१८ बैशाख २०८१, मंगलवार
Follow Us

उपत्यकाका निषेधाज्ञामा थप कडाई, सरकारी कार्यालयका गाडी दिउँसो चल्न नपाउने

नेपालब्रिटेन संवाददाता
११ जेष्ठ २०७८, मंगलवार १२:३८

काठमाडौँ । काठमाडौँ उपत्यकामा बैशाख १६ गते देखि जारी निषेधाज्ञा एकसाता थप गरिएको छ । थप गरिएको निषेधाज्ञा अवधिमा अघिल्लो समय भन्दा नियममा थप कडाई गरिने भएको छ ।

आज (मंगलबार) बसेको काठमाडौँ, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले उपत्यकाको निषेधाज्ञा थप गर्दै सरकारी सवारीसाधनलाई दिउँसो चल्न नदिने निर्णय गरेको छ ।

निषेधाज्ञाको समयमा पनि आवतजावत नघटेको भन्दै उपत्यकाको तीन जिल्लाको प्रशासन कार्यालयले सरकारी गाडीलाई दिउँसो सञ्चालन गर्न नदिने निर्णय गरेको हो । अब सरकारी कार्यालय, बैंक, सार्वजनिक संस्थान र इन्टरनेट सेवा प्रदायकका सवारीसाधन बिहान साढे ९ बजेदेखि साढे १० सम्म र साँझ ५ बजेदेखि ६ बजेसम्म मात्र चल्न पाउने व्यवस्था गरिएको काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए ।

यस सँगै काठमाडौँ उपत्यकामा किराना पसल र डिपार्टमेन्ट स्टोर पनि बन्द गर्ने निर्णय गरिएको छ । किराना र डिपार्टमेन्ट स्टोर बन्द गर्ने निर्णय जेठ १४ गतेबाट लागु हुने अधिकारीले बताए ।

मंगलबार काठमाडौँका प्रजिअ कालीप्रसाद पराजुली, भक्तपुरका प्रजिअ प्रेम प्रसाद भट्टराई र ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौला सहभागी बैठकले निजी र सार्वजनिक निर्माणका कार्य पनि बन्द गर्ने निर्णय गरेको छ ।

कोरोना भाइरस संक्रमण नियन्त्रणमा कुनैपनि असर नदेखिएको र संक्रमण दरमा कमि नआएकले उपत्यकाका निषेधाज्ञा मंगलबार चौथो पटक थप्दै प्रशासनले कडा प्रावधान ल्याएको हो ।