२४ बैशाख २०८१, सोमबार
Follow Us

पत्रकार महासंघ यूके निर्वाचनः ३ पदमा निर्वाचन हुने, सदस्यमा उम्मेदवार भेटिएनन्

नेपालब्रिटेन डट कम्
१९ जेष्ठ २०७८, बुधबार ०५:०१

लण्डन । नेपाल पत्रकार महासंघ यूकेको अध्यक्षको लागि दुई जना उम्मेदवारबीच चुनाव हुने भएको छ । १३ जुनमा हुने पाँचौं अधिवेसनको लागि शाखाका बरिष्ठ उपाध्यक्षद्धय ध्रुवराज अर्याल र श्याम लुईटेलबीच प्रतिस्पर्धा हुने भएको हो । अर्याल अन्नपूर्ण दैनिकको लागि बेलायत संवाददाता र नेपालीलिंक डट कमका सम्पादक हुन् । लुईटेल वीनेपालीमा आबद्ध छन् ।

शाखाको निर्वाचन समितिले सोमवार अबेर सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावली अनुसार बरिष्ठउपाध्यक्षमा दिनेश परियार र संजय कंडेलबीच निर्वाचन हुने भएको छ । उपाध्यक्षमा शिव भण्डारी र प्रमिला लाबुङ निर्विरोध भएका छन् ।

यस्तै महासचिव पदको लागि नरेन्द्र बस्नेत र जगन कार्कीबीच चुनाव हुने भएको छ । बस्नेत रातोपाटी डट कममा आबद्ध छन् भने कार्की ग्लोवलनेपाली डट कममा सकृय छन् ।

दुई सचिव पदमा मन्जु भण्डारी र खेमराज रानाभाट निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै कोषाध्यक्षमा सविन्द्र कुमार गुरुङ, सहकोषाध्यक्षमा सुरेन्द्र इङनाम निर्विरोध भए । कार्यसमितिका ६ पदको लागि ३ जनाको मात्र उम्मेदवारी परेको थियो । सदस्यमा नगेन्द्र नेम्वाङ, गोमा राना र जयराम तामाङ निर्विरोध भएका छन् ।

यसअघि अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका विपीन निरौला, बिमला सेने र उपाध्यक्षमा उम्मेदवारी दिएका एभ्रेष्ट गौतमको मनोनयन निर्वाचन समितिले तोकेको मापदण्ड नपुगे पछि खारेज भएको समितिले जनाएको छ । शाखाको निर्वाचन पोष्टल तथा प्रत्यक्ष गर्ने तयारी गरिएको निर्वाचन समितिका संयोजक रमेश सराङकोटीले जनाएका छन् ।