४ जेष्ठ २०८१, शुक्रबार
Follow Us

सर्वोच्चले प्रतिनिधिसभा विघटन सदर गर्ने पक्षमा प्रधानमन्त्री विश्वस्त: नेता नेम्वाङ

नेपालब्रिटेन संवाददाता
८ फाल्गुन २०७७, शनिबार १०:१३

विराटनगर। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता सुवास नेम्वाङले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन सदर गर्ने पक्षमा प्रधानमन्त्री केपी शर्मा ओली दुई सय प्रतिशत विश्वस्त रहेको बताएका छन् ।

आज (शनिबार) विराटनगरमा आयोजित आमसभालाई सम्बोधन गर्दै नेता नेम्वाङले भने, ‘प्रधानमन्त्री सयमा दुई सय प्रतिशत संसदको विघटन फिर्ता हुँदैन, अदालतबाट समर्थन हुन्छ भन्नेमा विश्वस्त हुनुहुन्छ’, उनले भने, ‘प्रधानमन्त्री ज्यूमाथि मलाई साह्रै विश्वास छ ।’ नेम्वाङले निर्वाचनको माहोल शुरु भइसकेको पनि दावी गरे ।

नेता नेम्वाङले दाहाल-नेपाल पक्षका नेकपालाई पनि निर्वाचनको तयारीमा लाग्न आग्रह गरे । ‘ढिलो होला बरु तपाईंहरु पनि चुनावमा लागिहाल्नुस्’, उनले भने । उनले दुई तिहाई बहुमतको सरकारले पेश गरेको प्रस्ताव संसदमा प्रस्तुत नभएका कारण प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको जिकिर गरे ।

नागरिकता विधेयक, एमसीसी, सत्य निरुपण तथा बेपत्तासम्बन्धी विधेयक लगायतका विधेयकहरू संसदमा प्रस्तुत नभएको उनको भनाइ छ ।