१८ बैशाख २०८१, मंगलवार
Follow Us

राष्ट्रपतिद्वारा दुई छिमेकी मुलुकका समकक्षीसँग खोप उपलब्ध गराउन आग्रह

नेपालब्रिटेन संवाददाता
१२ जेष्ठ २०७८, बुधबार ११:५९

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई छिमेकी मुलुकका समकक्षीसँग खोप उपलब्ध गराउनका लागि आग्रह गरेकी छन् ।

भारतिय समकक्षी रामनाथ कोविन्दलाई कुटनीतिक माध्यामबाट पत्राचार गरेर चिनियाँ समकक्षी सी जिङपिङलाई टेलिफोन मार्फत खोप उपलब्ध गराउन आग्रह गरेकी हुन् । राष्ट्रपति भण्डारीले भारतिय समकक्षीलाई पठाएको पहिलो डोज कोभिडसिल्ड खोप लगाएर बसेका नेपाली नागरिकलाई दोस्रो डोजको लागि आवश्यक मात्रा उपलब्ध गराउने कार्यका लागि पहल गरिदिन आग्रह गरेकी छन् ।

सिरम इष्टिच्युटले वर्ष २०२१ को अन्त्यबाट मात्र विदेशमा खोप निर्यात गर्ने भनेपछि नेपालले राष्ट्रपतिमार्फत विशेष पहल गरिएको हो । त्यस्तै चिनिया समकक्षी जिङपिङलाई टेलिफोन गरेर कोरोना विरुद्धको खोप उपलब्ध गराउन आग्रह गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति भण्डारीले नेपालले झन्डै २ करोड जनसंख्यालाई खोप लगाउनुपर्ने र यसका लागि आवश्यक पहल भैरहेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले आवश्यक मात्रामा खोप खरिद गरेर लगाउन पनि नेपाल तयार रहेको चिनियाँ राष्ट्रपतिसँगको टेलिफोन संवादमा बताएकी छन् । नेपालमा मंगलबारसम्म २१ लाख १३ हजार जनाले पहिलो डोज खोप लगाएर दोस्रो डोजको प्रतिक्षामा छन् ।

भारतले यसअघि २० लाख डोज कोभिसिल्ड खोप नेपाललाई उपलब्ध गराइसकेको छ । बाँकी दश लाख डोज खोप आउन बाँकी छ ।