गलकोट नगरपालिका–१० पाण्डवखानीको स्वास्थ्यचौकी भवन निर्माणमा खटिएका स्थानीय कामदार ज्याला पाउनबाट वञ्चित भएका छन् । भवन बनेको वर्षौँ बित्दासमेत निर्माण कम्पनी रविना कन्स्ट्रक्शनले कामदारलाई ज्याला नदिएको हो । विसं २०७३ देखि निर्माण थालिएको सो भवन विसं २०७६ असोजमा पूरा भएको थियो । कामदारसहित व्यापारी, होटल व्यवसायीसमेतले भुक्तानी नपाएको स्थानीयवासी उमेश विकले बताउनुभयो । “हामी ५०÷५५ जना पीडित छौँ, पाँच÷सात जना व्यवसायी र अरु सबै गाउँका कामदार छन्”, उहाँले भन्नुभयो ।
आफैँ भवन निर्माण खटिनुभएका वडाध्यक्ष तिलक पुनले निर्माण कम्पनीबाट सबैले गरी झण्डै रु १५ लाख लिन बाँकी रहेको सुनाउनुभयो । पुनले भवनको गारो लगाएको र विद्युतीकरण गरेवापतको रु ५० हजार पाउन बाँकी छ । “जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालयसम्म धाएर निर्माण व्यवसायीविरुद्ध उजुरी गर्यौँ तर अहिलेसम्म सुनुवाइ भएको छैन”, उहाँले भन्नुभयो । गत महिना वडाध्यक्ष पुनको नेतृत्वमा आएका पीडित कामदारले जिल्ला प्रहरी कार्यालययमा उजुरी दिएका थिए ।
जिप्रकाले गलकोट, हरिचौरमा रहेको इलाका प्रहरी कार्यालयलाई घटनाको छानबिन गरी निर्माण व्यवसायीबाट कामदारलाई ज्याला दिलाउन निर्देशन दिए पनि गलकोट प्रहरीले कुनै चासो नदिएको गुनासो पीडित पक्षको छ । वडाध्यक्ष पुनले पटकपटक निर्माण व्यवसायीसँग कुराकानी गरेर समस्या समाधानको पहल गरिएको बताउनुभयो । “निर्माण कम्पनीले पाउनुपर्नेमध्येको १० प्रतिशत बजेट रोक्का छ, त्यसैबाट कामदारको ज्याला भुक्तानी गर्ने प्रतिबद्धता कम्पनीका प्रतिनिधिबाट आएको छ”, उहाँले भन्नुभयो ।
निर्माण कम्पनीका प्रतिनिधिसँग बसेर ज्याला नपाएका कामदारको यकिन विवरण निकालेपछि वडाको समन्वयमा भुक्तानी प्रक्रिया अगाडि बढ्ने वडाध्यक्ष पुनले बताउनुभयो । निर्माण कम्पनीले व्यावसायिक प्रतिनिधिका रूपमा वसन्त केसीलाई भवन निर्माणको जिम्मा दिएको थियो । केसीले यसअघि पनि कामदारसमक्ष ज्याला दिने बताउँदै आए पनि भुक्तानीमा ढिलाइ गरिरहेको स्थानीयवासी सुरेश छन्त्यालले बताउनुभयो ।