१५ बैशाख २०८१, शनिबार
Follow Us

यस्तो छ छिमेकी देशमा कोरोनाको अवस्था ?

नेपालब्रिटेन संवाददाता
१० जेष्ठ २०७८, सोमबार ०५:४९

काठमाडौं । कोरोना भाइरसको दोस्रो भेरियन्टको प्रभाव नेपालसँग छिमेकी भारत, पाकिस्तान र बंगलादेशमा पनि नराम्रो प्रभाव परेको छ । तर, चीनले भने कोरोनालाई नियन्त्रणमा लिएको छ ।

चीनमा झण्डै ५० करोड डोज खाोप लगाइयो
कोरोनाभाइरस महामारी शुरुमा देखिएको चीनमा शनिबारसम्म कोभिड–१९ विरुद्ध करिब ५० करोड डोज खोप लगाइएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार देशभर ४९ करोड ७२ लाख ७० हजार डोज खोप दिइएको छ । कोभिड–१९ का लक्षणहरु चीनका केही स्थानमा देखिएपछि हाल दैनिक झण्डै एक करोड ५० लाखका दरले खोप लगाउने अभियान सञ्चालन भइरहेको आयोगले जनाएको छ ।

विश्वमा हाल खोप लगाउने अभियानमा चीन अग्रस्थानमा छ । चीनले आफ्नै देशका सिनोफार्म समेतका कम्पनीले उत्पादन गरेका खोपहरु लगाइरहेको छ । बिबिसीका अनुसार विश्वभर करिब एक अर्ब ६० करोड डोज खोप लगाइएको छ ।

यस्तै, संयुक्तराज्य अमेरिकामा करिब १६ करोड तथा भारतमा करिब १५ करोड व्यक्तिले कम्तीमा एक डोज खोप पाएका छन् । त्यस्तै, ब्राजिलमा तीन करोड ८२ लाख, संयुक्त अधिराज्यमा तीन करोड ७५ लाख, जर्मनीमा तीन करोड ३२ लाख, फ्रान्समा दुई करोड २१ लाख, इटालीमा दुई करोड तथा क्यानडामा एक करोड ८७ लाखले खोप लिएका छन् ।

भारतमा अहिलेसम्मकै धेरै एकै दिनमा २१ लाख २३ हजारको कोरोना परीक्षण
भारतमा एकैदिनमा २१ लाख २३ हजारभन्दा बढीको कोरोना परीक्षण गरिएको छ । एकै दिनमा यति धेरै कोरोना परीक्षण गरिएको यो पहिलो पटक भएको सरकारी अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार एकै दिनमा २० लाखभन्दा बढीको कोरोना परीक्षण गरिएको यो पाँचौ दिन हो ।

पछिल्लो २४ घण्टामा भारतमा २१ लाख २३ हजार ७८२ हजार जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । भारतमा दैनिक २५ लाख जनाको कोरोना परीक्षण गर्न सक्ने क्षमता रहेको पनि मन्त्रालयका अधिकारीहरुले बताएका छन् । दैनिक सङ्क्रमितको सङ्ख्यामा कमी आउदै गएको देखिएको छ । पछिल्ला केही दिनदेखि दैनिक तीन लाखभन्दा कम सङ्क्रमित हुने गरेका छन् ।

सरकारी अधिकारीहरुले आइतबार बिहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा दुई लाख ४० हजार ८४२ जना नयाँ सङ्क्रमित थपिएका छन् । त्यसैगरी सोही अवधिमा अरु तीन हजार ७४१ जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो एक दिनमा भारतमा तीन लाख ५५ हजार १०२ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको पनि मन्त्रालयको तथ्याङ्क छ ।

मन्त्रालयको विवरण अनुसार नयाँ सङ्क्रमितको सङ्ख्या भन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या एक लाखभन्दा बढी धेरै रहेको छ । भारतमा अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या दुइ करोड ६५ लाख ३० हजार १३२ रहेको छ । ती मध्ये २८ लाख पाँच हजार ३९९ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् ।

भारतमा कोरोनाभाइरसका कारण अहिलेसम्म कुल मृतकको सङ्ख्या दुई लाख ९९ हजार २६ पुगेको छ । सोमबार विहानसम्ममा तीन लाख नाघ्ने देखिएको छ । कोरोनाभाइरसबाट सङ्क्रमित भएरपनि अहिले सङ्क्रमणमुक्त भइसकेकाहरुको सङ्ख्या भने अहिलेसम्म दुई करोड ३४ लाख २५ हजार ४६७ पुगेको छ ।

कोरोनाभाइरसबाट अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्यामा महाराष्ट्र राज्यलाई कर्नाटकले उछिनेको छ । यसअघि लामो समयसम्म सवैभन्दा धेरै सङ्क्रमितहरु रहेको राज्यमा महाराष्ट्र राज्य रहदै आएको थियो ।

अहिले कर्नाटक राज्यमा चार लाख ८३ हजार २०४ जना सक्रिय सङ्क्रमितहरु रहेका छन् भने महाराष्ट्र राज्यमा तीन लाख ५२ हजार २४७ जना सक्रिय सङ्क्रमित रहेका छन् । भारतमा अहिलेसम्म ३२ करोड ८६ लाख सात हजार ९३७ पटक कोरोना परीक्षण गरिएको छ । ती मध्ये २१ लाख २३ हजार ७८२ जनाको शनिबार परीक्षण गरिएको हो ।

कोरोनाभाइरसविरुद्धको खोप लगाउने अभियान पनि भारतमा तिव्ररुपमा भइरहेको छ । संघीय स्वास्थ्य मन्त्रालयले अहिलेसम्म १९ करोठ ५० लाख चार हजार १८४ खोप उपयोग भएको जनाएको छ ।

बङ्गलादेशमा लकडाउन अवधि बढ्यो, यातायात सञ्चालनलाई खुकुलो पारिने
बङ्गलादेशले कोभिड–१९ नियन्त्रणका लागि लगाउँर्दै आएको बन्दाबन्दीलाई मे ३० सम्म विस्तार गर्ने निर्णय गरेको छ । सरकारले बन्दाबन्दीको अवधि बढाएपनि यातायात सञ्चालनमा रहेको प्रतिबन्धलाई सहज बनाएको छ । बङ्गलादेशले महामारी फैलिन नदिन गत महिनादेखि बन्दाबन्दीको घोषणा गरेको थियो ।

बङ्गलादेशको मन्त्री परिषद्ले आइतबार एक सूचनामार्फत् यो निर्णय सार्वजनिक गरेको हो । पछिल्लो पत्र अनुसार सरकारले आइतबार मध्यरातदेखि स्वास्थ्य नियमहरू पालना गर्ने सर्तमा सार्वजनिक यातायात सेवाहरू पुनः सञ्चालन गर्ने निर्णय गरेको छ ।

कोभिड– १९ विरूद्धको अभियानमा बङ्गलादेशले अप्रिल १४ देखि २१ सम्म आठ दिन कडा लकडाउनको घोषणा गरेको थियो भने पछि यसलाई चरणबद्ध रूपमा मे २३ सम्मका लागि विस्तार गरेको थियो । यस मुलुकमा आगामी दिनमा होटल र रेष्टुरेन्टहरू पनि प्रतिबन्धको दायरा बाहिर राखिएको छ । हालका दिनहरूमा कोभिड–१९ सङ्क्रमण र मृत्यु दरमा न्यूनता आउन थालेपछि प्रतिबन्धहरूलाई सहज बनाइएको हो ।

शनिबार, यहाँको स्वास्थ्य सेवा महानिर्देशालयले गत २४ घण्टाभित्र कोभिड–१९ सङ्क्रमितको सङ्ख्या एक हजार २८ रहेको छ भने ३८ सङ्क्रमितको मृत्यु भएको छ । यससँगै बङ्गलादेशमा कोभिड–१९ बाट अहिलेसम्म सङ्क्रमितको सङ्ख्या सात लाख ८७ हजार ७२६ पुगेको छ भने १२ हजार ३४८ सङ्क्रमितको मृत्यु भएको छ ।

आधिकारिक तथ्याङ्कका अनुसार बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितको मृत्यु दर १.५७ प्रतिशत छ र निको भएकाको सङ्ख्या ९२.६५ प्रतिशत छ ।

पाकिस्तानको कोभिड–१९ सङ्क्रमित सङ्ख्या नौ लाखभन्दा बढी पुग्यो
पाकिस्तानमा कोभिड–१९ सङ्क्रमणमा पछिल्लो समय देखिएको वृद्धिसँगै सङ्क्रमित सङ्ख्या नौ लाखभन्दा बढी पुगेको छ ।

‘नेशनल कमाण्ड एण्ड अपरेशन सेन्टर’ (एनसीओसी) को तथ्याङ्क उद्धृत गर्दै पाकिस्तानी जियो न्यूजले लेखेको छ, “पाकिस्तानमा कोरोनाभाइरस सङ्क्रमित थप ७४ जनाको मृत्यु भएको छ भने कूल मृतक सङ्ख्या २० हजार २५१ पुगेको छ । पछिल्लो २४ घण्टामा तीन हजार ८४ जना सङ्क्रमित भएका छन् । प्रकोप शुरू भएदेखि सिन्ध प्रान्तमा तीन लाख छ हजार ७०७, पञ्जाबमा तीन लाख ३३ हजार ५७, खैबर पख्तून्ख्वामा एक लाख २९ हजार १३, बलूचिस्तानमा २४ हजार ४१३ र पाकिस्तान प्रशासित काश्मिरमा १८ हजार ६५१ व्यक्ति सङ्क्रमित रहेका छन् ।”

संघीय शिक्षा मन्त्रालयले शुक्रवार दिएको जानकारीमा पाकिस्तानका ५२ जिल्लामा कोभिड–१९ पुष्टि हुनेको सङ्ख्या पाँच प्रतिशतभन्दा बढी रहेको जियो न्युजले जनाएको छ । यसैबीच, सिन्धका १२ जिल्लामा कोभिड–१९ सङ्क्रमण दर उच्च रहेको भन्दै शैक्षिक संस्थानहरू जून ६ सम्म बन्द रहने बताइएको छ ।