२० मंसिर २०८०, बुधबार
Follow Us

कोरोना सम्बन्धी कानुन उल्लंघन गर्ने दुई नेपालीलाई लण्डन विमानस्थलमा जरिवाना

नेपालब्रिटेन डट कम्
३ चैत्र २०७७, मंगलवार २२:०१

लन्डन । बेलायत सरकारको कोरोना भाइरस नियन्त्रण सम्बन्धी कानुनको उल्लंघन गरेको अभियागमा दुई जना नेपालीहरु लण्डनस्थित हित्रो विमानस्थलमा दण्डित भएका छन् ।

बेलायतस्थित ट्राभल्स कन्स्लोका प्रमुख विराज भट्टका अनुसार आइतवार नेपालबाट लण्डन उत्रेका ती नेपालीहरुले बेलायत सरकारले तोके बमोजिमको फारम नभरेको भेटिए पछि उक्त जरिवाना गरिएको हो । उनीहरुलाई प्रतिव्यक्ति १ हजार पाउण्डका दरले जरिवाना तोकिएको छ ।

भट्टले नेपाल जाने र आउने यात्रुहरुले दुवै देशले जारी गरेका कोरोना सम्बन्धी नियमलाई कडाईका साथ पालना गर्न आग्रह गरे ।

अहिले विमानस्थलहरुमा निकै कडाई गरिएको छ हेलचक्राई गरेमा समस्या पर्न सक्छ, त्यसैले सबै यात्रुहरुले उडान गर्नुअघि नियमको पालना गर्नु पर्छ भट्टले सोमवार साँझ नेपालब्रिटेन डट कमसंग भने ।

भट्टले बेलायत सरकारले कतारलाई पनि ‘रेड लिष्ट’ मा राखेपछि नेपालबाट यूके फर्किनुपर्ने नेपालीहरु प्रभावित हुने बताएका छन् ।

आउंदो १९ मार्च शुक्रबार बिहान ४ बजेपछि कतार हुंदै बेलायत आउने यात्रुहरुले अनिवार्य १० दिन क्वारेन्टिन बस्नुपर्नेछ र यसको खर्च १७५० पाउण्ड लाग्छ ।

भट्टले कतार रेड लिष्टमा परे पछि यात्रुहरुले बैकल्पिक रुपमा टर्कीको रुट प्रयोग गर्दा सहज हुने जानकारी दिए ।

यसैबीच नेपाली दूतावासमा लण्डनले सोमवार एक सूचना जारी गर्दै बेलायत यात्रा गर्ने यात्रुहरुले बेलायत सरकारले जारी गरेको होटल स्वारेन्टिन सम्बन्धी नियमहरुको पालना गर्न आग्रह गरेको छ ।