अगाडि बढाउनुपर्ला ?
– दुई पक्षमा हाम्रो कमजोरी देखिएको छ । नीतिमा हाम्रो खासै समस्या छैन । यसलाई अलि व्यापक बहसमा लैजानु जरुरी छ । नीति तथा कार्यक्रमलाई सशक्त रूपमा जनताका बीचमा लैजानु जरुरी छ । पार्टीमा जीवन्त बहस गर्नु जरुरी छ । हिजो पार्टीले लिएको प्रजातान्त्रिक समाजवादको औचित्य र आज यसको सान्दर्भिकता के छ भनेर छलफल चलाउनु छ । सुसूचित र प्रशिक्षित कांग्रेस बनाउनु आवश्यक छ । यसमा हामी चुकेका छौं । आज पनि ५० प्रतिशतभन्दा बढी मत कम्युनिस्टहरूले पाइरहेको अवस्था छ । अहिले संसारभरि पाँच÷सात प्रतिशतभन्दा बढी मत कम्युनिस्टहरूले पाइरहेका छैनन् । तर हामीकहाँ आधा मत उनीहरूले पाइरहेका छन् । किन विश्वमा कम्युनिस्ट पतनउन्मुख भए, जनताको समृद्धि कसरी सम्भव छ भनेर हामीले जनतालाई सुसूचित गर्नु आवश्यक छ । समग्र पार्टी पंक्तिलाई प्रभावकारी परिचालन गर्नुपर्छ । हामी भइहाल्यौं अरु किन हुनुप¥यो भन्ने मानसिकताका कारण पार्टी कमजोर बनेको हो । नेतृत्व आत्मकेन्द्रित हुँदा पार्टी गतिशील भएन । त्यसकारण अहिलेको नयाँ नेतृत्वले मन, बचन र कर्मले पार्टीलाई गतिशील र चलायमान बनाउनुपर्छ । नेतृत्वले कार्यतालिकासहित अब कार्यक्रम बनाएर अगाडि बढ्नुपर्छ ।
० तपाई अहिलेको नेतृत्वसँग लामो समयदेखि नजिक भएर काम गरिरहनुभएको छ, केही त्यस्तो लक्षण पाउनुभएको छ ?
– शेरबहादुर देउवाले महाधिवेशनका बेला जारी गरेको प्रतिबद्धता पत्रमा धेरै कुरा उल्लेख गर्नुभएको छ । त्यसमध्ये एउटा पार्टीलाई कसरी रूपान्तरण गर्ने, अर्काे राष्ट्रिय चुनौतीमा आफू कसरी प्रस्तुत हुने भन्ने विषय महŒवपूर्ण छ । पार्टीको विधान अक्षरसः पालना गर्ने भन्ने छ । पार्टीलाई संस्थागत ढंगले सञ्चालन गर्ने उहाँले प्रतिबद्धता जनाउनुभएको छ । यस्तै पार्टीभित्र सुरक्षा र न्यायको प्रत्याभूति दिलाउने कुरा गर्नुभएको छ । नेतृत्वको वरिपरि घुमेर अवसर पाइन्छ भन्ने जुन सोचाइ छ, यसको अन्त गर्दै जनताका बीच जाने र पार्टीमा क्रियाशील भएकाहरूको मूल्यांकन गर्ने र तिनीहरूको रेकर्ड राखेर उनीहरूलाई अवसर दिने भन्ने कुरा देउवाले उल्लेख गर्नुभएको छ । यसको कार्यान्वयन हुनेमा म विश्वस्त छु । यसले पार्टीभित्र विभाजनको मानसिकता मात्र अन्त हुँदैन, नेतृत्वको वरिपरि मात्र घुम्ने प्रवृत्तिको अन्त हुनेछ ।
० विधान संशोधनको चर्चा सुरु भएको छ नि ?
– विधान संशोधन पार्टीको महासमिति बैठकबाट हुन्छ । व्यक्तिलाई हेरेर विधान संशोधन गर्ने होइन, कुन व्यक्तिलाई कहाँ एडजस्ट गर्न सकिन्छ भन्ने हिसाबले विधान संशोधन हुँदैन । किनकि हामीले विगतमा पनि यही कुराको विरोध गर्दै आएका हौं । पार्टीको आवश्यकताअनुसार, पार्टीमा कहाँ कमिकमजोरी छन्, तिनीहरूलाई कसरी हटाउने भन्नेबारे छलफल भयो भने विधान संशोधन हुन सक्छ ।
० पार्टीको केन्द्रीय कार्यसमितिले कहिले पूर्णता पाउँछ ?
– दुई महिनामा गर्ने विधानमा व्यवस्था छ । अब हामीसँग धेरै समय बाँकी छैन । मैले सभापतिलाई भेटेर अब मनोनीत गर्न बाँकी पदाधिकारी र केन्द्रीय सदस्यलाई टुंगो लगाएर कार्यसमितिलाई पूर्णता दिनुपर्छ भनेर सुझाएको छु । हामीले ढिलाइ गर्दा फेरि पनि विभिन्न खालका कुरा आउँछन् र पार्टी पुरानै ढर्रामा जाने चिन्ता आउन सक्छ । यसकारण अब ढिलाइ गर्नुहुन्न भन्ने मेरो धारणा हो । तर निर्णय नेतृत्वले गर्ने हो ।
० सभापतिले के भन्नुभयो ?
– उहाँ पनि कार्यसमितिलाई पूर्णता दिन ढिलाइ गर्नुहुन्न भन्नेमा हुनुहुन्छ । यसका लागि उहाँले पहल र छलफल गरिरहनुभएको छ ।
० पदाधिकारीमा तपाईको पनि चाहना छ कि ?
– म विद्यालय समयदेखि राजनीतिमा क्रियाशील छु । नेविसंघको महामन्त्री भइसकेको छु । ८५ प्रतिशत नेविसंघका साथीहरूले तपाई सभापति हो भनेर मेरो पक्षमा डेलिगेसनमा जाँदा किसुनजीले ‘भोलि औपचारिक घोषणा हुन्छ’ भन्नुभयो, तर रातारात के भयो थाहा भएन । म त्यतिबेला नेताहरूको द्वन्द्वको सिकार बने । निरन्तर रूपमा आन्दोलनमा सक्रिय भए । २०४६ सालमा आन्दोलन सञ्चालन गर्न गठिन सात सदस्यीय समितिको एक सदस्य म हुँ । आन्दोलन सफल भएपछि म पूर्ण छात्रवृत्तिमा अध्ययन गर्न विदेश गएँ । कसैले पठाएर होइन, आफ्नै क्षमतामा मैले त्यो छात्रवृत्ति पाएको हुँ । मलाई धेरैले अब किन विदेश जाने, यतै राजनीति गर्नुपर्छ भन्दा मैले पढाइ सधैं काम लाग्छ भनेको थिएँ र गएँ । दुःखका दिनमा म यतै थिएँ । पढेर आउनेवित्तिकै म सिधै राजनीतिमा लागें । म आफूलाई लागेको कुरा पार्टीभित्रै राख्छु । बहसको विषय बनाउँछु, तर मार्केटिङको विषय बनाउँदिन । विद्यार्थी राजनीतिदेखि नै शेरबहादुर देउवासँग रहेको केही व्यक्तिमध्ये म पनि एक हुँ । निरन्तर उहाँलाई साथ दिँदै आएको छु । सभापति जितिएन भने केही पनि नहुँदो रहेछ भनेर हामीले अरु पदलाई थाती राख्यौं । ज–जसलाई ल्याएर भए पनि देउवाजीलाई जिताउनुपर्छ भनेर हामी लागेका हौं । तसर्थ, अब प्रस्तावित उपसभापति, महामन्त्री र सहमहामन्त्रीमा मेरो दाबी स्वाभाविक छ ।
० नेतृत्वसँग कुरा गर्नुभयो होला नि ?
– भीड लगेर जम्मा गर्ने, प्रचारबाजी गर्ने, नेतृत्वलाई अप्ठ्यारोमा पार्ने काम मैले कहिल्यै गरिनँ । मैले के गरेको छु, कति काम गरेको छु भन्ने कुरा नेतृत्वलाई राम्रोसँग अवगत छ । अहिले महाधिवेशनका बेला मैले आफ्नो प्रचार गर्न पाइनँ । सभापति जिताउन मात्र म लागिपरें । जसले गर्दा म -यांकिङमा पछाडि परें । यहाँ त कोसँग कति भोट छ, त्यसमा सम्झौता गरेर भोट एक्सचेन्ज गरेर आफू माथि आउने खेल पनि भए । म त्यो गर्न पनि जान्दिनँ र गर्दिनँ पनि । मेरो एउटै मात्र उद्देश्य के थियो भने सभापतिमा शेरबहादुर देउवालाई जिताउने । हामी यसमा सफल भयौं । भोलिका दिनमा प्रभावकारी रूपमा पार्टी चलाउने साथीहरूको आवश्यकता रहन्छ, यो कुरा नेतृत्वलाई थाहा छ । यसकारण हामीले नेतृत्वलाई सुझाउनेभन्दा पनि नेतृत्वले सुझबुझका साथ निर्णय लिने विश्वास लिएको छु ।
० पदाधिकारीमा आकांक्षी धेरै भएपछि नेतृत्वलाई मिलाउनै हम्मे–हम्मे भएको चर्चा छ नि ?
– इच्छा त सबैको हुन्छ नि । इच्छा धेरैको छ भनेर नेतृत्वले निर्णय नै नलिने भन्ने हुँदैन । नेतृत्व भनेकै व्यवस्थापन गर्ने हो । के सही के गलत भनेर छुट्याउँदै योग्यलाई उचित स्थान दिने हो नेतृत्वले ।
० कांग्रेस वर्तमान सरकारमै सामेल हुन्छ कि आफ्नै नेतृत्वमा सरकार बनाउँछ ?
– कांग्रेस यो सरकारमा जाने कुरै आउँदैन । जनताप्रति अनुत्तरदायी सरकारमा कांग्रेस जाँदैन । आज पनि उस्तै अभाव छ । महँगी उस्तै छ । कालोबजारी उस्तै छ । भूकम्पपीडितहरू अझै पनि अस्थायी टहरामा कठिनतापूर्वक बाँचिरहेका छन् । यसकारण कांग्रेस सशक्त प्रतिपक्षीको भूमिकामा रहन्छ । यो सरकारको आयु लामो छैन । आफ्नै कारणले सरकार ढल्छ । त्यसपछि कांग्रेसको नेतृत्वमा सरकार बन्छ र सभापति शेरबहादुर देउवाले नै सरकारको नेतृत्व गर्नुहुन्छ ।