२१ जेष्ठ २०८१, सोमबार
Follow Us

केपी ओली मेडिकल माफियाका प्रमुख संरक्षक: डा. गोबिन्द केसी

नेपालब्रिटेन संवाददाता
१० जेष्ठ २०७८, सोमबार १०:२१

काठमाडौं । डा. गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओली मेडिकल माफियाका प्रमुख संरक्षक रहेको आरोप लगाएका छन् ।

झापाको प्रस्तावित बीएण्डसी मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईं प्रधानमन्त्रीको आर्थिक र राजनीतिक साझेदार रहेको समेत उनले बताए । प्रसाईंको मेडिकल कलेजलाई गैरकानूनी रुपमा सम्बन्धन दिलाउन ओलीले अनेक हथकण्डा अपनाएको उनको भनाई छ ।

‘प्रधानमन्त्री ओलीले आफू र आफ्ना आसेपासेको कालो धनको लगानीबाट स्थापित निजी संस्थाहरुको दूषित स्वार्थपूर्तिका खातिर कानून बनाउने, राज्य कब्जा गर्ने र राज्यका संस्थाको चरम दुरुपयोग गर्ने कार्य गर्दै आएको कुरा नौलो होइन’ केसीले सोमबार जारी विज्ञप्तिमा भनेका छन् । ‘आपराधिक आर्जनको लगानी गरी चिकित्सा शिक्षाको व्यापारिकरण गर्ने मेडिकल माफियाका प्रमुख संरक्षक पनि उनी नै हुन् ।’ उनले भनेका छन् ।

काठमाडौं विश्वविद्यालयले बीएण्डसीलाई सम्बन्धन दिने तयारी गरेपछि केसीले विरोध जनाएका हुन् । उनले प्रधानमन्त्री ओलीको संरक्षण पाएपछि जस्तोसुकै अवैध काम गर्न सकिन्छ भन्ने विश्वासका कारण उक्त प्रस्तावित मेडिकल कलेजले २०७३ सालयता आशयपत्र नवीकरण पनि नगरेको बताएका छन् ।

जबकि चिकित्सा शिक्षा नियमावली २०७७ अनुसार नवीकरण नगराएको आशयपत्र स्वतः रद्द हुने भए पनि प्रधानमन्त्री ओलीले जबर्जस्ती चिकित्सा शिक्षा आयोगको बैठक राखेर अवैध निर्णय गर्न आयोगका सदस्यहरुलाई बाध्य पार्न खोजेको केसीले उल्लेख गरेका छन् ।