४ असार २०८१, सोमबार
Follow Us

एनआरएनए डेभलपमेन्ट फन्डको आईपिओ जारी हुने

नेपालब्रिटेन संवाददाता
६ फाल्गुन २०७७, बिहीबार ०७:५४

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) ले स्थापना गर्न लागेको एनआरएन डेभलपमेन्ट फन्डको प्रबन्धपत्र, नियमावली र कम्पनी दर्ता कागजातमा हस्ताक्षर भएको हो । काठमाडौंमा उपलब्ध संस्थापकहरूले उक्त कागजातमा हस्ताक्षर गरेका हुन् ।

१० अर्बको कोषमा नेपाल सरकारबाट पाँच प्रतिशतले हुने ५० करोड रूपैयाँ लगानीको प्रतिबद्धता आइसकेको उपाध्यक्ष डा. बद्री केसीले जानकारी दिए । उपाध्यक्ष डा. केसीका अनुसार थप संस्थापकको १० प्रतशितले हुने १ अर्ब रूपैयाँ लगानी गर्नुपर्नेमा १ अर्ब ७० करोड जुटिसकेको छ । ८५ प्रतिशतमा संसारभरका गैरआवासीय नेपालीले १० डलर र त्यसभन्दा माथि लगानी गर्न पाउने छन् ।

स्वदेशको विकास र समृद्धिमा योगदान गर्ने अभियानअन्तर्गतको यो योजनाले लामो प्रयासपछि मूर्तरूप प्राप्त गरेको प्रतिक्रिया एनआरएनए अध्यक्ष कुमार पन्तले दिए । नेपालको पूर्वाधार क्षेत्रमा लगानी गर्न उत्सुक संसारभरका गैरआवासीय नेपालीको प्रतीक्षाको घडी अब समाप्त भएको पन्तको भनाइ थियो । दर्ता प्रक्रिया सकिएपछि चाँडै नै आईपीओ जारी गरिने उनले बताए ।