२३ बैशाख २०८१, आईतवार
Follow Us

प्रतिनिधिसभा विघटन अदालतबाट सदर नभए आन्दोलन गछौ: ओली

नेपालब्रिटेन संवाददाता
८ फाल्गुन २०७७, शनिबार १२:४४

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन अदालतबाट सदर नभए आन्दोलन गर्ने चेतावनी दिएका छन् । उपराष्ट्रपति र सभामुखको आलोचना गरेका ओलीले नेकपा दाहाल समूहका अध्यक्ष पुष्पकमल दाहाललाई भने पार्टीमा फर्किन आग्रह गरे ।

शनिबार विराटनगरमा आफूपक्षको आमसभामा बोल्दै प्रधानमन्त्री ओलीले संसद पुनस्र्थापना भए आन्दोलनमा जाने चेतावनी दिएका हुन् । प्रतिनिधिसभा विघटन सदर गराउन ‘सेटिङ’ गरिरहेको भन्दै अरू राजनीतिक दलले आरोप लगाइरहेका बेला उनले भने संसद पुनस्र्थापनाका लागि ‘सेटिङ’ भइरहेको दाबी गरे । कुनै सेटिङ–फेटिङ भएर संसद विघटन सदर भएन भने आन्दोलनको विकल्प नभएको उनको भनाइ छ ।

प्रधानमन्त्री ओलीले उपराष्ट्रपति र सभामुखको पनि आलोचना गरे । उपराष्ट्रपति नन्दबहादुर पुन सरकारविरुद्ध भाषण गर्दै हिडेको र सभामुख अग्निप्रसाद सापकोटा झगडिया भएको उनको आरोप छ ।

प्रधानमन्त्री ओलीले पुष्पकमल दाहाल सिद्धिने बाटोमा हिँडेको आरोप पनि लगाए । सुरुमा वैद्यको साथमा बसेका दाहाल त्यसपछि डाक्टरको साथमा लागेको र डाक्टरले पनि छोडेपछि अहिले झाँक्रीको साथमा पुगेको भन्दै ओलीले व्यंग्य गरे । ओलीले दाहाललाई अझै फर्किएर आउन आग्रह गर्दै नफर्किए भीरबाट लड्नेलाई राम मात्र भन्न सकिने बताए ।

ओलीले अहिलेको जनअपेक्षा चुनाव भएको भन्दै त्यसविपरीत निर्णय आए आन्दोलनका लागि तयार रहन समेत कार्यकर्तालाई आग्रह गरे । प्रधानमन्त्री ओलीले देशभरको सभा हेरेकै होला भनेर गुमाउरो पारामा अदालतलाई समेत चेतावनी दिए ।