काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान प्रतिनिधिसभा विघटन गरी अर्काे निर्वाचन आगामी कात्तिक २६ र मङ्सिर ३ गते गर्ने गरी मिति तोक्नुभएको छ ।
नेपालको संविधानको धारा ७६ को उपधारा ७ बमोजिम सोसम्बन्धी सिफारिश मन्त्रिपरिषद्को राति अबेर बसेको बैठकबाट निर्णय भएबमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिसमक्ष गर्नुभएको थियो ।
पहिलो र दोस्रो चरणमा अर्काे प्रतिनिधिसभा निर्वाचन गर्ने गरी सो मिति तोकिएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेबाट गएराति जारी गरिएको विज्ञप्तिमा जनाइएको छ ।
दावीकर्ता दुवै प्रतिनिधिसभा सदस्यका समर्थक भनिएका सदस्य एकार्कामा दोहोरो परेको, दलको निर्णय विपरीत एकले अर्कालाई समर्थन गरेको र सम्बन्धित दलले मान्यता नदिन लेखिआएको तथा संविधानको धारा ८९ एवं राजनीतिक दलसम्बन्धी ऐन, २०७३ लाई ध्यानमा राख्दा दुवैले विश्वास प्राप्त गर्न सक्ने ठोस आधार नदेखिएको विज्ञप्तिमा स्पष्ट गरिएको छ ।
राष्ट्रपतिले आज साँझ ५ बजेसम्म प्रधानमन्त्रीमा दावी गर्न प्रतिनिधिसभा सदस्यलाई आह्वान गर्नुभएको थियो ।