२४ बैशाख २०८१, सोमबार
Follow Us

ओलीको अभिव्यक्तिप्रति कांग्रेसको आपत्ति

नेपालब्रिटेन संवाददाता
१२ माघ २०७७, सोमबार ११:४२

काठमाडौ । प्रतिनिधि सभा विघटनको विरोध गर्नेहरू देश विरोधी हुन् भन्ने प्रधानमन्त्री केपी ओलीको अभिव्यक्तिप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार एक विज्ञप्ती प्रकाशित गर्दै प्रधानमन्त्रीको अभिव्यक्ति अलोकतान्त्रिक र अधिनायक आकांक्षालाई थप उजागर गर्ने किसिमको भएको बताएका हुन । आइतबार ओलीले प्रतिनिधि सभा विघटनको विरोध गर्नेलाई देश विरोधीको संज्ञा दिएकोमा काग्रेसले आपत्ति जनाएको हो ।

कांग्रेसले कुनै पनि रंग र स्वरुपको अधिनायकवाद विरुद्ध संघर्षमा उभिने चेतावनी दिएको छ । आफ्नो कदमविरुद्ध उठेका स्वर र समुदाय हरेकलाई होच्याउने र अपमान गर्ने काम प्रधानमन्त्रीले गरेको कांग्रेसको आरोप छ । विज्ञप्तीमा फरक मत राख्न, आफ्नो विचार र विरोध प्रकट गर्न संविधानले प्रत्याभूत गरेको हकको प्रयोग गर्नु हरकोहिको नैसर्गिक अधिकार भएको उल्लेख गरिएको छ । सर्वोच्च अदालतमा भई रहेको बहसलाई ‘तमासा’ को संज्ञा अदालतको स्वतन्त्र विवेकलाई कुण्ठित गर्ने प्रयत्न भएको पनि कांग्रेसले जनाएको छ ।

सम्मानित र पाका अधिवक्ताको अपमान सम्पूर्ण ज्येष्ठ नागरिक अनि सभ्य समाजकै अपमान भएको विज्ञप्तीमा उल्लेख गरिएको छ । कांग्रेसले आलोचक पत्रकारलाई नर्क जान्छन् भन्नू, प्रेस स्वतन्त्रता विरोधी अभिव्यक्ति र पूर्व प्रधानन्यायाधीशहरुलाई ‘अजासु’ भनेर टिप्पणी गर्नु अभिव्यक्ति स्वतन्त्रता विरुद्धको बर्बराहट भनेको छ । प्रधानमन्त्रीका पछिल्ला कयौं अभिव्यक्तिले प्रधानमन्त्री पदको गरिमालाई धुलिसात बनाउंदै लगेको कांग्रेसको भनाई छ ।