२६ बैशाख २०८१, बुधबार
Follow Us

सातवटै प्रदेशमा एनआरएनएले अक्सिजन प्लान्ट स्थापना गर्ने

नेपालब्रिटेन डट कम्
१० जेष्ठ २०७८, सोमबार २२:२३

लन्डन । एनआरएनएले सात वटै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ । गैरआवासीय नेपाली संघले आफ्नो विश्वव्यापी सञ्जालमार्फत ‘नेपालमा अक्सिजन पठाऔं, आफन्तको ज्यान बचाऔं’ अभियान सञ्चालन गरी आर्थिक तथा स्वास्थ्य सामग्री नेपाल पठाउने क्रम जारी रहंदा अभियानको निरन्तरता र यसलाई थप परिष्कृत बनाउने उद्देश्यका साथ अध्यक्ष कुमार पन्तको अध्यक्षतामा आइतबार बसेको संघका राष्ट्रिय समिति, पदाधिकारीहरु, केन्द्रीय पार्षदहरुको संयुक्त बैठकले नेपालका सातवटै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय गरेको हो ।

यस्तै तीव्र रुपमा नेपालमा फैलिरहेको कोरोना संक्रमण नियन्त्रण गर्नका लागि खोप नै अन्तिम विकल्प भएकाले तत्काल अन्तर्राष्ट्रिय समुदायसँग खोप उपलब्ध गराइदिन अपिल गर्ने निर्णय गरिएको छ । त्यसका लागि गैरआवासीय नेपाली संघका राष्ट्रिय समितिमार्फत सम्बन्धित देशका सरकार समक्ष नेपालको लागि खोप उपलब्ध गराउन पहल गरिने संघले जनाएको छ ।

हवाई उडान सहजीकरणका लागि आग्रह

कोरोना संक्रमणको दोस्रो लहर अनि नयाँ भेरियन्टका कारण नेपालका अधिकांश जिल्लामा निशेधाज्ञा, केही जिल्लामा लकडाउन जारी छ । नेपाल सरकारले स्वास्थ्य सुरक्षाका लागि भन्दै जारी गरेको आन्तरिकसहित अन्तर्राष्ट्रिय उडान स्थगन गरेको छ । जसका कारण विभिन्न मध्यपूर्वी मुलुकमा कार्यरत नेपाली श्रमिक, विभिन्न अत्यावश्यक कामकाजका लागि नेपाल आउन आवश्यक भएका र विभिन्न कामका सिलसिलामा नेपालमा गएर कर्मभूमि फर्कन नपाएका गैरआवासीय नेपालीहरु समस्यामा परेका बताउंदै संघले नेपाल सरकार समक्ष अन्तर्राष्ट्रिय उडानलाई स्वास्थ्य सुरक्षाका प्रोटोकल अपनाउने शर्तमा तत्काल खुला गर्न आग्रह गरेको छ ।

पछिल्लो समय नेपालबाट भारतीय लगायत अन्य देशका नागरिकहरुले अन्तर्राष्ट्रिय यात्राका लागि सुविधा पाएपनि नेपालीहरु भने समस्यामा परेको गुनासो समेत सुनिएको भन्दै यात्रामा नेपाली नागरिकलाई पहिलो प्राथमिकतामा राख्न समेत संघको अनुरोध छ ।

यसका साथै विदेशबाट नेपाल फर्कदा नेपाली दूतावासहरुबाट अनुमति लिनुपर्ने लगायतका विषयमा विद्यमान झन्झटिला प्रावधान हटाई यात्रा सहजीकरण गरिदिन समेत संघले नेपाल सरकारसँग अनुरोध गरेको छ ।

यात्रा सम्बन्धि सरकारले तोकेका सम्पूर्ण स्वास्थ्य मापदण्ड, नेपालमा पूरा गर्नुपर्ने क्वारेन्टिनको अवधि लगायतका अन्य प्रोटोकल कडाईका साथ पालना गर्न समेत संघले सम्पूर्ण गैरआवासीय नेपालीलाई आग्रह गरेको छ ।