५ श्रावण २०८२, सोमबार
Follow Us

गैरआवासीय नेपालीहरुको सहयोगको खाँचो छ : प्रधानमन्त्री ओली

नेपालब्रिटेन डट कम्
१ जेष्ठ २०७८, शनिबार २२:५८

लण्डन । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नियन्त्रणमा गैरआवासीय नेपालीहरुको सहयोगको खाचो रहेको बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार स्वास्थ्य क्षेत्रसँग सम्बन्धित जानकारसँगको छलफलमा उनले कोरानाको सामना गर्न सरकार सक्षम रहेको बताए ।

हामी कोरोना सामना गर्न सक्षम छौँ, सरकारले थुप्रै विषय कार्यान्वयन गरेको छ, नियन्त्रणका उपाय गर्न तयार र उत्सुक छ, आगामी दिनमा पनि निरन्तर हुन्छु, उनले भने, ‘सरकारका प्रयासमा स्वास्थ्य क्षेत्र, निजी व्यावसायिक क्षेत्र, गैरसरकारी संस्था, गैरआवासीय नेपाली सबैका आआफ्ना ठाउँबाट संगठित प्रयासको खाँचो छ ।’

ओलीले सरकारले तोकेको स्वास्थ्य मापदण्डको पालनामा सबैले ध्यान दिनुपर्ने बताए । ‘जनतालाई फेरि पनि सजग गराउन आवश्यक छ । कोरोनाका लागि कुनै पनि तोकिएको औषधि छैन तर पनि जनतामा यो खाएर निको हुन्छ कि भन्ने विश्वास छ, रेम्डिसिभिर नै कोरोनाको औषधि होइन, यसलाई जनतामा बुझाउनुपर्छु, प्रधानमन्त्री ओलीले भने ।

अक्सिजनको आपूर्ति तथा उपकरणको उपलब्धतामा सबैको जोड हुनुपर्ने बताउँदै उनले अक्सिजन, औषधिलगायत अत्यावश्यक सामग्रीको जोहो गर्न सरकार गम्भीर भएर लाग्ने दृढता व्यक्त गरे । कोरोना नियन्त्रणका लागि सञ्चालनमा ल्याइएका हटलाइन नम्बरमा फोन नउठ्ने गुनासा बाहिर आएकाले समस्या समाधान तत्काल गर्न आवश्यक जनशक्तिको व्यवस्था गर्न उनले निर्देशन दिए ।

संक्रमित होम आइसोलेशनमा बस्दा समुदायमा संक्रमण फैलिएको हुन सक्ने तर्फ सरकार सचेत रहेको जनाउँदै उनले होम आइसोलेसनमा बसेका संक्रमितले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्नेमा जोड दिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले करिब ९२ प्रतिशत संक्रमित होम आइसोलेशनमा छन् ।

कोरोना संक्रमण बढिरहेका बेला जनतालाई अत्यास लाग्ने अभिव्यक्ति कोही कसैले पनि दिन नहुनेमा जोड दिँदै उनले नागरिकको उपचार सरकारले गर्ने बताए । ‘हाम्रो स्वास्थ्य प्रणालीमा केही समस्या देखिएका होलान् तर ‘कोल्याप्स’ भएको छैन’, प्रधानमन्त्रीले भन्नुभयो, ‘समस्या भए समस्या छन् पो भन्नुपर्‍यो, कोल्याप्स भयो त भन्नुभएन नि ।’

छलफलमामा गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, अध्यक्ष कुमार पन्त लगायत स्वास्थ्य तथा जनसंख्यामन्त्री, सुरक्षा निकायका प्रमुख, विशेषज्ञ चिकित्सक, निजी क्षेत्रका प्रतिनिधिलगायतको उपस्थिति थियो ।

धेरै पढिएको