२६ बैशाख २०८१, बुधबार
Follow Us

एनआरएनए युगान्डाको सहयोगमा ७८ थान अक्सिजन सिलिन्डर र स्वास्थ्य सामाग्री हस्तान्तरण

नेपालब्रिटेन डट कम्
५ जेष्ठ २०७८, बुधबार १५:३७

काठमाडौं । एनआरएनए युगान्डाको आर्थिक सहयोगमा बाराको जीतपुर सिमरा उपमहानगरपालिकाको सिमरा स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा सञ्चालित कोभिड आइसोलेसन र उपचार केन्द्रलाई ७८ थान अक्सिजन सिलिण्डर र स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।

अफ्रिका एनआरएनएको तर्फबाट स्थानीय समाजसेवी अनिल तिवारीले नगर प्रमुख डा.कृष्ण पौडेललाई अक्सिजन सिलिन्डर र स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् ।

गैरआवासीय नेपाली संघका अफ्रिका स्थित राष्ट्रिय समन्वय समितिहरूको संयुक्त सहकार्यमा संघले आइसोलेसन र उपचार केन्द्रलाई आवश्यक पर्ने सोडिएम हाइपोक्लोराईड २५ लिटर, सेनिटाईजर ५० लिटर, सर्जिकल ग्लोभस २ सय थान, डिजीटल थर्मोमिटर ५ थान, अक्सिमिटर ५ थान, बेटाडिन ५ लिटर, सरजीकल मास्क ३ हजार थान र सिटमोल एक सय पत्ता स्वास्थ्य समाग्री उपलब्ध गराएको छ ।

त्यसैगरी संघले जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघलाई स्थानीय बिपन्न नागरिकलाई उपलब्ध गराउन २० थान अक्सोमिटर हस्तान्तरण गरेको छ ।

अफ्रिकाबाट दुई नम्बर प्रदेशका लागि सहायताको संयोजन गरिरहेका एनआरएनए युगान्डाका अध्यक्ष बिनोद थापाले थप ७२ वटा अक्सिजिन सिलिन्डर उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने बताएका छन् । थापाले उपमहानगरपालिकालाई कुल १५० सिलिन्डर सहयोग गरिने जानकारी दिए ।

एनआरएनए अफ्रिकाका क्षेत्रीय संयोजक रोशन थापाले हालसम्म यस अभियान अन्तर्गत टीकापुर , परासी , रजहर , सिमरा र रत्ननगरका अस्पताललाई सहयोग उपलब्ध गराइसकेको जानकारी दिँदै अछाम, कैलाली, कर्णाली प्रदेशको जुम्ला, इलाम, ताप्लेजुङ, गुल्मी, पाल्पा र स्याङ्जाका लागि तयारी हुँदै गरेको बताए ।

संयाजक थापाले स– सानो रुपमा भए पनि देशका बिभिन्न स्थानमा अक्सिजन सहयोग गर्ने अभियानमा जोडिएका भएका अफ्रिकाका सबै एनआरएनए राष्ट्रिय समिति र एनआरएनका सहकर्मीलाई अभार व्यक्त गरेका छन् । ।