२३ बैशाख २०८१, आईतवार
Follow Us

मेलम्ची खानेपानीको सुरुङ परीक्षण आज

नेपालब्रिटेन संवाददाता
१० फाल्गुन २०७७, सोमबार ०४:११

काठमाडौं । मेलम्चीको पानी सुरुङमा आजदेखि पानी भर्न शुरु गरिने भएको छ । यसका लागि प्राविधिक काम सम्पूर्ण रुपमा पूरा भएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

पानी भर्नु अघि आयोजनास्थल मेलम्चीमा आज औपचारिक कार्यक्रम राखिएको छ । गत असारमा पनि सुरुङमा पानी भनेर परीक्षण गरिएको थियो । त्यस क्रममा सुरुङको मुख्य ढोका फुटेर निस्केको पानीले एक इन्जिनियर र चालकलाई बगाएको थियो ।

विगतको जस्तो दुर्घटना नहोस् भन्नका लागि आयोजनाले यसपालि विशेष सतर्कता अपनाइएको समितिले जनाएको छ । परीक्षणका क्रममा हुन सक्ने दुर्घटनालाई मध्यनजर गरी हेलिकप्टर तयारी अवस्थामा राखिएको छ भने धुलिखदेखि काठमाडौँस्थित विभिन्न अस्पतालहरुसँग पनि समन्वय गरिएको छ ।

समितिका अनुसार सिन्धुपाल्चोकको मेलम्ची खोलादेखि काठमाडौंको सुन्दरीजलसम्मको साढे २६ किलोमिटर सुरुङमा पानी भर्न १६ दिन लाग्नेछ । सुरुवाती चरणमा भने सुरुङको क्षमताअनुसार पानी नछाडिने भएको छ । दैनिक १७ करोड लिटर पानी ल्याउने सुरुङको क्षमता ६ हजार लिटर प्रतिसेकेण्ड रहेको छ ।

मेलम्ची खानेपानी आयोजना पूरा भएमा उपत्यकामा दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यका ल्याउन सकिन्छ । उपत्यकामा खानेपानीको माग दैनिक ४१ करोड ५० लाख लिटर रहेको अनुमान छ । त्यसमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले दैनिक १० करोड ७२ लाख लिटर मात्र वितरण गर्छ । यसमा २० प्रतिशत चुहावट छ ।