२७ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएनएको सहकार्यमा बाग्लुङ्गमा टेलीमेडिसिन संचालन गर्न छलफल सुरु

नेपालब्रिटेन डट कम्
२१ बैशाख २०७८, मंगलवार ०६:१५

एनआरएनएको सहकार्यमा बाग्लुङ्गमा टेलीमेडिसिन संचालन गर्न छलफल सुरु
लण्डन । बाग्लुङ्ग जिल्ला टेलीमेडिसीन संचालन गर्नको लागि छलफल सुरु भएको छ ।

जिल्लामा टेलीमेडिसीन मार्फत स्वास्थ्य सेवा प्रदान गर्न अन्तराष्ट्रिय बाग्लुङ्ग समाजको सकृयतामा बाग्लुङ्ग नगरपालिका र गैरआवासीय नेपाली संघ, युकेबीच अन्तरक्रिया सम्पन्न भएको छ ।
टेलिमेडिसीन सेवालाई त्रिपक्षीय सहकार्यमा दिर्घकालिन रुपमा संचालन गर्ने अन्तराष्ट्रिय बाग्लुङ्ग समाजका अध्यक्ष एकराज गिरीले जानकारी दिए ।

भर्रचुल मार्फत सोमवार सम्पन्न अन्तरक्रियामा बोल्दै गैरआवासीय नेपाली संघका महासचिव डा. हेम राज शर्माले प्रविधीको प्रयोग गरेर जिल्लावासीलाई स्वास्थ्य सेवा दिन सकिने बताए ।

शर्माले जिल्लाको विकासमा गैरआवासीय नेपाली संघ सहकार्य गरेर अघि बढ्न तयार रहेको बताए ।

कार्यक्रममा चार भन्ज्यांग तमु समाज युकेका अध्यक्ष चन्द्र गुरुङले पर्बतको फलेवास (खाल्टे) मा संचालन भएको टेलिमेडिसीन सफल भएको अनुभव सुनाए ।

कार्यक्रममा बाग्लुङ्ग नगरपालिकाका प्रमुख जनक पौडेलले एनआरएनए र अन्तराष्ट्रिय बाग्लुङ्ग समाजसंग सहकार्य अघि बढ्ने प्रतिबद्धता जनाए ।

उनले नगरपालिकाको तर्फबाट सबै प्रशासनिक काममा सहजीकरण गर्न स्वास्थ्य ईकाईहरुलाई परिचालन गरिने बताए ।

अन्तरक्रिया कार्यक्रममा गैरआवासीय नेपाली संघ यूकेकी अध्यक्ष पुनम गुरुङ्गले ग्रामिण क्षेत्रमा टेलिमेडिसीन सेवा अत्यन्त प्रभावकारी हुने बताउँदै आगामी दिनमा सहकार्य गरेर अघि बढ्ने बताइन् ।

कार्यक्रममा नगरपालीका प्रशासन प्रमुख जीवन ज्ञवाली, स्वास्थ्य ईकाई प्रमुख रामप्रसाद खनाल, लेखा अधिकृत शिव रेग्मी, अन्तर्राष्ट्रिय बागलुङ समाजका उपाध्यक्ष दीपक गौतम, कार्यालय प्रमुख सुरेन्द्र कंडेल लगायतको आआफ्ना धारणा राखेका थिए ।

यसअघि अन्तराष्ट्रिय बागलुङ समाजले स्थानीय निकायका प्रमुखहरुसंग गत मार्च महिनामा अन्तरक्रियाको आयोजना गरेको थियो ।