२३ बैशाख २०८१, आईतवार
Follow Us

चन्द नेकपामाथिको प्रतिबन्ध फुकुवा गर्ने तयारी

नेपालब्रिटेन संवाददाता
१० फाल्गुन २०७७, सोमबार ०७:४१

काठमाडौं । सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई लगाउँदै आएको प्रतिबन्ध फुकुवा गर्ने भएको छ । सोमबार बस्ने मन्त्रिपरिषदको नियमित बैठकबाट सरकारले २०७५ साल फागुन २८ गते लगाएको प्रतिबन्ध फुकुवा गर्ने तयारी गरेको हो ।

मन्त्रिपरिषदलले सो समूहसँग वार्ताका लागि टोली समेत घोषणा गर्ने बताइएको छ । चन्द नेकपाले ललितपुरबाट धर्मेन्द्र बास्तोला, प्रवक्ता खड्गबहादुर विश्वकर्मा र ट्रेड युनियनमा रहेका एक नेता वार्ता टोलीमा राख्ने तयारी गरेको छ ।

चन्द नेकपाका महासचिव नेत्रविक्रम चन्दले सरकारसँग वार्ताका लागि सकारात्मक रहेको विज्ञप्ति जारी गरेसँगै सरकारले वार्ताका लागि आधार तय गर्न लागेको हो । चन्द नेकपाले वार्ताका लागि प्रतिबन्ध फुकुवालाई पहिलो सर्तको रुपमा अघि सारेको छ । गिरफ्तार गरिएका नेताहरुलाई रिहाइ गर्नुपर्ने सो पार्टीको सर्त छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा चन्दसँग वार्ता अघि बढेको जानकारी गराएका थिए । चन्दसँग हुन लागेको वार्ताले अस्थिरता चाहाने आत्तिएको उनको भनाइ थियो । चन्दसँग सहमति प्रयासका लागि खानेपानीमन्त्री मणि थापाले नख्खु कारागारमा रहेका सो पार्टीका नेता हेमन्तप्रकाश ओलीसँग समेत भेटघाट गरेका थिए ।